NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

राप्ती लोकमार्गको कपुरकोट-तुलसीपुर सडकखण्ड बन्द

सल्यान । सल्यानको कपुरकोट-तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा१ख ११२३ नंको टिपरले रा१प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय आकाश सेनको उपचारका क्रममा प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि क्षतिपूर्ति दिइनुपर्ने भन्दै प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरुद्ध पारिएको हो ।

घटना भएको तीन दिन बितिसक्दा पनि घोराही सिमेन्द्र प्रालि र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडकमा मुढा राखेर अवरुद्ध पारिएको हो ।

मृतकका आफन्तले घटनामा संलग्न व्यक्तिहरू सम्पर्कमा नआउँदासम्म शव परीक्षण गर्न नदिने अडान लिएपछि शव प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ ।

सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । तुलसीपुरबाट सल्यान आउने तथा रुकुम-सल्यानबाट दागतर्फ जाने सवारीसाधन कपुरकोटमै राखिएको स्थानीय जितप्रसाद आचार्यले जानकारी दिए । प्रहरीले भने ठक्कर दिने टिपर र चालकलाई नियन्त्रण लिएको जनाएको छ ।