NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

महेश बस्नेतले दिए एमाले हार्नुको ५ कारण

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीभित्रको असन्तुष्टि र विपक्षीले एमालेबारे फिँजाएका भ्रमहरू चिर्न नसक्दा भक्तपुरमा क्षति व्यहोर्नु परेको प्रतिक्रिया दिएका छन् । भक्तपुरको अन्तिम चुनावी परिणाम सार्वजनिक नहुँदै बस्नेतले मंगलबार सामाजिक संजाल फेसबुकमामार्फत आफ्ना प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

बस्नेतकोको गृहजिल्लासमेत रहेको भक्तपुरको तीन नगरपालिका मध्यपुर, सूर्यबिनायक र चागुनाँरायण नगरपालिको चुनावी मतपरिणामबारे समिक्षा गर्दै उनले जनादेशलाई स्वीकार गर्दै आगामी दिनमा कमिकमजोरी सच्याएर लैजाने प्रतिबद्धता जनाएका छन् ।

‘एमाले बिरूद्ध सबै दलहरू गठबन्धन बनाएर लागेको बेलामा पनि हामी भक्तपुरमा पुरानो हैसियत कायम गर्ने उदेश्यले लागेका थियौं । टिकट बितरण प्रक्रियामा देखिएका असन्तुष्टि मिलाउन नसक्दा, जनतामा हाम्राबारे फिजाइएका भ्रमहरूलाई समयमा चिर्न नसक्दा, निर्वाचित जनप्रतिनिधिहरू बारे गरिएका कु–प्रचार तोड्न नसक्दा, हामीप्रति जनताको अपार समर्थनलाई संगठित रूपमा पार्टीकरण गर्न नसक्दा, इतिहासमै नभएको बिकास र गतिबिधि गर्दा पनि प्रमुख र उप प्रमुखमा हाम्रो मत घटेको छ । लगभग हारको नजिक पुगिएको छ’, बस्नेतले उल्लेख गरेका छन् ।

बस्नेतको नजरमा भक्तपुरका तीन नगरपालिकाको चुनावी परिणाम

मध्यपुर थिमि न.पा.मा एमालेले जित्ने वडा १,२ र ५मा अध्यक्ष पराजित भएका छन् र मिश्रित परिणाम आएको छ ।

सूर्यबिनायक न.पा.मा बिगतमा कांग्रेसले जितेको वडा २ र ३ योपटक एमालेले जित्ने आशा गरेको थियो । तर झिनो मतले जित्न सकिएन । अघिल्लो पटक जितेको दधिकोट थोरै मतले पराजित भएर मिश्रित परिणाम आएको छ । अब मत गन्न बाँकी ५ ,६ ,७ ,८ ,९ ,१० सबै वडाहरू, मेयर र उपमेयर राम्रैसँग जितिने संभावना रहेको छ ।

चागुनारायण न.पामा पनि बिगतमा कांग्रेसले जितेको १ र २ एमालेले जित्ने लक्ष्य भएपनि झिनो मतले पराजित भएको छ । पहिला जितेको वडा ६ मा पराजित भएको छ । यति हुँदा पनि मेयर र उपमेयरको अग्रता बढेको छ । बाँकी वडाहरू ७ ,८ र ९ को परिणाम राम्रो आउने र मेयर उपमेयर जित्ने सम्भाबना छ ।