NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपाल पे क्युआरको चमत्कार, अब राजश्व तिर्न लाइनमा बस्नुपर्दैन

काठमाडौं । विश्व डिजिटालाइजेशन भएसँगै हरेक सेवा र सुविधाहरू पनि डिजिटलीकरण भइरहेको छ । त्यसो त अहिलेको युगमा हरेक काम होस् या सेवा, चुस्त बन्दै गइरहेको छ । यी सबै प्रविधिको उपज मान्न सकिन्छ ।

नेपाल आफैंले पनि प्रविधिमा निकै ठूलै फड्को मारिसकेको छ । इन्टरनेटबाट बालबालिकाको स्कुल शुल्क बुझाउँदा होस् या एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्नुपर्दा नै किन नहोस्, अब ढुक्कले घरमै बसेर भुक्तानी गर्न सकिने भइसकेको छ । अनलाइन भुक्तानीको सुविधाले समयको बचत मात्र गराएको छैन, यसले मानिसलाई प्रविधिमा अभ्यस्त हुन सिकाइरहेको छ ।

हरेक दिन नयाँ–नयाँ प्रविधिको प्रयोग भइरहेको हुन्छ । सूचना तथा प्रविधिमा आएको विकासले मानिसको दैनिक जीवनमा पनि आमूल परिवर्तन आएको छ । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले राष्ट्र बैंकद्वारा प्रकाशित नेपाल क्युआर मापदण्डको कार्यान्वयन गर्न नेपाल पे स्वीचअन्र्तगको नेपाल पे क्यु आर सञ्चालन गरिरहेको छ । एनसिएचएलले गत फागुन २७ गतेबाट नेपाल क्युआर पे औपचारिक रुपमा सञ्चालनमा ल्याएको थियो ।

यसको उद्देश्य क्युआर योजना/नेटवर्क र इन्टरनेट कार्य लेनदेन र सेटलमेन्ट स्थापना र सञ्चालन गर्नु रहेको एनसिएचएलले जनाएको छ । नेपाल पे क्युआरले एक स्वतन्त्र क्युआर योजनाको रुपमा काम गर्दछ र क्युआर अन्तर सञ्चालनलाई व्यापारी स्तर र नेटवर्क स्तरमा अनुमति दिन्छ । बिएफआइएस र पिएसपिएसका ग्राहकहरूले अब नेपाल पे क्युआर सक्षम जारी गर्ने उपकरण (मोबाइल एप, वालेट र कनेक्ट आइपिएस) प्रयोग गरेर क्युआर स्क्यान गरेर नेपाल पे नेटवर्कमा क्युआर आधारित भुक्तानीहरू प्रारम्भ गर्न सक्छन् । नेपाल पे क्युआर स्क्यानिङमा हाल हिमालयन बैंक, सानिमा बैंक, समृद्ध फाइनान्सको मोबाइल बैंकिङ एप, फोकसवान पेमेन्ट सर्भिस र कनेक्ट आइपिएस मोबाइलमा उपलब्ध छन् ।

सरकारी राजस्व भुक्तानीको लागि नेपाल पे क्युआर

नेपाल क्युआर पेमार्फत सरकारी राजश्व भुक्तानी गर्न मिल्छ भन्नेबारे धेरै जनालाई जानकारी नहुन सक्छ । प्रविधिमा अप टु डेट हुनेलाई भने यो नयाँ कुरा हैन । धेरैले यसबाट लाभ लिइरहेका छन् । एनसीएचएलले हाल उपलब्ध गराउँदै आएको पेमेन्ट गेटवेमासमेत नेपाल पे क्युआर थप गरिसकेको छ । जसबाट उक्त क्युआर स्क्यान गरी मोबाइल बैंकिङ, वालेट, कनेक्ट आइपीएस लगायतबाटै सजिलै सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ ।

राजस्व तिर्न कनेक्ट आइपीएसको मोबाइल एप, नेपाल पे क्यूआर इनेबल भएका मोबाइल बैंकिङ एप वा वालेटबाट क्यूआर स्क्यान गरेर राजस्व भुक्तानी गर्न सकिने एनसीएचएलले जनाएको छ । एनसीएचएलको कनेक्ट आइपीएसबाटै नेपाल क्युआर पेमार्फत सरकारी भुक्तानी गर्न मिलेपछि सरकारी कार्यालय धाउनुपर्ने, लामो समय लाइन बस्नुपर्ने बाध्यतासमेत हटेको छ ।

कर बुझाउँदा आवश्यक विवरणसहित नियमअनुसारको राजस्व सम्बन्धित बैंक तथा वित्तीय संस्थामै गएर भुक्तानी गर्नुपर्ने झन्झट अब कसैले भोग्नु नपर्ने भएको छ ।

अहिले एनसिएचलले मात्रै सरकारको राजस्व भुक्तानी गर्ने अनलाइन व्यवस्था छ । कनेक्ट आइपीएसको पेमेन्ट गेटवे प्रयोग गरेर युजर पासवर्ड हुनेहरुले सजिलै राजश्व भुक्तानी गर्न सक्नेछन् । एनसिएचएलका अनुसार सरकारलाई तिर्नुपर्ने अधिकांश राजस्व नेपाल पे क्यूआरबाटै तिर्न सकिन्छ । आफ्नै वब पोर्टल भएकाहरुले सजिलै तिर्न सकिन्छ भने नभएकाहरुले पनि http://www.rajaswa.fcgo.gov.npमा गएर भुक्तानी गर्न सक्ने व्यवस्था छ ।

कुन च्यानलबाट राजस्व भुक्तानी गर्ने हो त्यही अनुसार राष्ट्र बैंकले तोकेको सीमामा रहेका राजस्व भुक्तानी गर्न सक्ने एनसीएचएलले जनाएको छ । सीमा भन्दा माथिको राजस्व भुक्तानी भने सम्बन्धित बैंकको शाखाबाट बुझाउन सकिने छ । एनसिएचएलका अनुसार अहिले क्युआरमा आधारित ट्रान्जेक्सनको सीमा प्रतिदिन प्रतिकारोबार अधिकतम २ लाखसम्को कारोबार गर्न सकिन्छ । ट्रान्जेक्सनको सीमा प्रति बैंक प्रति प्रयोगकर्ताको लागि लागू हुने कम्पनीले उल्लेख गरेको छ ।

सम्बन्धित बिएफआइएस वा पिएसपिएको आन्तरिक नीति अनुसार फरक सीमा हुन सक्छ । ट्रान्जेक्सनको सिमा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार परिवर्तन पनि हुन सक्छ । नेशनल पेमेन्ट स्वीचअन्तर्गत एनसीएचएलले ४० बैंक तथा वित्तीय संस्था, ६ भुक्तानी सेवा प्रदायकले सम्झौता गरिसकेको एनसिएचएलले जनाएको छ ।

नेशनल पेमेन्ट स्वीचअन्तर्गत नेपाल पे क्युआरलगायत भर्चुअल पेमेन्ट एड्रेसको आधारमा गरिने फन्ड ट्रान्सफर, डाइरेक्ट रिक्वेस्ट–टु–पे, एकाउन्ट टोकनाइजेसन र सेवावापतको भुक्तानी अन्तर आबद्धता, वालेट–टु–वालेट ट्रान्सफर र पीएसओ सेटलमेन्टजस्ता विभिन्न सेवा तथा उपकरण एनसीएचएलले उपलब्ध गराउँदै आएको छ ।

ती सेवा प्रदायकको माध्यमबाट क्युआर कोड स्क्यान गरी नेपाल पे क्युआरमा आधारित भुक्तानी गर्न सकिन्छ । यो सुविधा अन्य बैंक तथा वित्तिय संस्थाको मोबाइल बैंकिङ र पिएसपिएसको वालेटमा थपिदैँ जाने कम्पनीले जानकारी दिएको छ ।

एनसिएचलबारे छोटो जानकारी

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) नेपाल राष्ट्र बैंकको नेतृत्वमा ०६५ मंसिर २३ मा स्थापना भएको कम्पनी हो । बैंक तथा वित्तीय संस्थाहरूको दक्षता, उत्पादकता सुधार गर्न र ग्राहकलाई नवीनतम प्रविधिमा आधारित रहेर सेवा उपलब्ध गराउने काम एनसीएचले गर्दै आइरहको छ ।

एनसीएचएलले देशभित्र इलोक्ट्रोनिक भुक्तानी र वित्तीय लेनदेनको सुविधाको लागि एक राष्ट्रिय भुक्तानी गेटवे स्थापना गर्न दीर्घकालिन उद्देश्यसँग नेपालमा बहुभुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणाली स्थापना गर्ने यसले उद्देश्य बोकेको कम्पनीले जनाएको छ । साथै क्लियरिङ हाउसका अन्तर बैंक भुक्तानी, राफसाफ तथा फछ्र्योट प्रणाली, रियल टाइम ग्रोस सेटलमेन्टलगायतका सेवा दिने उद्देश्य छ । चेक राफसाफ गराउने, अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा दिनेलगायतका काम यसले गर्छ ।