NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

टिकट पाएर निर्वाचनपूर्व ज्यान गुमाउनेहरू

काठमाडौं । स्थानीय तह निर्वाचनमा जनताको मतादेशमार्फत धमाधम जनप्रतिनिधि चयन भएका छन् । अबको एक सातामा लगभग देशका सबैजसो स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउनेछन् । रफ्तार यस्तै रहेमा महानगरपालिकालगायत बढी मतदाता रहेका स्थानीय तहको अन्तिम परिणाम आउन भने एक साताभन्दा बढी समय लाग्नेछ । तथापि, अबको एक सातामा त्यहाँको चित्र भने आइसक्नेछ ।

देशभरका स्थानीय तहमा जनप्रतिनिधि चयनको सिलसिला जारी रहँदा दलबाट टिकट पाइसकेका केही अभागीलाई भने भौतिक शरीरले नै साथ दिएन । कारण,  जनताबीच परीक्षण हुने अवसर उनीहरूले गुमाए । यसरी चुनावी मैदानकै दौरानमा ज्यान गुमाउने उम्मेदवारको संख्या आधा दर्जन बढी छ ।

निर्वाचनको मैदानमा हेलिसकेर बीचमै मृत्यु हुनेमा कांग्रेसले महाराजगञ्जको उप्रमुखमा उतारेको शुभावती कुर्मी, तुलसीपुर–१७ का एमाले वडाध्यक्ष उम्मेदवार लभरू चौधरी, सुनसरीको हरिपुर गाउँपालिका–६ मा कांग्रेसका तर्फबाट दलित महिला सदस्यमा टिकट पाएकी मडुवादेवी चमार, रौतहटको वृन्दावन नगरपालिका–५ कि जसपाकी महिला सदस्य उम्मेदवार मीना देवी छन् ।

त्यसैगरी, मोरङको केराबारी गाउँपालिका–२ का कांग्रेस सदस्यका उम्मेदवार नवीन लिम्बू, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ का एमाले वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको पनि निर्वाचनपूर्व मृत्यु भयो ।

रूपन्देहीको मर्चवारी गाउँपालिका–३ का एमाले दलित महिला सदस्य उम्मेदवार कुसुमी पासिन, कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१० का माओवादी केन्द्रका वडा सदस्य उम्मेदवार राजेन्द्र चौधरी थारू र सिरहाको सिरहा नगरपालिका–५ का एमाले वडा सदस्य उम्मेदवार मुना सेखको पनि निर्वाचन प्रतिस्पर्धाकै दौरानमा इहलीला समाप्त भयो ।

निर्वाचनपूर्व उम्मेदवारको मृत्यु भएपछि निर्वाचन आयोगले त्यहाँ पुनः मतदानको तालिका सार्वजनिक गरेको छ । चुनावपूर्व उम्मेदवारको निधन भएमा त्यहाँ पुनः मनोनयन दर्ता गराएर चुनाव गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार आयोगले मतदानको अर्को तालिका बनाएको हो । आयोगका अनुसार, यसपटक पनि मतदानको कार्यक्रम तय भइसकेका छन् । केहीमा भोलि मतदान हुने तयारी अघि बढाइएको छ ।