NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मौन अवधिमा बोलेका ओली आफ्नै दाबी झुटो देखिएपछि चुपचाप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख २७ मा काठमाडौंको भृकृटी मण्डपमा आयोजित चुनावी सभालाई सम्बोधन गरेपश्चात् कुनै सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।

स्थानीय तहको निर्वाचनमा एमालेले ५५ देखि ६० प्रतिशत स्थान आफूले जित्ने ओलीले दाबी गरेका थिए । उनले ज्योतिषीको हवाला दिँदै वैशाख ३० पछि गठबन्धन नै भताभुंग हुने बताएका थिए ।

स्रोतका अनुसार मतपरिणामको प्रारम्भिक नतिजाअनुसार आफ्नै दाबी झुटो देखिएपछि उनी अहिले असन्तुष्ट छन् । निर्वाचनमा गठबन्धनबाट सत्ताको दुरुपयोग गरी धाँधली भएको ओलीले आफूनिकट नेतारूलाई बताउने गरेका छन् ।

‘निर्वाचनको परिणामलाई लिएर हामी अहिल्यै प्रतिक्रिया जनाउने पक्षमा छैन’, उनी निकट एक नेताले भने, ‘निर्वाचन परिणाम एमालेले अपेक्षा गरे अनुसार छैन । यसबारे छिट्टै बैठक बसेर समीक्षा गर्छौं ।’

विपक्षीप्रति कडा अभिव्यक्ति दिँदै आएका ओली मतगणना अवधिभर मौन देखिएका छन् । निर्वाचन परिणामबारे यसबीचमा ओलीको कुनै सार्वजनिक अभिव्यक्ति आएन । अन्तिमसम्म परिणाम नियालेपछि मात्रै बोल्ने सुरमा ओली छन् । महासचिव शंकर पोखरेलका तर्फबाट निर्वाचन अघि, निर्वाचनका क्रममा र मतगणनना क्रममा पनि धाँधली भएको विज्ञप्ति जारी भएको थियो ।

पाँचदलीय गठबन्धनविरूद्ध केही ठाउँमा राप्रपा र जसपाबाहेक एक्लै चुनावी मैदानमा उत्रिएको एमालेलाई ६ महानगर र ११ उपमहानगरमा ठूलो धक्का लाग्ने प्रारम्भिक नतिजाले देखाएको छ । कांग्रेस १२०, एमाले ६७, ६० स्थानीय तह जितको आसपास छन् ।

अग्रता पनि एमालेको भन्दा कांग्रेसको दोब्बर छ । ६ महानगरमध्ये भरतपुरमा झिनो मतले बेलाबेलामा एमालेले अग्रता लिंदै आएको छ । तर अरु पाँच महानगरमा एमालेलाई अग्रता लिएर जितसम्म पुग्न कठिन हुँदै गएको देखिन्छ । वैशाख २७ गते रातिबाट मौन अवधि लागु भएपछि शीर्ष नेताहरू फुर्सदिला देखिन्थे ।

त्यही दिन दिउँसो काठमाडौंको अन्तिम चुनावी सभालाई सम्बोधन गरेका ओली त्यसयता घरमै आराम गरिरहेका छन् । वैशाख २९ मा मौन अवधिकै समयमा उनले एमालेको आधिकारिक फेसबुकबाट गठबन्धनबाट षड्यन्त्र हुन सक्नेतर्फ सचेत गराउँदै कार्यकर्तालाई चनाखो हुन आग्रह गरेका थिए ।

३० गते बिहान भक्तपुर सूर्यविनायक नगरपालिका–२ स्थित मतदान केन्द्रबाट भोट हालेका थिए । त्यसैदिन मतदान सकिएलगत्तै अपरान्ह निर्वाचलाई लक्षित गरी विज्ञप्ति जारी गरे । विज्ञप्तिमार्फत गठबन्धनबाट षड्यन्त्र हुनसक्ने भन्दै कार्यकर्तालाई हाइ अलर्टमा बस्न आग्रह गरे ।

वैशाख ३१ रातिसम्म ६ महानगरसहित देशभरको प्रारम्भि मतपरिणामप्रति असन्तुष्ट रहेका ओलीले आइतबार महासचिवमार्फत विज्ञप्ति जारी गरी निर्वाचनमा धाँधली भएको आरोप लगाए ।

निर्वाचनमा सरकारले धाँधली गरेको, सत्ताको दुरुपयोग गरी निर्वाचन आयोग, पुलिस प्रशासनलाई आफ्नो पक्षपोषणमा प्रयोग गरेको आरोप लगाए । उनले मतपरिणामलाई आफ्नो पक्षमा पार्न गठबन्धनले निर्वाचन अघि नै तयारी गरेको विज्ञप्तिमार्फत आरोप लगाए ।

ओली अहिले घरमै बसेर आगामी दिनको योजना बनाइरहेका छन् । निर्वाचनको अन्तिम परिणाम आएपछि पार्टीको बैठक बोलाउने तयारी गरिरहेका छन् ।