NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जनयुद्धको उदगम रोल्पाको स्थानीय तहमा माओवादी तेस्रो, विप्लव चौथो स्थानमा

काठमाडौं । रोल्पा, तत्कालीन माओवादीको जनयुद्धको उदगमस्थल । माओवादीले थालेको उक्त जनयुद्धमा सर्वहारा वर्गको उन्मुक्तिखातिर रोल्पाली ज्यूज्यान बाजी राखेर माओवादीलाई सघाउन तयार भए ।

यो दौरान कैयन् रोल्पाली शहीद भए । कैयनको अझै अत्तोपत्तो छैन, बेपत्ता छन् । अनि जनयुद्धको निशानी घाइते शरीर घसारेर हिँड्ने पनि उत्तिकै छन् ।

माओवादी मूलधारमा फर्किएपछि पनि रोल्पालीले माओवादीमाथि अपार माया वर्षाएर उसका उम्मेदवारलाई निरन्तर जिताए ।

रोल्पालीको मत पाएर सिंहदरबार पसेका पटक–पटक सांसद्, मन्त्रीलगायत राजकीय पदमा पुगे ।

माओवादीमाथि भरोसा राखेका उदार रोल्पालीले कहिल्यै गुनासो गरेनन् । आशावादी भएर मात्र  दिइरहे । केही लिएनन् ।

खासमा रोल्पालीले समग्र देशकै अवस्था परिवर्तन गर्ने भोक देखाएको थियो, पटकपटक ।

रोल्पाको प्रतिनिधित्व सिंहदरबार पुग्यो तर अवस्था परिवर्तन भएन । बरू रोल्पालीको तागतमा सिंहदरबार पसेका नवधनाढ्यमा कायाकल्प भए ।

यी दृश्यले अब भने रोल्पालीको धैर्यताको बाँध टुट्न थालेजस्तो छ । उनीहरूले ब्यालेट बक्समार्फत असन्तुष्टि जाहेर गर्न थालेका छन् ।

रोल्पाका विभिन्न स्थानीय तहको वडामा माओवादीले हार व्यहोरिरहँदा गंगादेव गाउँपालिकाको अध्यक्ष,उपाध्यक्षसहित वडाध्यक्ष र सदस्यमा माओवादीको शर्मनाक हार भएको छ ।

यति मात्रै होइन, विप्लवप्रतिसमेत त्यहाँका मतदातामा अरुचि देखाएका छन् ।

त्यहाँको अध्यक्षको प्रतिस्पर्धामा कांग्रेसबाट हरिबहादुर पुन मगर, एमालेबाट रोशनकुमार वली, माओवादीबाट वीरबहादुर खत्री र विप्लवबाट चूडामणि वली उत्रिएका थिए । खत्री गंगादेवका निवर्तमान अध्यक्ष पनि हुन् । उनी अघिल्लो पटक माओवादी केन्द्रका तर्फबाट त्यहाँ विजयी भएका थिए । यसपटक अन्तिम परिणाममा यो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पुन मगरको पल्लाभारी भएको छ ।

कतिसम्म भने यहाँ माओवादी तेस्रो र विप्लव चौथो स्थानमा खुम्चिन पुगेका छन् । अन्तिम मत परिणामअनुसार, त्यहाँ कांग्रेसका पुन मगरले २५४८ मतका साथ जित दर्ज गराउँदा एमालेका रोशनकुमार वलीले २४९९ मत पाए ।

माओवादीबाट प्रतिस्पर्धा गरेर तेस्रो स्थानमा झरेका खत्री सो गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी अमृता केसी वली विजयी भएकी छन् । यहाँ एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा खुम्चिएको छ । केसीले २९०९ मतका साथ जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी वलीले २४४२ मत पाइन् ।

गंगादेव गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मात्र नभएर विभिन्न वडामा पनि माओवादी पराजित भएको छ । गंगादेवको वडा नं. १, २, ४, ५ र ७ मा कांग्रेस विजयी भएको हो ।

त्यसैगरी, वडा नं. ६ मा एमालेका वीरवहादुर वली विजयी भएका छन् ।

वडा नं. ३ मा भने माओवादी केन्द्रका लोकमान वलीले बीउ जोगाएका छन् । सदस्यमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

चलेन विप्लवको जादू

चुनावमा भाग लिने नीति पारित भए पनि दल दर्ताका कारण यहाँ विप्लवले स्वतन्त्र ढंगले चूडामणि वलीलाई अध्यक्षमा उतारेको थियो ।

र पनि विप्लवप्रति कुनै आकर्षण देखिएन । बरू चौथो स्थानमा खुम्चिन पुग्यो ।

यो परिणामलाई जनयुद्धको उदगमका जनताको माओवादीसँगको मोह भंगका रूपमा विश्लेषण गरिएको छ ।