NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री बडू

काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । मन्त्रालयले सोमबार कञ्चनपुर महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बडूले कञ्चनपुरमा प्रस्तावित दोधारा चादँनी सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको निर्माणलाई अघि बढाउन पहल गरिरहेको उल्लेख गरेका छन् ।

‘लामो समयदेखि प्रस्ताव र शिलान्यास गरिए पनि बजेटको व्यवस्थापन अहिलेसम्म रहेनछ,’ उनले भने ,’आगामी आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजनालाई समेटिनेछ ।’ दोधारा चादँनीको सुख्खाबन्दरगाह र दैजी औद्योगिक क्षेत्रको मन्त्री बडूसँगै पूर्वमन्त्री रमेश लेखक, नारायाणप्रकाश साउद, उद्योग सचिव गणेशप्रसाद पाण्डेयले स्थलगत अनुगमनसमेत गरेका छन् ।

मन्त्री बडूले सुख्खाबन्दरगाह निर्माण भारतको समेत प्राथमिकतामा रहेको कार्यक्रममा बताए । मन्त्री बडूले भने ‘यो योजना सम्पन्न भए औद्योगिक क्षेत्रमा मुलुकले फड्को मार्नेछ ।’

त्यसैगरी दैजी औद्योगिक क्षेत्रको निर्माण भइसकेपछि २२ हजार नागरिकले रोजगारी पाउने उनले बताए । ‘औद्योगिक क्षेत्रको निर्माणलाई कसरी सम्पन्न गर्ने भन्ने बारेमा मन्त्रालय चाँडै टुङ्गोमा पुग्नेछ,’ उनले उक्त कार्यक्रममार्फत उल्लेख गरे । ‘औद्योगिक क्षेत्रको निर्माण अब दु्रतगतिमा अगाडि बढ्छ,’ कार्यक्रममा बोल्दै उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मीले सुख्खा बन्दरगाहको निर्माणका लागि पहिलो चरणमा रु सात अर्ब लाग्ने अनुमान गरिएको बताए ।

‘वातावरणीय प्रभाव मूल्यांकन र जग्गा भोगाधिकारको विषय टुंगो लाग्ने चरणमा छ,’ उनले भने, ‘प्रक्रियामा रहेका विषय र नयाँ बजेटमा सुख्खाबन्दरगाहलाई सम्बोधन हुने विषय एकसाथ टुंगोमा पुग्नसक्छ ।’