NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चैत मसान्तसम्ममा सरकारको कुल खर्च  ७९४ अर्ब २६ करोड

काठमाडाैं ।  नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७८/७९ को चैत मसान्तसम्ममा संघीय सरकारको कुल ७९४ अर्ब २६ करोड खर्च भएको छ । यस अवधिमा चालु खर्चतर्फ ६२५ अर्ब ५० करोड, पुँजीगत खर्चतर्फ १०३ अर्ब ७९ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ६४ अर्ब ९७ करोड रहेको छ ।

समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व ७८९ अर्ब २६ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा वाँडफाँड हुने रकम समेत) परिचालन भएको छ । यसमध्ये कर राजस्वतर्फ ७२७ अर्ब ७९ करोड र गैर कर राजस्वतर्फ ६१ अर्ब ४७ करोड परिचालन भएको छ ।

समीक्षा अवधिमा संघीय सरकारले ट्रेजरी विलमार्फत ५० अर्ब, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड र नागरिक बचतपत्रमार्फत ९७ करोड परिचालन गरी जम्मा १०५ अर्ब ४७ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

नगद मौज्दात

चालु आवको चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३३३ अर्ब ८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात २०० अर्ब १८ करोड रहेको थियो ।

प्रदेश सरकार

समीक्षा अवधिमा प्रदेश सरकारको स्रोत प्राप्ति १२५ अर्ब ५३ करोड रूपैयाँ रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ९० अर्ब ४ करोड छ र प्रदेश सरकारहरुले परिचालन गरेको राजस्व र अन्य स्रोतबाट ३५ अर्ब ४८ करोड रहेको छ । यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च ८० अर्ब ६२ करोड रहेको छ ।