NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

महेशबाबुलाई भारतको स्टार बन्नु छैन, भन्छन् : बलिउडले मलाई पारिश्रमिक दिनै सक्दैन

एजेन्सी । हिन्दी फिल्म उद्योग र साउथ फिल्म उद्योगमा भाषाको विवाद त थियो नै । अब अर्को विवाद पनि थपिएको छ । हालै दक्षिण भारतीय सुपरस्टार महेशबाबुले दिएको बयानले बलिउडमा ठूलै विवाद निम्तिने देखिन्छ ।

एक ट्रेलर लन्च कार्यक्रममा उपस्थिति जनाउन पुगेका महेशबाबुले बलिउडले आफूलाई ‘अफोर्ड’ गर्न नसक्ने जनाउँदै जसकारण त्यहाँ काम गरेर आफ्नो समय बर्बाद नगर्ने बताए ।

यतिबेला बलिउडका कलाकार साउथ फिल्ममा काम गर्ने र साउथ फिल्म पनि हिन्दीमा उल्था हुँदै रिलिज गर्ने लहर चलेको छ । जसको पछिल्लो उदाहरण हुन् फिल्म आरआरआर र केजिएफ २ । यी दुई फिल्मले बक्स अफिसमा खुब धुम मच्चाए ।

यही मेसोमा उक्त कार्यक्रममा महेशबाबुलाई बलिउड प्रवेशबारे प्रश्न गरिएका थियो । जवाफमा उनले भने, ‘मलाई बलिउडमा काम गर्नका लागि प्रस्ताव नआएको होइन । तर, मलाई लाग्छ बलिउड मलाई अफोर्ड गर्न सक्दैन । त्यसकारण म हिन्दीमा काम गरेर समयको बर्बादी चाहन्नँ ।’

आफूले अहिलेसम्म पाएको मान–सम्मान दक्षिण भारतीय चलचित्र उद्योगकै देन भएकाले कुनै अर्को इन्डस्ट्रीमा काम गर्नेबारे सोच्न पनि नसक्ने उनले बताए । महेशबाबुका अनुसार उनलाई भारतको स्टार बन्नु छैन, बरु साउथ फिल्मलाई पूरै भारतमा सफल बनाउनु छ ।

‘म तेलेगु फिल्ममा काम गर्न चाहन्थें र पूरै भारतका जनताले तेलेगु फिल्म हेरुन् भन्ने चाहन्थें,’ उनले भने, ‘अहिले ठीक यस्तै भइरहेको छ । जसकाण म धेरै खुशी छु ।’

भारतीय मिडियाका अनुसार महेशबाबुले एक फिल्ममा काम गरेवापत ५५ करोड भारतीय रुपैयाँसम्म लिन्छन् । त्यस्तै, कुनै विज्ञापनमा काम गरेवापत पनि उनले एक करोडभन्दा बढी पारिश्रामिक लिने गरेको बताइन्छ ।