NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्थानीय तह हाक्दै युवा विद्यार्थी

काठमाडाैं । पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन्

नेकपा -माओवादी केन्द्र निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । यसै क्रममा दार्चुलाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा विजयी भगतसिंह ठेकरे बोहोरा निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको मत गणानामा बोहोरोले दुई हजार ३०४ मत प्राप्त गरी विजयी भएकाे निर्वाचन आयोगले जनाएको छ ।

बोहोराले अखिल क्रान्तिकारीका केन्द्रीय सचिवको जिम्मेवारी सम्हालदै आएका थिए । क्रान्तिकारीका महासचिव दीपेश पुनका अनुसार सो सङ्गठनका विभिन्न नेताहरू स्थानीय तहको निर्वाचनमा विजयी भएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–१ को अध्यक्षमा सत्तारूढ गठबन्धनको साझा उम्मेदवारका रुपमा रहेका माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार घनश्याम खरेल निर्वाचित भएका छन् । खरेल अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा थिए । सो गाउँपालिकामा सत्तारूढ गठबन्धनले वडा तहसम्म नै तालमेल गरेको थियो ।

सत्तारूढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा रहेका खरेलले ५५२ मतसहित विजयी भएका हुन् । सो वडामा कूल ८०० मत खसेको थियो । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै गएको समेत यसले देखाउँछ । राजनीतिक दलले क्रमशः आफ्नो समितिभित्र युवा तथा विद्यार्थीलाई सक्रिय रुपमा सहभागी गराइरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गोविन्दबहादुर बलालले १८५ मत मात्रै प्राप्त गरेका थिए ।

यस्तै सोही सङ्गठनका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरेका तारा भण्डारी धादिङको गजुरी–१ को अध्यक्षमा निर्वाचित भएका छन् । लामो समयसम्म अखिल (क्रान्तिकारी) को केन्द्रीय नेतृत्वमा रहेका भण्डारी पछिल्ला दिनमा भने गजुरीमा फर्केर पार्टी राजनीतिमा सक्रिय रहेका थिए ।  नेपालको संविधान जारी भएपछि भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भण्डारीले ६८८ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर बर्तौलाले ६२६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । यस्तै माओवादी केन्द्रको विद्यार्थी सङ्गठन क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र रोकाया बझाङको मस्टा गाउँपालिका–१ वडाध्यक्षको उम्मेदवार छन् । सो गाउँपालिकाको मत गणना जारी छ ।  यस्तै, अन्य स्थानीय तहमा समेत युवा विद्यार्थीको सक्रिय सहभागिता छ ।

यस्तै, दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा विजयी छवि सुवेदी पनि पूर्वविद्यार्थी नै छन् । सुवेदीले नेपाली कांग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरलाई ८०० मतान्तरले पराजित गरेका छन् । सुवेदीले तीन हजार २०० मत प्राप्त गरेका छन् । अध्यक्षमा विजयी भएका सुवेदी हाल माओवादी केन्द्र निकट बुद्धिजीवी सङ्गठनको कर्णाली प्रदेश अध्यक्षसमेत छन्।

एमबिबिएसको अन्तिम वर्षको तयारी चल्दै गर्दा माओवादी युद्धमा होर्मिएका सुवेदी निकै सादगी व्यक्तित्वका रुपमा परिचित छन्। विजयी भएपछि सुवेदीले छोटो प्रतिक्रिया दिदै गाउँपालिकाभित्र स्रोत र साधनले भ्याएसम्म स्थानीयवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाए । उनले आफूहरूलाई विजयी गराउने सबै मतदातालाई धन्यवादसमेत दिए ।