NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

भीम उपाध्यायले खुट्याएको बालेन जितका पाँच आधार

काठमाडौं । काठमाडौं महानगरमा ५२ प्रतिशतले मात्रै मतदान गरेका छन् । महानगरको मतदान तथ्यांकप्रति निर्वाचन आयोग चिन्तित छ ।

निर्वाचन आयोगले कम मतदान भएकोमा चिन्ता जनाइरहँदा मतदातामा भने उत्साह थपिएको छ । मतदानलगत्तै बाहिरएका विश्लेषणले खासगरी युवापंक्ति उत्साहित छन् ।

काठमाडौं महानगरको मतगणना भर्खंरै शुरु भएको छ । यसैसन्दर्भमा हामीले बालेन जिताउ अभियानमा सक्रिय भूमिका खेलेका पूर्वसचिव भीमप्रसाद उपाध्यायसँग सम्पर्क गरेर तपाईंले देख्नुभएको बालेन जितका के के हुन् भनेर सोधेका थियौंः–

उपाध्यायले नेपालवाचको उक्त चासोलाई दुई कोणबाट ब्याख्या गरेका छन् ।

पहिलो – बालेनले चुनाव जित्नुको पृष्ठभूमि ।

पहिलो कुरा त, युवाहरूले परिवर्तन खोजिरहेका छन् । अर्कोतर्फ दलले अघि सारेका उम्मेदवारप्रति वितृष्णा छ । तसर्थ बालेन युवाहरुको आशाको केन्द्र बन्न पुगे । जेष्ठ नागरिकहरुको भरोसा बने ।

दोस्रो पक्षचाहिँ दलहरूले उम्मेदवार छनेट गर्दा जसरी पनि जित्नुपर्छ भनेर उम्मेदवार छाने । उनीहरूले उम्मेदवारको विगतका पृष्ठभूमि, चरित्र, क्षमतालगायत केही पनि हेरेनन् ।

त्यसले गर्दा दलका उम्मेदवार थप कमजोर हुन पुगे । त्यसको विकल्पमा बालेन पेशागत हिसाबमा पनि क्षमता, योग्यता भएको शालीन व्यक्तित्व । अरूलाई होच्याएर आफू ठूलो बन्ने प्रवृत्ति नभएको । बालेन शान्त स्वभावका छन् । कसैको नकारात्मक कुरा गर्दैनन् । अरूले नराम्रो कुरा गरे पनि सकारात्मक जवाफ दिन्छन् ।

बालेनका यी स्वभाव नै दलहरूका उम्मेदवारलाई भारी बन्न पुग्यो ।

माथिका कुराहरू बालेनको व्यक्तिगत स्वभाव पनि हो । महानगरको नेतृत्वका लागि उनीसँग प्रष्ट भिजन छ । यथार्थमा आधारित भएर महानगर बनाउने सपना बोकेको छ । महानगरका विज्ञहरूले उनलाई नै आशीर्वाद दिइरहेका छन् ।

उनको अर्को प्लस प्वाइन्ट बोली हो । यो आकर्षक छ । युवाहरूमाझ लोकप्रिय पनि छन् उत्तिकै इमान्दार पनि । यी फ्याक्टर बालेन जितका आधार हुन् ।

यो मतदान अघिको कुरा थियो । त्यही अनुसार बालेनको पक्षमा मत खस्यो कि खसेन ? यो जिज्ञासालाई अर्को कोणबाट हेरौं ।

मतदानपछिको आधार

महानगरमा यसपालि निकै कम संख्यामा मतदान भयो । मतदाताहरू जसलाई जिताए पनि के हुन्छ र भनेर दिक्क भएका रहेछन् । विशेषगरी दलहरूप्रति गुनासा थिए ।

तर मतदानमा भाग लिन आएका अधिकांश मतदाता बालेनलाई मात्रै भोट हालेर फर्किए । किनभने, उनीहरू बालेनको व्यक्तिगत स्वभाव, सपनाबाट मात्रै होइन, उसको नयाँ तरिकाको प्रचारशैलीबाट पनि प्रभावित थिए । ती मतदाताले अरूलाई मत दिएनन् ।

मलाई लाग्छ, दिक्क मानेर घर बसिरहेका मतदाताहरू जो मतदान केन्द्रमा पुगेर फर्किए, त्यो बालेनका लागि गएका थिए । त्यसैले खसेको कुल मतको ठूलो हिस्सा बालेनको लौरोमा पर्यो ।

कांग्रेस, एमाले, राप्रपालगायतका दलमा आबद्ध युवाहरूले पनि यसपालि बालेनलाई मत दिए ।

उनलाई सबै युवाहरूले आशा र बृद्धहरूले भरोसाको रूपमा लिए ।

बालेनले जित्दैछन् भन्ने अर्को बलियो आधार भनेको यसपालि थपिएको नयाँ २० हजार मतमध्ये अधिकांश बालेनका लागि थियो । किनभने, त्यो अधिकांश मत १८ वर्ष उमेर पुगेका नयाँ मतदाता थिए ।

अर्कोचाहिँ चुनाव प्रसारमा बालेनसँग देखिएको भीडलाई मतदाता होइनन् भनियो । तर चुनाव प्रचारमा जाँदा बालेनसँग जुन भीड थियो । त्यो क्रेज मतदानको समयमा पनि उत्तिकै थियो ।

यदि महानगरका मतदाताले बालेनलाई नरुचाएका भए मतदानको समयमा त्यो आकर्षण किन देखियो ? यी सबै पृष्ठभूमिका आधारमा म ढुक्कसँग भन्न सक्छु, बालेन काठमाडौं महानगरको मेयर बन्दैछन् ।