NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

आयोगले मविरुद्ध पूर्वाग्रही निर्णय गर्‍यो, वास्तविकता ओकलेँ भनें आगो बल्छ : अयोधी यादव (अन्तर्वार्ता)

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादवको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनलाई स्थानीय तह निर्वाचनमा पर्यवेक्षक बनाउन अस्वीकार गरेपछि आक्रोसित भएका छन् ।

०७४ को स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन गराएका यादवमाथि आफ्नै उत्तराधिकारीले परिवेक्षकसमेत पत्याएनन् । उनीमाथि माओवादी केन्द्रको निर्वाचन विभागमा बसेर राजनीतिक गतिविधि गरेको आरोप लाग्दै आएको छ । मंसिरको तेस्रो साता माओवादीले सार्वजनिक गरेको सूचनामा उनको नाम मुछिएपछि यादव आलोचित भएका थिए ।

यसै विषयमा नेपालवाचकर्मी गणेश पाण्डेले यादवसँग आयोगको निर्णय र आगामी भूमिकाबारे गरेको कुराकानी :

अवकासपछि स्वविवेक रूपमा राजनीति गर्न सबैलाई अधिकार छ । अवकासप्राप्त सरकारका सचिव, पूर्वप्रशासक, संवैधानिक निकायका पदाधिकारीहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध छन् ।

तपाईंलाई निर्वाचन पर्यवेक्षक बनाउन निर्वाचन आयोगले अस्वीकार गरेको छ किन होला ?

कसलाई पर्वेक्षक बनाउने वा नबनाउने भन्ने विषय निर्वाचन आयोगको विशेषाधिकार हो । यसमा मलाई अस्वीकार गर्नुको कारण थाहा भएन । म कुनै पार्टीमा लागेको मान्छे पनि होइन । कुनै गैरसरकारी संस्थामा आवद्ध मानिस पनि होइन । मलाई कुनै पार्टीको सल्लाहकार समिति वा आयोगमा राखिएको पनि छैन । यस्तो निर्णय गर्नुअघि आयोगका पदाधिकारीले मसँग परामर्श गर्नुपर्ने थियो । कुनै जानकारीबिना अस्वीकार गर्दा मलाई आश्चार्य लागेको छ ।

आयोगका पदाधिकारीले तपाईंसँग कुनै परामर्श गरेका थिएनन् र ?

अहँ, कुनै परामर्श भएन । निर्णय गर्नुअघि कम्तिमा पनि मसँग आयोगले सोध्नुपथ्र्यो । म टाढाको मान्छे पनि होइन । निर्वाचन सफल बनाउन मैंले आफ्नोतर्फबाट सहयोग गरिराखेको मान्छे हुँ । विभिन्न मिडियामा अन्तर्वार्ता दिएर निर्वाचनको वातावरण बनाइराखेको थिएँ । निर्वाचन आयोगका पदाधिकारी कस्ता छन्, मलाई थाहा छ । मैले बोलें भने आगो लाग्छ ।

तपाईंमाथि यस्तो निर्णय गर्नुको पछाडिको भित्री उद्देश्य के हुन सक्छ ?

यो उसको विशेषाधिकारको कुरा हो । यसका पछाडि के उद्देश्य छ आयोगलाई नै थाहा होला ? अब म आरामले घर बस्छु । कुन ठूलो कुरा हो र ? उनीहरूले जबर्जस्ती धकेलेर पार्टीमा जाउ भनिराखेका छन् ।

माओवादी केन्द्रको निर्वाचन विभागमा रहेको तपाईंमाथि आरोप छ नि ?

कुन पार्टीले केमा नाम राख्छ मैले जान्ने विषय होइन । विभागमा नाम राख्ने विषयमा माओवादीले मसँग कुनै सल्लाह गरेको छैन । उसले किन नाम राख्यो मलाई थाहा छैन ।

तपार्ईं एउटा पूर्वनिर्वाचन प्रमुख आयुक्त पनि हुनुहुन्छ । सेवानिवृत्त भएपछि पनि तटस्थ हुने व्यक्ति यस घटनाले तपाईंको चरित्रमाथि

राजनीतिक दाग लाग्ने भयो नि होइन ?

कुनै दलमा जाने वा नजानेबारे अलग कुरा हो । म त नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी पनि हुँ । आयोगका साथीहरूले नै मलाई पर्यवेक्षकमा जानपर्छ भनेका हुन् । उनीहरूकै आग्रहमा मैले हुन्छ भनेको हुँ । तर अहिले अस्वीकार भयो भन्ने कुरा आयो । निर्णय गर्नुअघि मलाई फोन गरेर सोध्नुपथ्र्यो । म कुनै दलमा छु भन्ने आयोगसँग के प्रमाण छ ? यस्तो पनि हुन्छ ? आग्रह वा पूर्वाग्रह राखेर निर्णय गर्ने होइन नि ?

पूर्वप्रधानन्यायाधीश, पूर्वप्रशासक, पूर्वसंवैधानिक आयोगका पदाधिकारीहरू तटस्थ बस्नुपर्ने होइन र ?

म त सेवानिवृत्त भएर घरमा बसिरहेको छु । कुनै पार्टीमा गएकै छैन । यसो भन्दैमा कुनै पार्टीमा जानै हुँदैन भन्ने पनि छैन । कुनै पार्टीले मेरो नाम राखिदियो भन्दैमा चरित्रमा दाग लाग्छ र ? यो कुनै दाग लाग्ने विषय होइन । मेरो करियरमा कुनै दाग लागेको छैन ।

सेवानिवृत्तपछि पूर्वसरकारी कर्मचारीलाई कुनै राजनीतिक गतिविधि गर्ने अधिकार छ कि छैन ?

अवकासपछि स्वविवेक रूपमा राजनीति गर्न सबैलाई अधिकार छ । अवकासप्राप्त सरकारका सचिवहरू, पूर्वप्रशासक, संवैधानिक निकायका पदाधिकारीहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध छन् । विभिन्न आयोगबाट रिटायर भएका कर्मचारी पनि गएका छन् । म मात्रै हो र ? ममाथि धेरै अन्याय भएको छ । क–कसले के–के गरेका छन् ? कुन पार्टीमा गएर के गतिविधि गरेका छन्, मैले देखेको छैन र ?

अब के गर्नु हुन्छ ? घरमै बसेर निर्वाचन हेर्नुहुन्छ ?

के गर्ने त ? कहाँ जाने त ? निर्वाचन राम्रो होस् मैले यही बोलिराखेको छु । अनुगमन गर्ने मेरो अधिकारै छैन । बोल्ने कुरै भएन । मलाई तपाईंले सोध्नुभयो भने निर्वाचनमा के–के भइराखेको छ, त्यो भन्छु । यस्ता घटना धेरै भएका छन् । मेरो चरित्रमा कुनै दाग लागेको छैन । मलाई सबैले हेलाँ गर्ने काम गरेका छन् । सरकारका कर्मचारी र मिडियाहरूले पनि ममाथि अन्याय गरेका छन् । दाग लगाएकै छन् । के फरक पर्छ र ?

यसको मतलब तपाईंमाथि ठूलो अन्याय भयो भन्ने हो ?

अन्याय त भएको होनि त । मलाई सोध्नुपथ्र्यो नि । म जस्तो निष्पक्ष र स्वतन्त्र मान्छेलाई नसोधी उहाँहरूले ममाथि यत्रो निर्णय गर्नुभयो ।

तपाईंमाथि मात्रै अन्याय भएको हो कि ?

को–को माथि के–के गरे मलाई केही थाहा छैन । मैले त तपाईंहरूमार्फत् थाहा पाएको हुँ । मेरोबारेमा मिडियामा आएको समाचार देखेर हाँसो उठ्यो । म कुनै राजनीतिक विभागमा छैन । मेरो असहमतिबिना कसैले कुनै ठाउँमा नाम राखिदियो भने त्यो मेरो सरोकारको विषय होइन । आग्रह वा पूर्वाग्रहमा निर्णय गर्छन् मेरो भन्नु केही छैन । जे हुन्छ ठिकै हुन्छ ।