NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

फिनल्यान्ड नेटोको सदस्य भए परिणाम राम्रो नहुने पुटिनको धम्की

मस्को । फिनल्यान्डका नेताहरु नेटोको सदस्य हुन सहमत भएका छन् । बिहीबार, फिनल्यान्डका राष्ट्रपति र प्रधानमन्त्री नेटोमा सामेल हुन आवेदन दिने पक्षमा भए पछि रुसले चेतावनी दिएको छ ।

फिनल्यान्डपछि स्वीडेनले पनि आगामी दिनमा नेटोको सदस्य हुन आवेदन दिन सक्छ । युक्रेनमा रुसले आक्रमण गरेको साढे दुई महिनाभन्दा बढी भइसकेको छ र त्यसको प्रभाव छिमेकी मुलुकमा ‘डर’का रूपमा देखिएको छ । तर, यस विषयमा रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले कडा आपत्ति जनाएको छ ।

रुसबाट चेतावनी दिँदै जवाफी कारबाही गर्न बाध्य पारिएको बताइएको छ । रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा फिनल्यान्डको यो कदमले द्विपक्षीय सम्बन्धलाई निश्चित रूपमा हानि पुर्याउने र उत्तरी युरोपको सुरक्षा र स्थिरताको अवस्था पनि प्रभावित हुने भनिएको छ ।

यसैबीच युक्रेनमा सुरु भएको युद्धमा रुसी सेनाले मरिउपोलसहित देशको पूर्वी भागमा व्यापक आक्रमण गरिरहेको छ । तर, यस अवधिमा युक्रेनले देशको उत्तर-पूर्वी भागका केही गाउँ र सहर फिर्ता लिएको छ ।

बिहीबार, फिनल्यान्डका राष्ट्रपति साउली निनिस्टो र प्रधानमन्त्री सान्ना मारिनले देशले तत्काल नेटो सदस्यताको लागि आवेदन दिनुपर्ने बताए । यसका लागि ढिलाइ गर्न नहुने पनि बताए । संसदले यो निर्णयबारे विचार गर्न बाँकी रहे पनि राष्ट्रपति र प्रधानमन्त्रीको घोषणालाई महत्वपूर्ण मानिएको छ ।

फिनल्यान्ड र रुसबीच १३०० किलोमिटर सीमा जोडिएको छ । अहिलेसम्म फिनल्यान्डले नेटोसँग दूरी कायम राखेको भए पनि युक्रेन युद्धपछि यो ऐतिहासिक कदमतर्फ अघि बढिरहेको छ ।