NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

गाउँबासीले ममाथि गरेको भरोसालाई मर्न दिन्नँ : कान्छा पालिका अध्यक्ष [अन्तर्वार्ता]

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा २१ वर्षका उम्मेदवार विजयी भए ।
जसपाका उम्मेदवार रहेका वशिष्ठकुमार बुधबार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेसका अजयकुमारलाई ११७ मतान्तरले पराजित गरे । वशिष्ठले ३ हजार ७४३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी अजयले ३ हजार ६२६ मत पाए ।
४२ वर्षका अजयलाई पराजित गरी २१ वर्षका युवा गाउँपालिका अध्यक्ष बन्न सफल भएपछि अहिले उनको चौतर्फी चर्चा छ । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको मतपरिणाम अनुसार पालिका प्रमुखमा निर्वाचित हुने उनी नै पहिलो कान्छा अध्यक्ष हुन् ।
भारतको देहरादुनमा बसेर पढेका वशिष्ठ पटना विश्वविद्यालयबाट बिबिए पढाइ सकाएर ९ महिना अघि घर फर्किका थिए । यसअघि कुनै पार्टीको संगठनमा आबद्ध नभएपनि वशिष्ठका परिवार सदस्य सबै राजनीतिमा छन् । २१ वर्षको उमेरमा गाउँपालिका अध्यक्ष बन्न सफल भएका वशिष्ठसँग आगामी योजना, कार्यक्रम र अनुभवबारे नेपालवाचका सहकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् :

भर्खर किशोर अवस्था पार गरेको तपाईं गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो कस्तो अनुभव गर्दै हुनुहुन्छ ?

म धेरै खुशी छु । जनताले मलाई विश्वास गरेका छन् । मतदाताकै आशीर्वादले म अध्यक्षमा निर्वाचित भएँ । जिम्मेवारी पूरा गर्ने ठाउँमा आएको छु । अब त्यो पूरा गर्नतिर लाग्छु ।

सानै उमेरमा गाउँपालिकाको अध्यक्ष बन्छु भन्ने सोच तपाईंलाई कहिले र किन आयो ?

गाउँपालिकाको अध्यक्ष बन्ने सोच त धेरै पहिलेदेखि आएको हो । मेरो परिवारका सबै सदस्य राजनीतिमा छन् । राजनीति मेरो पनि चाहना र रुचिको विषय हो । समाजसेवा गर्नका लागि म राजनीतिमा आएको हुँ । तपाईं २१ वर्षको हुनुहुन्छ । यो उमेरलाई परिपक्व उमेर मानिंदैन । अनुभव नभएको व्यक्ति एकैपटक गाउँपालिका अध्यक्षको जिम्मेवारी बोक्दा कत्तिको चुनौती हुने ठान्नुभएको छ ।

म भारतमा अध्ययन पूरा गरी आएको व्यक्ति हुँ । त्यहाँ २१ वर्षमा आइएस, आइपिएस ट्रेनिङ हुन्छ । त्यो धेरै ठुलो पोष्ट हो । म आफ्नै घर फर्किएर आएको छु । समाजबाट केही सिक्छु । मेरो गाउँपालिकामा धेरै बुद्धिमान व्यक्तिहरू छन् । उनीहरूसँग परामर्श गर्छु । मेरो परिवारका सदस्यहरू पनि राजनीतिमा छन् । उहाँहरू सबैको सहयोगमा गाउँपालिका चलाउँछु ।

के भन्छन् तपाईंलाई जिताउने मतदाताहरू ?

मतदाताहरूकै समर्थनमा म अध्यक्षमा निर्वाचित भएको हुँ । म निर्वाचित भएकोमा धेरै खुशी छन् । उहाँहरूको अपेक्षा धेरै छ । विगत पाँच वर्षमा केही भएन । यो गाउँपालिका विकासको दृष्टिकोणले धेरै पिछडिएको छ । गाउँबासीलाई धेरै दुःख छ । मप्रति उहाँहरूको धेरै विश्वास छ । उहाँहरूको आशालाई मर्न दिन्नँ । मन र मस्तिष्कमा राखेर कालिकामाईलाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने मेरो चाहना छ ।

तपाईं पढेलेखेको एक शिक्षित युवा हुनुहुन्छ । गाउँपालिकामा समस्या र चुनौती के–के देख्नुभयो ?

यहाँ शिक्षा, स्वास्थ्यमा धेरै सुधार गर्नुपर्ने छ । अस्पताल छन्, राम्रा डाक्टर छैनन् । एबिबिएस डाक्टर यहाँ राख्नु छ । खेलकुदमा पनि धेरै विकास गर्नुपर्ने छ । खेल्नको लागि राम्रो समाग्री छैन । सडक, खानेपानी, विद्युतीकरण, कृषि फार्म, भौतिक संरचना लगायत धेरै सुधार गर्नुपर्ने छ । हामीसँग घोषणापत्र पनि छ, त्यो घोषणापत्रको आधारमा सुधारका काम अगाडि बढ्नेछ ।

पहिला जो उम्मेदवार थिए, उनीहरूले केही गर्न सकेनन् । गाउँमा विकास भएन । जनताले धेरै दुःख पाए । विगतको कामबाट जनता कोही खुशी छैनन् । तिनै जनताले मलाई समर्थन र विश्वास गरे ।

तपाईं आफ्नै स्वविवेकले राजनीतिमा आउनुभयो कि कसैले आग्रह वा आवश्यतामा राजनीतिमा होमिनुभयो ?

मेरो परिवार पुरै राजनीतिमा छन् । अध्ययन पूरा भएपछि राजनीतिमा आउने मेरो पहिल्यैदेखिको सोच हो । राजनीति मेरो रुचिको विषय पनि हो । गाउँ र समाजको सेवा गर्न आएको हुँ ।

तपाईं योभन्दा अगाडि कुनै पार्टीको सदस्य वा संगठनामा हुनुहुन्थ्यो ?

छैन । म अध्ययनको शिलशिलामा भारतको पटनामै थिएँ । त्यहाँको अध्ययन पूरा गरी म ९ महिनाअघि घर फर्किको हुँ । मलाई पहिल्यै देखि नै यहाँका जनताले भविष्यको उम्मेदवारको रूपमा हेरेका थिए । जनताको चाहना र मेरो रुचिले अध्यक्षको उम्मेदवार बनेको हुँ । आठ महिना पछि आएर राजनीतिमा लाग्यो भन्ने होइन । अध्ययन पूरा गरेर राजनीतिमा आउँछु भन्ने सोच थियो । अध्ययन सकेर आउँदा अलि ढिला भयो ।

सुरूमा एक युवालाई पार्टीले उम्मेदवार बनाउँदै गर्दा आम मतदाताको प्रतिक्रिया कस्तो आएका थिए ?

त्यस्तो केही भएन । पहिला जो उम्मेदवार थिए, उनीहरूले केही गर्न सकेनन् । गाउँमा विकास भएन । जनताले धेरै दुःख पाए । विगतको कामबाट जनता कोही खुशी छैनन् । तिनै जनताले मलाई समर्थन र विश्वास गरे । यो पढेलेखेको भर्खरको युवा छ, यसले नराम्रो गर्दैन भन्ने उहाँहरूको विश्वास ममाथि खनियो । आम मतदाताकै विश्वासले म आज गाउँपालिकाको अध्यक्ष भएको छु् । म उहाँहरूको विश्वास टुट्न दिने छैन ।

तपाईंको उमेर भनेको पढ्ने, घुमफिर गर्ने उमेर हो । विदेशबाट भर्खर अध्ययन पूरा गरेर आउनुभएको छ । गाउँपालिकाको अध्यक्ष बन्दै गर्दा नियम, कानुनमा बाँधिनु पर्ने हुन्छ । राजनीति पनि नगरेको तपाईंले कामलाई कसरी अगाडि बढाउनुहुन्छ ?

भारतमा २१ वर्षमा आइएसको ट्रेनिङ लिन सक्षम हुन्छन्, मैले गाउँपालिका चलाउन किन नसक्ने ? म एक्लै अगाडि बढ्ने पनि होइन । विद्यामान नियम, कानुन, निर्देशन र मार्गदर्शनलाई आफ्नो दिमागमा राखेर गाउँपालिकालाई अगाडि बढाउँछु ।

अबको पाँच वर्षमा तपाईं गाउँपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?

यो गाउँ हो । पहिला म खेती किसानीलाई ध्यान दिन्छु । यहाँ खाद, बिउ पाउँदैन । त्यसलाई बजेट छुट्याएर समस्यको हल गर्नेछु ।
दोस्रो स्वास्थ्यमा समस्या छ । गाउँपालिकामा तीन–चार वटा ठुला–ठुला अस्पताल छन् । तर डाक्टरहरू छैनन् । गाउँबासीलाई केही भए बाहिर लैजानुपर्छ । स्वास्थ्यमा केही सुधार छैन । एमबिबिएस डाक्टर राख्न पहल गर्नेछु । सबै किसिमका रोगका उपचार गाउँपालिकामै गर्ने मेरो सोच छ । त्यो म गर्छु । तेस्रोमा खेलकुद छ । युृवाहरूको धेरै चाहना छन् । यहाँ खेलकुदको कुनै सुविधा छैन । जिम हल छैन । क्रिकेट मैदान छैन । खेल्नका लागि सामग्री छैन । त्यो उपलब्ध गराउनेछु ।

युवाको सक्रियता र जेष्ठ नागरिकको अनुभवलाई मिलाएर काम गर्न सकेमात्र सम्बन्ध बलियो हुन्छ । यी दुवैको अनुभवलाई गाउँपालिकाको विकासमा लगाउँने छु ।

त्यस्तै गाउँमा रोडको आवश्यक छ । मेरै वडाको कुरा गर्दा पाँच सालमा केही भएको छैन । विकासको नाममा बजेटलाई व्यक्तिगत लाभमा प्रयोग गरियो । बजेट १०० प्रतिशतमा २५ प्रतिशत काम गरेको जस्तो गर्ने बाँकी आफ्नै खल्तिमा गयो । म यो प्रवृत्तिको अन्त्य गर्नेछु । पालिकालाई रोडको कनेक्टिभिटी बनाउँछु । गाउँगाउँ सोलार विद्युतीयकरण गर्नेछु । खानेपानी, नहरहरू बनाउँने छु ।

एउटै व्यक्ति वर्षौसम्म कार्यकारी पदमा दोहोरिने प्रवृत्तिलाई तपाईंले तोड्नु भएको छ । युवा र जेष्ठ नागरिकको अनुभवलाई कसरी तालमेल गर्नुुहुन्छ ?

हामीलाई दुवै अनुभव चाहिन्छ । युवाको सक्रियता र जेष्ठ नागरिकको अनुभवलाई मिलाएर काम गर्न सकेमात्र सम्बन्ध बलियो हुन्छ । यी दुवैको अनुभवलाई गाउँपालिकाको विकासमा लगाउँने छु । म उमेरले युवा छु, मलाई युवाले धेरै समर्थन गरेका छन् । सबैलाई मिलाएर लैजाने जिम्मा मेरो हो ।