NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मर्लिन मुनरोको चित्र शताब्दिकै महंगो मूल्यमा बिक्री

काठमाडौं । प्रतिष्ठित अमेरिकी अभिनेत्री मर्लिन मुनरोको पेन्टिङ १९५ मिलियन डलरमा बिक्री भएको छ । यो चित्र न्यूयोर्कको लिलामीमा अहिलेसम्मकै उत्कृष्ट मूल्यमा बिक्री भएको हो । पेन्टर एन्डी वारहोलले अभिनेत्रीको मृत्यु भएको दुई वर्षपछि सन् १९६४ मा यो चित्र बनाएका थिए । लिलामीबाट प्राप्त रकम अनाथहरूलाई सहयोग गर्न प्रयोग गरिनेछ ।

मर्लिन मुनरोको चित्रको नाम ‘शट सेज ब्लू मर्लिन’ हो । यो कलाकृति म्यानहट्टनस्थित क्रिस्टीको मुख्यालयमा राखिएको चार मिनेटमै १९५ मिलियन डलरमा बिकेको हो । योसँगै यो २० औं शताब्दीको सबैभन्दा महँगो कलाकृति बनेको छ । तर, तस्बिर किन्ने व्यक्तिको परिचय खुल्न सकेको छैन ।

लिलामीकर्ताले सोमबार राति यो कलाकृति अज्ञात खरिदकर्ताले किनेको बताएका छन् । तस्बिरकाे बिक्रीबाट प्राप्त रकम थोमस एण्ड डोरिस अम्मान फाउन्डेसन जुरिचमा जानेछ । यस फाउन्डेसनको मुख्य उद्देश्य अनाथ बालबालिकालाई चित्रकलाको पैसाबाट सहयोग गर्नु हो ।

यसले अनाथ बालबालिकालाई स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्दछ । बिक्री हुनु अघि यो तस्बिरकाे मूल्य करिब २० करोड डलर हुने अनुमान गरिएको थियो । तर यो भन्दा अलि कममा बिक्री भए पनि यसले अघिल्लो रेकर्ड तोडेको छ ।

यसअघि पाब्लो पिकासोको ‘वुमन अफ अल्जियर्स’ नामको चित्र सन् २०१५ मा १७९ मिलियन डलरमा बिक्री भएको थियो ।

मर्लिन मुनरोको जन्म सन् १९२६ मा लस एन्जलसमा भएको थियो । मर्लिन एक अमेरिकी अभिनेत्री र मोडेल थिइन् । मर्लिन मुनरोको नाम अमेरिकी राष्ट्रपति जोन केनेडीदेखि गायक फ्रान्क सिनात्रा र बेसबल खेलाडी जो डिम्यागियोसँग जोडिएको छ। उनको ३६ वर्षको उमेरमा सन् १९६२ मा ड्रग ओभरडोजको कारण मृत्यु भयो । कतिपयले यसलाई हत्या पनि भनेका छन् तर आजसम्म मर्लिनको मृत्यु रहस्य मात्रै बनेको छ ।

मर्लिन मुनरोको मृत्यु अझै रहस्यमय : राष्ट्रपतिका भाइसँग झगडा भएको खुलासा