NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

तुलसीपुर उपमहानगरको एउटै वडामा नौ सय मत बदर

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाको एउटै वडामा ९०६ मत बदर भएका छन् । तीन हजार ७४१ मत खसेकामा ९०६ मत बदर भएको हो । बदर भएको उक्त मत उपप्रमुखको हो ।

तुलसीपुर-५ बाट उक्त मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालले बताए । उनका अनुसार यो बदर मत अत्यधिक हो ।

त्यस्तै तुलसीपुर-४ बाट पनि त्यत्तिकै मत बदर भएका छन् । त्यस्तै चार हजार १७७ मत खसेको तुलसीपुर-४ बाट ८६१ मत बदर भए । तुलसीपुर-१ बाट ३९६, तुलसीपुर-२ बाट ३६४ मत बदर भएका छन् ।

यसपटक धेरै दलको गठबन्धन भएको र एउटै पदमा धेरै छाप लगाएकाले धेरै बदर रहेको उनले बताए ।