NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

निर्वाचन अपडेट : थप ४ मा कांग्रेस विजयी, निस्दीमा एमालेको क्लिन स्विप

काठमाडौं । गत वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम धमाधम सार्वजनिक भइरहेका छन् । यसैक्रममा थप ६ स्थानीय तहको नतिजा प्राप्त भएको छ । जसमध्ये चारमा नेपाली कांग्रेस र एकमा माओवादी केन्द्र विजयी भएको छ । पाल्पामा भने एमालेले क्लिव स्विप नै गरेको छ ।

भर्खरै हामीलाई प्राप्त जानकारीअनुसार, डोटीको सायल, गुल्मीको इस्मा, बैतडीको मेलौली र मुगुको मुगुम कर्मारोंगमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

सायल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा निर्मला बोहरा निर्वाचित भएका हुन् ।

गुल्मीको ईस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् ।

खड्का ५ हजार ५८९ र कुँवर ५ हजार ९०९ मतका साथ विजयी भएका हुन् ।

मुगुम कार्मारोंग गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा विजयी भएका छन् ।

उनले एमालेका सोनाम छिरिङ लामालाई ९० मतले पराजित गर्दै दोस्रो पटक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।

एमालेले पनि स्थानीय तहमा जित निकालिरहेको छ । पछिल्लो नतिजामा पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सबै सदस्य पदहरु जित्दै एमालेले त्यहाँ क्लिनस्वीप गरेको हो ।

यहाँ अध्यक्षमा मुक्तबहादुर सारु ६ हजार ६५२ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्दप्रसाद अर्यालले ३ हजार ४६६ मत पाएका छन् ।

उपाध्यक्षमा तीरनकुमारी श्रेष्ठको पल्लाभारी भयो । उनले ६ हजार ६३८ मतका साथ जित हासिल गर्दा माओवादी केन्द्रका रामप्रसाद खत्री ८३० मतमा रोकिए ।

उता तनहुँको घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेले जितको झण्डा गाडेको छ ।

यहाँको अध्यक्षमा नेकपा एमालेको तर्फबाट होमबहादुर थापा, नेपाली कांग्रेसबाट गंगाराम कुमाल चुनावी प्रतिस्पर्धामा थिए । जसक्रममा प्रतिस्पर्धीलाई हटाउँदै थापा विजयी भए ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगाराम कुमाललाई ७७७ मतान्तरले पराजित गर्दै जित निकालेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माओवादी केन्द्रले अर्को एक स्थानीय तह जितेको छ । कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको हो ।

विजयी रोकायले २२९२ मत ल्याए भने नेपाली कांग्रेसका केशरसिंह बम १४१३ मा रोकिए ।