NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

तिब्बतीहरू किन गिद्धलाई खुवाउँछन् शव ?

काठमाडौं । संस्कृति आम मानिसको जीवन पद्धति हो । संसारभरका जातीय समूहहरूलाई एकअर्काबाट अलग गर्ने मापदण्ड पनि हाे । एउटा समुदायकाे संस्कृति अर्काे समुदायमा सामान्य नलाग्न सक्छ । यस्तैमा उत्तरी क्षेत्रका बासिन्दाहरूकाे पनि यस्तै अनाैठाे किसिमकाे चलन छ ।

तिब्बतीहरूले आफ्ना मृतककाे अन्त्येष्टि गर्ने तरिका यसको उदाहरण हो । तिब्बतीहरू प्रायः चीनमा हुन्छन्, यीमध्ये केही भारत र नेपालमा पनि साना समूहमा छन् । केही हजारकाे संख्यामा रहेका यी मानिसहरू अझै पनि आफ्नो संस्कृतिको ख्याल र सम्मान गर्छन् ।

त्यहाँ मानिसको अन्त्येष्टि गर्ने तरिका अन्य समुदायकाे भन्दा भिन्न छ । तिब्बतीहरुले मरेपछि मानिसको शव गिद्धलाई खुवाउँछन् । उनीहरु आफ्ना प्रियजनलाई स्वर्ग पठाउने यो नै उत्तर तरिका भएको विश्वास गर्छन् । उनीहरुको अन्त्येष्टि बेइजिङ समयअनुसार प्रायः बिहान ८ बजेदेखि ११ बजेसम्म गरिन्छ । यस चलनलाई झटोर भनिन्छ । झटोरकाे अर्थ चरालाई भिक्षा दिने भन्ने हुन्छ ।

व्यक्तिको मृत्यु पुष्टि भएपछि झटोर भिक्षुहरूलाई बोलाइन्छ । त्यसपछि भिक्षुहरूले अनुष्ठान गर्छन् र मृतकको टाउकोको कपाल हटाएर शरीरका अन्य केही भागसहित जलाइन्छ । यसपछि बाँकी शरीर गिद्धलाई खुवाउन पहाडलको टुप्पामा लैजान्छन् । अन्त्येष्टिका लागि उनीहरूले खुला ठाउँ छुट्याएका हुन्छन् ।

खोपडी र मेरुदण्डका ठूला हड्डीलाई टुक्रा पारेर साना बनाएर गिद्धलाई खान दिइन्छ । झन्डै एक घण्टाको अवधिमा गिद्धले शरीर खाइसकेको हुन्छ । गिद्धले शवका अवशेष छोडे भने यसलाई अशुभ मानिन्छ । उनीहरुले ती शव खाएनन भने त्यो मृत व्यक्ति पापी भएको मानिन्छ । अन्त्येष्टिका क्रममा मृतकका परिवारका सदस्यलाई सहभागी हुन दिइँदैन । उनीहरुले घरमै बसेर प्रार्थना गर्नुपर्छ ।

अन्त्येष्टिका लागि गिद्धको उपस्थिति विशेष मानिन्छ । सन् २००३ मा एउटा गुम्बामा गिद्धको संख्या २३०, सन् २००९ मा २५० र सन् २०१२ मा २०० थियो । यस संस्कृतिमा घातक संक्रमणबाट मृत्यु भएका मानिसहरु गिद्धलाई खान दिने चलन छैन । संक्रमित व्यक्तिलाई कि जलाइन्छ कि जमिनमा गाडिन्छ ।

यस्तै, भारतमा रहेका अघोरीहरुले पनि मृत्युपछि शव गाड्ने वा जलाउने गर्दैनन् । उनीहरु मानिसको आत्मा पवित्र हुने तर जीवनभर लोभ, घृणा आदिले कलंकित हुने भएकाले शुद्धता प्राप्त गर्नका लागि लाससँग शारीरिक सम्बन्ध राखेपछि त्यही लासको मासु आफैं खाने गर्छन् ।