NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

लकडाउनले ६६ दिनसम्म घरमा एक्लै भएका बालक बने सेफ

बेइजिङ । चीनमा एक १३ वर्षीय बालकको जीवनमा अमेरिकी फिल्म ‘होम अलोन’ को कथाजस्तै घटना घटेको छ । ती बालक ६६ दिनदेखि आमाबाबु विना घरमा एक्लै बस्दै आएका थिए ।

चीनको कुनसाङमा कोरोना भाइरसको लकडाउनका कारण उनी बाध्यताले एक्लै घरमा बस्नु परेको थियो । उनका बुबाआमा अर्को सहरमा फसेका थिए ।

लामो समय घरमा कोही नहुनु र लकडाउनका लागि फुड डेलिभरी पनि नहुँदा ती बालकले फोनमार्फत् आफैं खाना पकाउन सिके ।

चिनियाँ पत्रिका साउथ चाइना मर्निङ पोस्टका अनुसार बच्चाका आमाबुवा उपचारका लागि फेब्रुअरी २८ मा सांघाई गएका थिए । तर त्यही बीचमा त्यहाँ अचानक लकडाउन घोषणा गरिएपछि उनीहरु सांघाईमा बस्नु पर्यो । उनीहरुले अप्रिलसम्म छोरालाई भेट्न पाएनन् ।

उनकी आमाले सुरुमा छोराको सुरक्षालाई लिएर निकै चिन्तित भएको बताइन् । तर विस्तारै छोराले आमालाई आफू सकुशल रहेको आश्वासन दियो । मार्चमा, उनले खाना वितरण गर्ने एपको सहयोगमा बच्चालाई घरमा खाना पठाइरहेका थिए तर पछि कोरोना संक्रमित बढ्दै गएपछि कुनसाङ सहरमा लकडाउन भयो ।

लकडाउनले खाना पुर्याउन बन्द भएपछि ती बालकले केही दिनसम्म चिप्स, बिस्कुट आदि प्याक गरिएको खाना खाइरहे । अन्तमा उनले नै आमालाई फोन गरेर फोनमा नै खाना पकाउन सिकाइदिन भने । आमाले फोनमा खान पकाउन सिकाएपछि उनले पकाउन थाले ।

अप्ठेरोमा हार नमानेको र आफूसँगै घरपालुवा जनावरको हेरचाह गरेकोमा आफ्नो छोराप्रति निकै गर्व लागेको बालककी आमा बताउँछिन् । तर अप्रिलमा करिब दुई महिनापछि घर पुग्दा उनीहरुले छोरालाई चिन्न सकेनन् । छोरासँगै घरपालुवा कुकुर र बिरालोको तौल बढेको थियो । घर पुरै फोहोर थियो ।

अङ्ग्रेजी फिल्म ‘होम अलोन’ मा मुख्य भूमिका निर्वाह गर्ने बालकले पनि आफ्नो ख्याल राखेको देखाइएको छ । फिल्म बालकले चोरबाट बचाउँछ, बजारबाट खाना ल्याउँछ । त्यसैगरी यो बच्चाको कथा बाहिर आएपछि चिनियाँ पत्रपत्रिकाहरुले यस बच्चाको कथालाई फिल्मको चरित्रसँग जोडेका छन् ।