NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पहिलोपटक कोरोना संक्रमण पुष्टि भएपछि उत्तर कोरियामा लकडाउन

प्योङयाङ । उत्तर कोरियामा पहिलोपटक कोरोना संक्रमणको आधिकारिक पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएसँगै देशभर कडा लकडाउन घोषणा गरिएको छ । देशको सरकारी मिडियाका अनुसार राजधानी प्योङयाङमा कोरोनाको ओमिक्रोन भेरियन्टको केस फेला परेको छ । तर कति जना संक्रमित भएका छन् भन्ने जानकारी दिइएको छैन ।

केसिएनएका अनुसार उत्तर कोरियाका लागि यो सबैभन्दा ठूलो संकटकाल हो । त्यहाँ लागू क्वारेन्टिन नियमहरु अपर्याप्त भएको पनि बताइएको छ । नेता किम जोङ उनले कोरोना संक्रमण नियन्त्रण गर्नेबारे सरकारी अधिकारीहरुसँग आकस्मिक बैठक बस्दैछन् ।

उत्तर कोरियाबाट पहिलोपटक कोरोना संक्रमणको खबर आएपनि पहिलेदेखि नै त्यहाँ संक्रमण फैलिएको हुनसक्ने विज्ञहरुको विश्वास छ । देशमा संक्रमण लामो समयदेखि रहेको हुनुपर्ने मानिएको छ ।

उत्तर कोरियाले आफ्नो देशमा कोभिड–भ्याक्सिन कार्यक्रम सञ्चालन गरेको छैन । चीनले बनाएको सिनोभ्याक र रुसले बनाएको एस्ट्राजेनेका भ्याक्सिनको प्रस्तावलाई पनि उत्तर कोरियाले अस्वीकार गरेको छ ।

उत्तर कोरियाले कोरोना महामारीबाट टाढा रहन महामारीको प्रारम्भिक चरणदेखि नै सीमा बन्द गरेको थियो । नाका बन्द भएका कारण खाद्यान्न आपूर्ति ठप्प हुँदा मुलुकले गम्भीर आर्थिक अवस्था झेल्नुपरेको थियो ।