NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

स्थानीय तह निर्वाचन : मधेश र वाग्मतीमा तनावै तनाव, तीन प्रदेश तुलनात्मक शान्त

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य जारी छ । देशका अधिकांश स्थानमा शान्तिपूर्वक मतदान भइरहे पनि केही स्थानमा विवादका कारण झडपको स्थिति सिर्जना भएको छ । यही कारण कतिपय स्थानमा मतदान कार्य नै प्रभावित भएका छन् ।

शुक्रबार दिउँसो यो सामग्री तयार पार्दासम्म प्रदेशगत रूपमा मधेस र वाग्मती प्रदेश सबैभन्दा अशान्त देखिएका छन् । मधेसका ८ जिल्लामध्ये ५ जिल्लाका मतदान केन्द्रमा अहिलेसम्म झडपका घटना भएका छन् । झडप र विवादपछि यी प्रदेशका कतिपय स्थानीय तहको मतदान कार्य प्रभावित छन् ।

वाग्मती प्रदेशका पनि विभिन्न स्थानमा  झडप भएको विवरण प्राप्त भएको छ । यो प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा यस्ता घटना धेरै छन् ।

मधेस र वाग्मती प्रदेशका लोकतन्त्रको मैदानले रणभूमि सम्झाइरहँदा प्रदेश १ र लुम्बिनी प्रदेश तुलनात्मक शान्त देखिए । तथापि, यी प्रदेशमा झडपका घटना शून्य अवस्थामा रहेका भने होइनन् । पछिल्लो प्राप्त विवरण अनुसार, प्रदेश १ र लुम्बिनीका १/१ स्थानीय तहमा विवादले तनाव उत्पन्न भएको छ ।

मधेस र वाग्मती प्रदेशमा तनाव नै तनाव

मधेस र वाग्मती प्रदेशमा निर्वाचनका दिन अलोकतान्त्रिक गतिविधि बढी देखिएका छन् । केही स्थानको विवाद साम्य भएको छ भने केहीमा झडपमा परिणत भएको छ ।

दुई पक्षबीच विवाद हुँदा बाराको देवताल गाउँपालिका वडा नं. ७ को मतदानस्थल रणमैदानमा परिणत भयो ।  सो क्रममा एकजना घाइते भएका छन् ।

अवस्था तनावग्रस्त भएपछि त्यहाँ प्रहरीले अश्रुग्यास नै प्रहार गरेको थियो । केहीबेर रोकिएको त्यहाँको मतदान अहिले सञ्चालन भएको बताइएको छ ।

प्रदेश २ कै महोत्तरीमा पनि झडप भएको छ । त्यहाँको बलवा नगरपालिका–५ स्थित महावीर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो ।

मतदाता नामावली विवरण रुजु गर्ने विषयले निम्तिएको गलफती बल्झिँदै जाँदा दुई पक्षबीच झडप भएको हो ।

यो क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर समेत गर्यो । परिस्थिति नियन्त्रणमा आएपछि त्यहाँ मतदान कार्य सञ्चालन भएको छ ।

धनुषाको शहीदनगर नगरपालिका–१, रौतहटको विजयपुर नगरपालिका–३ र सर्लाहीको धनकौल गाउँपालिकामा पनि तनाव भएको छ । अवस्था काबुबाहिर गएपछि शहीदनगर र विजयपुरमा प्रहरीले हवाई फायर नै गरेको थियो भने सर्लाहीमा बल प्रयोग गर्नु परेन ।

वाग्मती प्रदेशको दोलखा बिहानैदेखि अशान्त रह्यो । यहाँको वैतेश्वर गाउँपालिकाका वडा नं. १, २ र ३ मा दलहरूबीच झडप हुँदा प्रहरीले हवाईफायर र अश्रुग्यास नै प्रहार गर्नु परेको थियो । यहाँ कांग्रेस र एमाले दुवैले एकअर्कालाई बुथ कब्जाको प्रयास गरेको आरोप लगाएका छन् । यद्यपि, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा बुथ कब्जाको प्रयास नभएर दलबीच विवाद मात्र भएको बताउँछन् ।

वैतेश्वरमा कांग्रेस र एमाले एक्लाएक्लै र माओवादी–एकीकृत समाजवादी गठबन्धन बनाएर प्रतिस्पर्धामा छन् ।

दैलेखकै ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यमिक विद्यालयको केन्द्रमा एमाले र नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताबीच झडप भएको छ । इच्छाइएको व्यक्तिको नाममा मत हालिएको विषयलाई लिएर त्यहाँ विवाद भएको बताइएको छ ।

काभ्रेको चौंरीदेउराली गाउँपालिकाको मतदान केन्द्रमा परिवारका सदस्यको भोट हालिदिएको विषयले विवाद सिर्जना भएको थियो । तर यहाँ राजनीतिक दलको सुझबुझले झडपकै अवस्था भने बनेन । केहीबेर स्थगित यहाँको मतदान दलबीच सहमति बनेपछि अहिले सञ्चालन भइरहेको छ ।

रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ । सुनापति गाउँपालिका–१ र खाडाँदेवी गाउँपालिका–१ को मतदान केन्द्रमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो ।

त्यसैगरी, मन्थली नगरपालिकाको गेलु सिकराल मतदान केन्द्रमा विवाद हुँदा केहीबेर मतदान प्रभावित भएको थियो ।
सिन्धुपाल्चोकको मेलम्ची–४ मा पनि केहीबेर मतदान कार्य अवरुद्ध भयो । अशक्त र अपांगता भएका व्यक्तिको मतदानलाई लिएर त्यहाँ विवाद भएको हो ।

अशक्त र अपांगको मत आफन्तले नभएर दलका प्रतिनिधिले हाल्नुपर्ने मागले उत्पन्न विवाद चर्किएपछि सेनाले कदम उठाउनु परेको थियो ।

प्रदेश १ र गण्डकी शान्त

प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेश अन्यको तुलनामा अहिलेसम्म शान्तप्रायः छन् । यद्यपि, यी प्रदेशका मतदानस्थल पनि तनाव र विवादमुक्त भने छैनन् ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–९, मिश्र भञ्ज्याङमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच बिहानै झडपको अवस्था बन्यो । त्यसक्रममा प्रहरीले ९ राउण्ड हवाई फायर नै गर्नुपरेको थियो ।

विवादका कारण ९ बजेपछि रोकिएको मतदान दलबीच सहमति जुटेपछि बिहान १० बजेबाट शान्तिपूर्वक चलिरहेको छ ।

गण्डकी प्रदेशअन्तर्गतको गोरखाको गण्डकी गाउँपालिका–७, घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ । मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।

पोखरामा सत्तारुढ गठबन्धनले मतदातालाई चिट बाँडेको आरोप लगाएपछि विवाद निम्तिन खोजेको थियो । तर प्रहरीको सुझबुझले त्यसो हुन पाएन ।

लुम्बिनी प्रदेशअन्तर्गत रोल्पाको लुङ्ग्री–४ मा शुक्रबार बिहान केहीबेर मतदान प्रभावित भयो । दलका प्रतिनिधिहरूबीच सहमति जुटेपछि भने त्यहाँ मतदान पुनः सुरु भएको थियो ।

कर्णाली : मतदान अधिकृतसहित तीन घाइते 

कर्णाली प्रदेश पनि तुलनात्मक रूपमा शान्त देखिएको छ । तथापि केही स्थानमा विवाद हुँदा मतदान प्रभावित भएको छ ।

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र उम्मेदवारबीच झडप हुँदा तीन जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत, एक कार्यालय सहयोगी र एक स्थानीय महिला छिन् ।

ढुंगा लागेर घाइते कार्यालय सहयोगी काला रोकायलाई उपचारका लागि सुर्खेत लगिएको छ । उनलाई लिन त्यहाँ हेलिकप्टर नै पुर्याइएको थियो ।
परिस्थिति नियन्त्रणमा लिन त्यहाँ प्रहरीले ८ राउण्ड हवाई फायर नै गर्यो ।

उता, रुकुम (पूर्व)को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मा मतदान केन्द्रमा बिहान निकैबेर मतदान हुन सकेन ।

पेल्मामा २९ गते बिहीबार साँझ नेकपा माओवादीसँगको झडपमा घाइते कार्यकर्ताको उद्धार हेलिकोप्टरमार्फत गर्नुपर्ने मागमा कांग्रेस टसको मस नभएपछि मतदान प्रभावित भएको हो ।

सुदूरपश्चिमका ठाउँठाउँमा झडप

बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।

सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

सुदूरपश्चिममा पनि ठाउँठाउँमा झडप भएका छन् । बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रको विवादले उग्र रूप लिएपछि प्रहरीले हवाई फायर गरेर तितरवितर गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएको र स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जनाएको छ ।

बझाङको केदारसिंह गाउँपालिका–४ जग्गनाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छ । हवाई फायरपछि केहीबेर त्यहाँको मतदान कार्य रोकिएको थियो ।

यता, अछामको साफेबजार नगरपालिका–२ स्थित मतदान केन्द्रमा पनि झडप भएको छ ।

एमाले र कांग्रेसका कार्यकर्ताबीच त्यहाँ झडप भएको हो ।

आक्रोसित कार्यकर्ताले मतदानस्थलमा तोडफोडसमेत गरेका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष