NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चुनावी परिणामले राप्रपा गदगद : ‘१३ मा अग्रता, ११ वडामा विजयी’

राप्रपा प्रवक्ता शाही भन्छन्– ३० स्थानीय तह र २०० वडा जित्ने लक्षण देखियो

काठमाडौं । स्थानीय तह निर्वाचनको सुरुवाती परिणामबाट राष्ट्रिय प्रजातन्त्र पार्टी उत्साहित भएको छ । अधिकांशमा एक्लै र केहीमा तालमेल गरेर प्रतिस्पर्धामा उत्रिएको राप्रपाले परिणामलाई उत्साहप्रद भनेको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले प्रारम्भिक रुझानमा आफ्नो दलले सोचेभन्दा राम्रो परिणाम हासिल गरिरहेको बताएका छन् ।

‘हामीले सोचेभन्दा निकै राम्रो परिणाम ल्याइरहेका छौं,’ नेपालवाचसँग शाहीले भने ।

शाहीका अनुसार, स्थानीय तहको २.२५ प्रतिशत मत परिणाम सार्वजनिक हुँदा राप्रापाले ११ वटा वडामा वडाध्यक्ष जितेको छ । कपिलवस्तुको कृष्णनगर–१, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१, रूपन्देहीको रोहिणी गाउँपालिका–१, चितवनको माडी माडी नगरपालिका–१, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ र नवलपरासीको रामग्राम–१ को वडाध्यक्षमा राप्रपाका उम्मेदवार विजयी भएका हुन् । त्यस्तै, डोटीको के.आई सिंह गाउँपालिका–७, बैतडीको सुर्नया गाउँपालिका–२, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७, धादिङको खनियाबास गाउँपालिका–१ र कञ्चनपुरको दोधारा चाँदनी १ को वडाध्यक्षमा पनि राप्रपाका उम्मेदवार विजयी भएका छन् ।

१३ स्थानीय तहमा अग्रता

प्रवक्ता शाहीका अनुसार, राप्रपाले अहिलेसम्म १३ गाउँपालिका र नगरपालिकामा लिड गरिरहेको छ । देशका अन्य स्थानीय तहमा पनि राप्रपाले दोस्रो र तेस्रो स्थानमा रहेर विपक्षी दलका उम्मेदवारलाई टक्कर दिइरहेको उनले बताए ।

२०० भन्दा बढी वडा जित्ने प्रक्षेपण

कम मतदाता रहेका स्थानीय तहको परिणाम आइसकेका छन् भने बढी मतदाता भएका स्थानमा मतगणना जारी छ ।

मतगणना निकै धिमा गतिमा अघि बढिरहेकाले अन्तिम परिणाम आउन भने समय लाग्नेछ । तथापि, वडागत नतिजा भने धमाधम सार्वजनिक भइरहेका छन् ।

मतगणनाको सुरुवाती नतिजाबाट उत्साहित राप्रपाले मत विश्लेषण गर्दै ३० भन्दा स्थानीय तहको प्रमुख र अध्यक्ष जित्ने दाबी गरेको छ । शाहीले मतगणनाको रुझान यस्तै रहेमा २०० भन्दा बढी वडाको वडाध्यक्ष राप्रपाले जित्ने दाबी गरे ।

‘…राप्रप्राले ११ वटा वडा अध्यक्ष मा बिजय र १३ वटा पालिका र नगरपालिका प्रमुखमा अग्रस्थानमा र देशैभरि दोस्रो र तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेको छ,’ शाहीले भने, ‘यही परिमाण आउने हो भने करिब २०० भन्दा बढी र ३० भन्दा बढी पालिका–नगरपालिका प्रमुखमा राप्रपाले जित्ने सम्भावना देखिन्छ ।’