NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

६ महानगरमा रोचक प्रतिस्पर्धा : ५ मा गठबन्धनको रजाइँ, काठमाडौंमा बालेन हाई हाई

काठमाडौं । स्थानीय तह अन्तर्गत सातै प्रदेशबाट मतगणनाको आन्तिम परिणाम आउनेक्रम जारी छ । पछिल्लो तथ्याङ्क अनुसार नेपाली कांग्रेसले ११५ स्थानमा प्रमुख÷अध्यक्षमा विजय हासिल गरेको छ । दोस्रो स्थानमा रहेको एमालेले ६५ पालिका प्रमुख÷अध्यक्ष जितेको छ । त्यस्तै माओवादी केन्द्रले ५३ स्थानमा विजय हासिल गर्दै अर्धशतक पुरा गरेको छ । एकीकृत समाजवादीले पाँच स्थानमा जित सुनिश्चित गरेको छ । जसपा दुई र अन्यले ८ स्थानमा विजय भएको छ ।

त्यस्तै कांग्रेसले देशभर १९९ स्थानमा अग्रता कायमै राखेको छ । एमालेले १२२ स्थानसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै माओवादी केन्द्रले ६९ स्थानसहित तेस्रो स्थानमा रहेको छ । जसपा २७ स्थान, एकीकृत समाजवादी १८ र लोसपा ११ स्थानमा अग्रता लिइरहेको छ । अन्य साना दलले २० स्थानमा अग्रता छ । सबैको ध्यान र चासो रहेको ६ महानगरपालिकामा पनि पछिल्लो मतपरिणाम सार्वजनिक भइसकेको छ । अहिलेसम्मको स्थितिमा काठमाडौं बाहेक महानगरमा गठबन्धनका उम्मेदवारहरूले अग्रता कायम राखेका छन् ।

संघीय राजधानीसमेत रहेको काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिस्पर्धी दल कांग्रेस र एमालेका उम्मेदवारलाई पछि पार्दै फराकिलो मतान्तर बनाउँदै लगेका छन् । बालेनले सुरूदेखि नै आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार बालेनले ९ हजार ६१४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार १५७ मत प्राप्त गरेका छन् । बालेन र स्थपितको मतान्तर ४ हजार ४५७ रहेको छ । त्यस्तै कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ४हजार ४८३ मत ल्याइ तेस्रो स्थानमा रहेकी छिन् ।
उपमेयरतर्फ एमालेका उम्मेदवार सुनिता डंगोलले फराकिलो मतान्तर बनाएकी छन् । डंगोलले ९ हजार ४२१ मत ल्याउँदा उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले जम्मा २ हजार ६६४ मत पाएका छ ।

त्यस्तै ललितपुर महानगरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धी उम्मेदवारलाई दोब्बर बढी मतले पछाडि पारेका छन् । महर्जनले ५ हजार ६२६ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकार २ हजार २४५ मा सिमित छन् ।

उपमेयरमा एमालेका उम्मेदवार मज्जली शाक्यले फराकिलो अग्रता लिएका छन् । शाक्यले २ हजार २५२ मत ल्याउँदा माओवादीका राजेश बज्रचार्यले १ हजरा ८४८ मत पाएका छन् ।

त्यस्तै विवादका कारण पटक–पटक स्थगित हुँदै आएको चितवनको भरतपुरमा गठबन्धन र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । गठबन्धनका उम्मेदवार रेनु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच झिनो मतान्तरले प्रतिस्पर्धा छ । कहिले सुवेदी त कहिले रेनुले झिनो तनान्तरसहित उछिन्ने र पछ्याउने क्रम जारी छ । बदर मतको विषयले एमालेका प्रतिनिधिले विवाद झिकेपछि गएराति स्थगित भएको मतगणना पुनः सुचारू भएको जिल्ला निर्वाचन कार्यलय चितवनले जनाएको छ । पछिल्लो जानकारी अनुसार रेनुले झिनो मतान्तरसहित अग्रता लिएका छन् । रेनुले ५ हजार ७१८ मतसहित अग्रता कायम राखेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी सुवेदीले ५ हजार ६८८ मतसहित पछ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७८८ मत पाएका छन् ।

उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता लिएका छन् । अधिकारीले ६ हजार ९८२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ४ हजार ६२८ मत पाएका छन् ।

काठमाडौंपछि ठूलो मतदाता रहेको पोखरामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो पार्दै लगेका छन् । आचार्यले ७ हजार ७१४ मत पाउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्ण थापाले ६ हजार ५४५ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका कोपिला रानाभाटले ७ हजार ६३३ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मज्जु गुरुङले ७ हजार ४३८ मत पाएकी छन् ।

यसैगरी वीरगञ्ज महानगरमा जसपाका उम्मेदवार राजेशमान सिंहले ७ हजार २४५ मतसहित अग्रता कायमै राखेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सरावगीले ३ हजार ९५ मत प्राप्त गरेका छन् । सिंह दोब्बर बढी मतले अगाडि छन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवारले ४ हजार ८८८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी लोसपाका उम्मेदवारले जम्मा ७७३ मत पाएका छन् ।
त्यस्तै विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । कोइरालाले ६ हजार ६०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका सागर थापाले ४ हजार ८९१ मतसहित कोइरालाई पछ्याई राखेका छन् ।

उपमेयरमा गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले अग्रता लिएका छन् । यादवले ५ हजार ५७७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका शिल्पा कार्कीले ३ हजार ७८९ मत पाएकी छन् ।