NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मनाङमा मध्यह्नसम्म ६० प्रतिशत मत खस्यो

मनाङ । स्थानीय तह निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा मनाङमा ६० प्रतिशत मत खसेको छ ।

जिल्लाका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले सबै मतदान केन्द्रबाट तथ्यांक लिने काम भइरहेको जानकारी दिए।

जिल्लाका २८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले बताए । सदरमुकाम चामे गाउँपालिकामा ५७७, मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार ५७४, नार्पाभूमि गाउँपालिकामा २८५ र नासों गाउँपालिकामा एक हजार ४३७ गरी तीन हजार ८७३ मत खसेको शर्माले बताए ।

निर्वाचनबाट मनाङमा १४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । केही पालिकाका वडाध्यक्ष र महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसमेत सर्वसम्मत निर्वाचित भइसकेका छन् । चार गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी आठ जना निर्वाचित हुनेछन् ।

त्यस्तै २८ वडाबाट एक/’एक अध्यक्ष र चार सदस्य गरी १४० जना निर्वाचित हुनेछन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालका अनुसार जिल्लामा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको हो । “शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ, १ बजेसम्म तीन हजार ८७३ मत खस्यो,” उनले भने ।

जिल्लाका चार वटै पालिकामा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको शर्माले बताए । उनका अनुसार जिल्लाका मतगणना आजै साँझदेखि हुनेछ । मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै मतगणना सुरु हुने शर्माले बताए ।

मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँच-पाँचवटा मतदान केन्द्र कायम छ । मनाङमा महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ गरी ६ हजार ४९६ मतदाताले मतदान गर्नेछन् ।