NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

वाग्मतीमा मतमा बलिया लोप्चन र जन-जनमा प्रभावशाली देखिएका संजेलबीच होला रोचक प्रतिस्पर्धा ?

काठमाडौं । स्थानीय तहको चुनावमा यसपटक एमालेविरुद्ध सत्ता गठबन्धनमाआवद्ध कांग्रेस, माओवादी, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा चुनावमा उत्रिंदैछन् । यसैले एमालेलाई चुनौती दिने र जित्ने उम्मेदवारको खोजी आवश्यकता बनेको छ । यसैले एमालेले युवा, अन्य दलबाट आएका र यस अघि माधव नेपाल पक्षमा रहेका प्रभावशाली नेतालाई उम्मेदवारमा अवसर दिएको छ । पार्टी विभाजनको पीडा र अर्कोतिर गठबन्धन बनेपछि एमाले युवा र लोकप्रिय अनुहारलाई उठाउन बाध्य भएको हो ।

यसैबीच एमालेले ललितपुरको वाग्मती गाउँपालिकाको मेयरको उम्मेदवारमा नवराज संजेललाई उठाएको छ । पार्टीको पालिका कमिटीबाट संजेलको मात्रै नाम सिफारिस भएपछि उनी उम्मेदवार बनेका थिए ।

संजेलले २०७४ सालमा वाग्मती गाउँपालिका ७ गिम्दीबाट वडा अध्यक्ष जितेका थिए । संजेलले ५२६ मत ल्याएर वडा अध्यक्ष जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बद्रिप्रसाद ढोडारीले ३७५, माओवादीका कृष्णप्रसाद बलले ३२३ मत ल्याएका थिए ।

२०७४ सालमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो । कांग्रेसबाट वीरबहादुर लोप्चन ३३८८ मत ल्याएर विजयी भएका थिए । निकतम प्रतिद्वन्द्वी एमालेका दुर्गाप्रसाद घिमिरेले २२५२ मत ल्याएका थिए । एमालेसँग कांग्रेसको जितको मताअन्तर ११ सयभन्दा बढी थियो ।

तेस्रो स्थानमा आएका माओवादीका उम्मेदवार राजु आलेमगरले १६४२ मत ल्याएका थिए । कांग्रेस र माओवादी एक ठाउँमा उभिए ५ हजार ३० मत हुने देखिन्छ । कांग्रेस र माओवादी मिलेर उठेकोले एमाले २७७८ मतले पछि पर्ने स्थिति देखिन्छ ।

कांग्रेसबाट अध्यक्षमा वीरबहादुर लोप्चन नै उठेका छन् । उपाध्यक्ष माओवादीलाई दिइएको छ । यसैले मतमा एमाले उम्मेदवार २७७८ मतले पछाडि देखिन्छन् । यस्तोमा एमालेलाई पालिकामा जित्न निक्कै मेहनत गर्नुपर्ने देखिएको छ ।

एमालेलाई प्रभावशाली उम्मेदवारको फाइदा

एमालेबाट उम्मेदवारमा सिफारिस भएका संजेल यस अघिका जनप्रतिनिधि हुन् । गिम्दीका स्थानीय संजेल शिक्षा व्यवसायीसमेत हुन् । विद्यालय संचालक रहेका युवा संजेल दक्षिण ललितपुरमा लोकप्रिय मानिन्छन् । संजेललाई विपक्षीलेसमेत रुचाउने बताइन्छ ।

शिक्षा व्यवसायीसमेत रहेका युवा नेता संजेलले दक्षिण ललितपुरलाई कृषि र पशुपालनबाट पालिकालाई समृद्ध बनाउन सकिने मुद्दा अगाडि सारेका छन् । युवालाई रोजगारी, महिलालाई उद्यमशील बनाउने, फजुल खर्चमा नियन्त्रण गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सेवामा पहुँच जस्ता विषयलाई मुख्य एजेण्डाका रुपमा अघि सारेका छन् ।

पुनः अध्यक्षमा उम्मेदवार बनेका लोप्चनले यस अघि गर्न नसकेका विकास र निर्माणका प्रतिवद्धता पूरा गर्ने एजेण्डा अगाडि सारेका छन् । तर पालिकाका सबै वडामा समान हिसाबले विकासको लागि काम नगरेकोमा आलोचित छन् । तर पनि वडाका टोलटोलमा बाटोघाटो पुर्याएको अस्पताल निर्माण गरेर सेवा आरम्भ गरेकोलाई उपलब्धी मानेका छन् ।

कांग्रेसलाई युवा उत्साही उम्मेदवारको डर

एमालेबाट प्रभावशाली संजेल उम्मेदवार बन्दै गर्दा कांग्रेसबाट कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लाग्नै समय लाग्यो । तर पनि ढिलो गरी लोप्चन अध्यक्षको उम्मेदवार बनाइएका हुन् । सत्ता गठबन्धनको तालमेल भएपछि कांग्रेसलाई बलियो सहज हुने पनि देखिन्छ । किनकी माओवादीको समेत प्रभाव रहेको पालिकामा गठबन्धनको संगठित मत धेरै छ । अर्कोतिर एमालेबाट प्रभावशाली उम्मेदवार खडा भएका छन् । युवा नेता, जनसम्पर्कमा निक्कै अब्बल मानिएका नेता भएकोले यसपटक मतले पछि परे पनि लोप्चनलाई कडा टक्कर दिन सक्ने बताइन्छ । लोप्चन मतमा बलियो देखिए पनि संजेललाई अलग दलका मतदाताले यसपटक रुचाएको हिसाब कांग्रेसभित्रै निकालिएको स्रोतको दाबी छ । यसले पनि मतमा बलियो भएर पनि सत्ता गठबन्धन ढुक्क नभएको बताइन्छ ।

यस अघि पनि कांग्रेसले उपाध्यक्षमा एमालेबाट आएकी रञ्जना घिमिरेलाई उठाएर जिताएको थियो । यसपटक घिमिरेलाई कांग्रेसले टिकट दिएन । उनी अध्यक्षको दाबेदार थिइन् । तर टिकट नपाउँदा असन्तुष्ट बनेको बताइन्छ । उनको असन्तुष्टि कायम भएर पूर्व एमाले खेमाको मतमासमेत उनको केही प्रभाव रहेको बताइन्छ । यस्तो मतलाई एमालेका संजेलले तान्न सके लोप्चनलाई गाह्रो पर्न सक्ने पनि बताइन्छ । तर घिमिरेले कांग्रेसको अन्य असन्तुष्ट नेताको जस्तो असन्तुष्टि व्यक्त गरेकी छैनन् । यद्यपी १४ औं महाविधेशनका क्रममा देउवा पक्षको थिचोमिचोको हिसाब उठाउने चेतावनी पनि यहीबेला नेताहरुले खेप्नुपरेको छ ।

कांग्रेसमा विष्णु तिमल्सिना, रविन्श शर्मा पनि अध्यक्षकालागि दाबेदार थिए । तर टिकट फेरि पनि लोप्चनले हत्याए । यसमा असन्तुष्टि जनाउँदा तिमल्सिनाले स्वतन्त्र उम्मेदवारी दिएर पनि फिर्ता गरेका थिए । रविन्स पनि लोप्चनलाई टिकट दिइएकोमा भित्रीरुपमा सन्तुष्ट नभएको बताइन्छ । तर वाग्मती कांग्रेसको तनाव पछिसम्म पनि साम्य हुन सकेको थिएन । नेता विशेषको चासो र चिन्तालाई व्यवस्थापन गर्न नसक्दा कांग्रेसलाई घाटा हुन सक्ने पनि चर्चा छ । यसैले यसको फाइदा लोकप्रिय र प्रभावशाली देखिएका एमाले उम्मेदवार संजेलले उठाउन सक्ने चर्चा वाग्मतिमा छ ।