NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

ग्रामीण यातायात सुदृढीकरणको नाममा सप्तरीमा लाखौं भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्र्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजुकुमार गोइतसहित ६ जनामाथि मुद्दा दायर गरेको छ । आयोगले गोइतसँगै लेखापाल र निर्माण व्यवसायीसमेत ६ जनामाथि मुद्दा दायर गरेको हो ।

उनीहरूले ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमको नाममा गर्दै नगरेको काममासमेत बढी परिमाणको काम गरेको गलत विवरण पेश गरी ६६ लाख ६४ हजार ६ सय ९२ रूपैयाँ भुक्तानी दिने र लिने काम गरेको पाइएको छ । अनुसन्धानको क्रममा उनीहरूले माँ जानकी निर्माण सेवा, अन्नपूर्ण कन्स्ट्रक्सन र एभरेष्ट निर्माण सेवासँगको मिलेमतोमा गैर कानुनी लाभ लिएको पाइएको आयोगले जनाएको छ ।

उक्त कार्यक्रम अन्तर्गत नियमित सडक मर्मतसंहार र रुख विरुवा रोप्ने कार्य अन्तर्गत काम गर्दा प्रक्रिया नपुर्याइ भुक्तानी गरेको भन्दै उजुरी परेको थियो । सोही उजुरीमाथि अनुसन्धान हुँदा उनीहरूले वास्तविकता लुकाएर भुक्तानी असुलेको पाइएको हो ।

आयोगले इन्जिनियरद्वय गोइत र पाठकलाई ६६ लाख ६४ हजार ६ सय ९२ रूपैयाँ बिगो माग दाबी गरेको छ । त्यस्तै तत्कालीन लेखापाल छत्र बहादुर श्रेष्ठलाई दुई लाख ५४ हजार ४ सय १० रूपैयाँ बिगो माग दाबी गरिएको छ भने निर्माण व्यवसायी तथा प्रोप्राइटर भुपेन्द्र यादवमाथि २१ लाख दुई सय ४० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

आयोगले अर्का प्रोप्राइटर विजयकुमार यादवमाथि २६ लाख ५४ हजार दुई सय १४ रूपैयाँ बिगो माग दाबी गरिएको छ भने प्रोप्राइटर ममता देवी यादवबाट १९ लाख १० हजार दुई सय ३६ रूपैयाँ बिगो दाबी भएको छ ।