NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चुनावी परिणामबाट सन्तुष्ट छौं : प्रकाशशरण महत (अन्तर्वार्ता)

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । हालसम्मको अवस्था हेर्दा एमालेले पाँचदलीय गठबन्धनलाई लगभग एक्लै पछि पारेको छ । एमालेले ६ पालिका प्रमुखमा बाजी मारिसकेको छ । यता सत्ता गठबन्धनसँगै सरकारको समेत नेतृत्व गरिरहेको कांग्रेसले तीन ठाउँमा मात्र जितेको छ । अग्रतामा पनि एमाले नै अगाडि छ । एमालेले १३८ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले ११९ मा मात्रै ।

काठमाडौं महानगरपालिकाको मेयरमा त कांग्रेस तेस्रो स्थानमा मात्रै छ । यस्तो परिस्थितिलाई कांग्रेसले कसरी लिइरहेको छ त ? नेपालवाचकर्मी दीपेन्द्र सापकोटाले प्रवक्ता डा. प्रकाशशरण महतसँग गरेकाे छोटो कुराकानी :

पाँचदलीय गठबन्धन गरेर हामी चुनावमा होमिएको भए पनि सबैतिर तालमेल भएको छैन । फेरि अर्को कुरा एमाले पनि त एक्लै चुनावमा होमिएको छैन नि !

हालसम्मको चुनावी परिणामलाई कसरी हेर्नुभएको छ ?

अहिलेसम्मको परिणामबाट हामी सन्तुष्ट नै छौं । किनकि, यो प्रारम्भिक परिणाम हो । कति पनि रिजल्ट आएको छैन । भर्खर त गन्न सुरुवात भएको छ । यसर्थ, अहिले नै यसबारे धारणा बनाउँदा अलि हतारो हुन्छ ।

पाँचदलीय गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेस एक्लै लडेको एमालेसँग पछि परिरहेको देखियो नि, यो परिणामलाई ठीक भन्न मिल्छ र ?

पाँचदलीय गठबन्धन गरेर हामी चुनावमा होमिएको भए पनि सबैतिर तालमेल भएको छैन । अवस्था हेरेर मात्र तालमेल भएको छ । फेरि अर्को कुरा, एमाले पनि त एक्लै चुनावमा होमिएको छैन नि ! उसले पनि त ठाउँ–ठाउँमा फरक–फरक तालमेल गरेको छ । कतिपय ठाउँ त एमाले गठबन्धनकै दलहरूसँगको तालमेलमा छ । एमालेसँग हामीले पनि तालमेल गरेका छौं ।

तपाईँहरू पाँच दल सँगै हुनुहुन्छ तर एमालेले त यत्रो धेरै दलसँग तालमेत गरेको छैन नि ! तैपनि परिणाममा किन ऊ नै अगाडि देखियो ?

मैले अघि नै भनेँ अहिले नै चुनावी परिणामबारे बोल्नु हतारो हुन्छ । कति पनि गणना भएको छ । विस्तारै हाम्रो दल र गठबन्धनले अग्रता लिने क्रम बढिरहेको छ । यसर्थ, सबै गनिसक्दा समग्रमा हाम्रै पक्षमा परिणाम आउँछ भन्नेमा हामी ढुक्क छौं ।

गठबन्धनमा आबद्ध अन्य पार्टीका मतदाताप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? सोचेजस्तो परिणाम नआउँदा बेकारमा गठबन्धन गरिएछ भन्ने त लागेको छैन नि ?

गठबन्धन गरेकोमा कुनै पछुतो छैन । गठबन्धनले सुखद् परिणाम दिइरहेको छ । अन्तिममा हामीले सोचेजस्तै परिणाम आउनेमा हामी विश्वस्त छौं ।

अहिले पार्टीका भन्दा स्वतन्त्र उम्मेदवारहरू अगाडि आइरहेका छन् । काठमाडौंमा पनि बालेन शाह पहिलो नम्बरमा छन् । त्यत्रो गठबन्धन गरेको तपाईँहरूको पार्टी कांग्रेस त तेस्रो मात्र छ नि ?

काठमाडौंमा अहिलेसम्म पाँच–६ सयमात्र गनिएको छ । तीन लाखभन्दा बढी मतदाता भएको ठाउँमा याे ज्यादै कम हो । यसर्थ, सबै गणना भइसक्दा हाम्रो पार्टीकी उम्मेदवार सिर्जना सिंहले जित्नुहुन्छ भन्नेमा हामी ढुक्क छौं ।

काठमाडौं महानगरजस्तो महत्त्वपूर्ण स्वतन्त्र उम्मेदवार अगाडि आउनुमा राजनीतिक दलप्रतिको वितृष्णा हो भनिन्छ नि ! तपाईँलाई चाहिँ के लाग्छ ?

काठमाडौं पहिलेदेखि नै उत्सुकताको ठाउँ हो । खास प्रकृतिका नयाँ उम्मेदवार आउँदा यहाँका जनताले उत्सुकता देखाउने गर्छन् । यस्ता क्षणिक उत्सुकताले दीर्घकालीन परिणाम भने दिँदैन ।