NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

रोल्पामै माओवादीको कन्तबिजोग

काठमाडौं । रोल्पा, तत्कालीन माओवादीको जनयुद्धको उदगमस्थल । माओवादीले थालेको उक्त जनयुद्धमा सर्वहारा वर्गको उन्मुक्तिखातिर रोल्पाली ज्यूज्यान बाजी राखेर माओवादीलाई सघाउन तयार भए ।

यो दौरान कैयन् रोल्पाली शहीद भए । कैयनको अझै अत्तोपत्तो छैन, बेपत्ता छन् । अनि जनयुद्धको निशानी घाइते शरीर घसारेर हिँड्ने पनि उत्तिकै छन् ।

माओवादी मूलधारमा फर्किएपछि पनि रोल्पालीले माओवादीमाथि अपार माया वर्षाएर उसका उम्मेदवारलाई निरन्तर जिताए ।

रोल्पालीको मत पाएर सिंहदरबार पसेका पटक–पटक सांसद्, मन्त्रीलगायत राजकीय पदमा पुगे ।

माओवादीमाथि भरोसा राखेका उदार रोल्पालीले कहिल्यै गुनासो गरेनन् । आशावादी भएर मात्र  दिइरहे । केही लिएनन् ।

खासमा रोल्पालीले समग्र देशकै अवस्था परिवर्तन गर्ने भोक देखाएको थियो, पटकपटक ।रोल्पाको प्रतिनिधित्व सिंहदरबार पुग्यो तर अवस्था परिवर्तन भएन । यी दृश्यले अब भने रोल्पालीको धैर्यताको बाँध टुट्न थालेजस्तो देखिएकाे छ

खासमा रोल्पालीले समग्र देशकै अवस्था परिवर्तन गर्ने भोक देखाएको थियो, पटकपटक ।

रोल्पाको प्रतिनिधित्व सिंहदरबार पुग्यो तर अवस्था परिवर्तन भएन । बरू रोल्पालीको तागतमा सिंहदरबार पसेका नवधनाढ्यमा कायाकल्प भए ।

यी दृश्यले अब भने रोल्पालीको धैर्यताको बाँध टुट्न थालेजस्तो देखिएकाे छ । उनीहरूले विस्तारै ब्यालेट बक्समार्फत असन्तुष्टि जाहेर गर्न थालेका छन् ।

रोल्पामा एक नगरपालिकासहित ९ स्थानीय तह छन् । त्रिवेणी, परिवर्तन, माडी, रुन्टीगढी, लुङ्ग्री, गंगादेव, सुनछहरी, सुनील स्मृति र थवाङ रोल्पामा रहेका गाउँपालिका हुन । यहाँ एउटा मात्रै नगरपालिका रोल्पा नगरपालिका छ । यी स्थानीय तहमा कुल ७२ वडा छन् ।

स्थानीय तह निर्वाचन सम्पन्न भएको तेस्रो दिनमा आउँदा यहाँ दुई स्थानीय तह र ५० बढी वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये रोल्पा नगर प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजयी भए पनि गंगादेव कांग्रेसको पोल्टामा परेको छ ।

गंगादेवमा माओवादी तेस्रो, विप्लव चौथो 

गंगादेव गाउँपालिकाको अध्यक्ष,उपाध्यक्षसहित वडाध्यक्ष र सदस्यमा माओवादीको शर्मनाक हार भएको छ ।

यति मात्रै होइन, विप्लवप्रतिसमेत त्यहाँका मतदातामा अरुचि देखाएका छन् ।

त्यहाँको अध्यक्षको प्रतिस्पर्धामा कांग्रेसबाट हरिबहादुर पुन मगर, एमालेबाट रोशनकुमार वली, माओवादीबाट वीरबहादुर खत्री र विप्लवबाट चूडामणि वली उत्रिएका थिए । खत्री गंगादेवका निवर्तमान अध्यक्ष पनि हुन् । उनी अघिल्लो पटक माओवादी केन्द्रका तर्फबाट त्यहाँ विजयी भएका थिए । यसपटक अन्तिम परिणाममा यो गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पुन मगरको पल्लाभारी भएको छ ।

कतिसम्म भने यहाँ माओवादी तेस्रो र विप्लव चौथो स्थानमा खुम्चिन पुगेका छन् । अन्तिम मत परिणामअनुसार, त्यहाँ कांग्रेसका पुन मगरले २५४८ मतका साथ जित दर्ज गराउँदा एमालेका रोशनकुमार वलीले २४९९ मत पाए ।

माओवादीबाट प्रतिस्पर्धा गरेर तेस्रो स्थानमा झरेका खत्री सो गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी अमृता केसी वली विजयी भएकी छन् । यहाँ एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा खुम्चिएको छ । केसीले २९०९ मतका साथ जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी वलीले २४४२ मत पाइन् ।

गंगादेव गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मात्र नभएर विभिन्न वडामा पनि माओवादी पराजित भएको छ । गंगादेवको वडा नं. १, २, ४, ५ र ७ मा कांग्रेस विजयी भएको हो ।

त्यसैगरी, वडा नं. ६ मा एमालेका वीरवहादुर वली विजयी भएका छन् ।

वडा नं. ३ मा भने माओवादी केन्द्रका लोकमान वलीले बीउ जोगाएका छन् । सदस्यमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

चुनावमा भाग लिने नीति पारित भए पनि दल दर्ताका कारण यहाँ विप्लवले स्वतन्त्र ढंगले चूडामणि वलीलाई अध्यक्षमा उतारेको थियो ।

र पनि विप्लवप्रति कुनै आकर्षण देखिएन । बरू चौथो स्थानमा खुम्चिन पुग्यो ।

वडामा पनि जताततै हार

रोल्पाका स्थानीय तहको पूर्ण नतिजा आउन अझै केही दिन लाग्ने बताइएको छ ।

५० भन्दा बढी वडाको अन्तिम नतिजा सार्वजनिक हुँदा यसअघि पकड रहेका वडा माओवादीले धमाधम गुमाइरहेको छ ।

रोल्पा नगरपालिका-१ मा खुमबहादुर थापा वडा नं २ मा प्रकाश डाँगी, वडा नं ४ मा मित्रलाल गुरुङ र वडा नं ५ मा टोपबहादुर नेपाली वडा नंं ६ मा तुलबहादुर घर्तीमगर माओवादीबाट विजयी भएका हुन् ।

सुनिलस्मृति गाउँपालिका–१ मा गोवद्र्धन कँवर र वडा नंं ३ मा दुर्गाहबहादुर विष्ट लुङ्ग्री गाउँपालिका–७ मा हीराबहादुर पुन र वडा नं ६ मा जोखबहादुर बुढाथोकी वडा नंं ५ मा रिकबहादुर रोका विजयी भएका छन्। थवाङ गाउँपालिका-५ मा गोवद्र्धन घर्तीमगर र वडा नंं ३ मा जनक बुढामगर वडा नंं २ मा अविलासा रोकामगर विजयी भएका छन् । परिवर्तन गाउँपालिका वडा नंं १ मा मैते बुढामगर र वडा नंं २ मा हरिप्रसाद घर्तीमगर विजयी भएका छन् ।

त्रिवेणी गाउँपालिका-१ मा देउराम घर्तीमगर, रुन्टीगढी गाउँपालिका-२ मा भिउलाल पुन, माडी गाउँपालिका-१ मा रोहित सिंह घर्तीमगर र वडा नंं २ मा ललित घर्तीमगर विजयी भएका छन् । सुनछहरी गाउँपालिका-१ मा धर्मेन्द्र रोकामगर र वडा नं २ मा कृष्णबहादुर बुढामगर विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट गङ्गादेव गाउँपालिका– १, २ र ७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा अमृतबहादुर वली, वडा नं २ मा अमरबहादुर थापा, वडा नंं ७ मा प्रेमप्रकाश केसी विजयी हुनुभएको हो । रोल्पा नगरपालिका–३ मा राजकुमार पुरी र रुन्टीगढी गाउँपालिका–१ मा थमबहादुर घर्तीमगर विजयी हुनुभएको छ ।

नेकपा एमालेबाट थवाङ गाउँपालिका-४ हिकमत घर्तीमगर विजयी भएका छन् । यसैगरी त्रिवेणी गाउँपालिका-२ कविराज बुढामगर र गंगादेव गाउँपालिका-६ बाट वीरबहादुर वली र रुन्टीगढी गाउँपालिका-३ गणेश गिरी विजयी भएका छन् ।

विप्लवलाई पनि धक्का !

एक वर्षअघि मूलधारको राजनीतिमा फर्किएको विप्लवभित्र सुरुमा स्थानीय तह चुनाव उपयोग गर्नेबारे माथापच्ची चल्यो । अन्ततः बहुमत पक्षको निर्णयबाट यो समूहमा चुनाव उपयोग गर्ने लाइन पारित भयो ।

यो लाइन पास गर्दा विप्लवको दलमा विभाजन नै आयो । र पनि विप्लवले ठाउँठाउँमा स्वतन्त्र उम्मेदवारी दिए । आयोगमा दल दर्ता नगरिएकाले विप्लवले स्वतन्त्र उम्मेदवारी खडा गरेका थिए ।

विप्लवले उम्मेदवारी दिँदा आफ्नो प्रभाव रहेको जनयुद्धको रोल्पालगायत स्थानीय तह रोजेको थियो ।

केन्द्रीय सदस्य चुडामणि वली, पूर्व जिल्ला सेक्रेटरी पुष्टमन घर्ती, पूर्व जिल्ला इञ्चार्जहरू सन्तोष सुवेदी र कमल थापासम्म चुनावी मैदानमा हेलिएका थिए । यीमध्ये केन्द्रीय सदस्य वली गंगादेव गाउँपालिका अध्यक्षको प्रतिस्पर्धाबाटै रिङ आउट भए । कांग्रेसले त्यहाँ जित हासिल गर्दा उनले चौथो स्थानमा चित्त बुझाउनुपर्यो ।

वलीजस्तै अन्य उम्मेदवारलाई पनि रोल्पालीले खासै मन पराएनन् ।

माओवादीले आफ्नो आधार इलाकामा आएको क्षयीकरणबारे समीक्षा गर्न त बाँकी छ । तर यसको मूल कारण जनयुद्धकालीन माओवादी शक्तिमा आएको टुटफुट, विगतका वाचामाथि गरिएको खेलाची रोल्पामा माओवादी क्षयीकरण नै हो ।