NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्थानीय तह निर्वाचन अपडेट : ८५ स्थानमा कांग्रेसको अग्रता, एमाले ५३ र माओवादी २८ स्थानमा अगाडि

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना धमाधम सुरु भएको छ । केहीमा शुक्रबार रातिबाट मतगणना सुरु भए पनि अधिकांशमा शनिबार बिहानबाट मतगणना सुरु भएको हो । केही स्थानीय तहमा भने अझै मतगणना सुरु हुन सकेको छैन । स्थानीय निर्वाचनको इपिसेन्टर भरतपुर, काठमाडौं महानगरपालिकालगायतमा अझै मतगणना सुरु नभएको हो ।

मतगणना सुरु भएका स्थानीय तहबाट अपडेट प्राप्त भइरहेका छन् । देशभरका १८१ स्थानीय तहको प्रारम्भिक मत परिणाममा ८५ स्थानमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसको लिड रहेको स्थानीय तहमा बुटवललगायत छन् ।

केही स्थानीय तहमा कांग्रेसले अन्तिम जित नै निकालेको छ ।

समग्रमा एमाले कांग्रेसभन्दा कमजोर देखिएको छ । उसले अहिलेसम्म ५३ स्थानीय तहको प्रमुख र अध्यक्षमा लिड गरिरहेको छ ।

गठबन्धन बनाएर चुनावमा होमिएको माओवादी केन्द्रले २८ स्थानमा अग्रता बनाएको विवरण प्राप्त भएको छ ।

जसपा, एकीकृत समाजवादी तुलनात्मक कमजोर देखिएका छन् । जसमा र समाजवादीले अहिलेसम्म क्रमशः ४ र ३ स्थानीय तहमा अग्रता लिएका छन् ।

राप्रपा नेपाललगायत अन्य दलले ८ स्थानमा लिड गरिरहेका छन् ।

गठबन्धनलाई एमालेको टक्कर

स्थानीय चुनावमा सत्ताधारी दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चा गठबन्धन बनाएर होमिएका छन् । एकाध स्थानबाहेकमा एमाले एक्लै चुनावी मैदानमा छ ।

प्रारम्भिक रुझानमा एमालेले गठबन्धनलाई कडा टक्कर दिइरहेको छ । ५३ स्थानमा लिड गरेको एमालेले पछि परेका कतिपय स्थानीय तहमा नजिकबाट पछ्याइरहेको छ ।