NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पर्वतका ६१ वडाध्यक्षमा महिलाको संख्या शून्य

पर्वत । पर्वत जिल्लाको सात स्थानीय तहका ६१ वटा वडाध्यक्षका पदमध्ये कुनैमा पनि महिला निर्वाचित हुनसकेका छैनन् । सबै वडाध्यक्षमा पुरुष नै निर्वाचित भएका हुन् ।

विहादी गाउँपालिका–१ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी विष्णु खड्का र कुश्मा नगरपालिका–११ पकुवामा गठबन्धनबाटै माओवादी केन्द्रकी लीला दबाडी उम्मेदवार बनेकी थिइन् । जिल्लाभर दुई जनामात्रै वडाध्यक्षको उम्मेदवार बने पनि पराजित भएका थिए ।

विहादी १ मा नेकपा (एमाले) का चित्रबहादुर गुरुङसँग खड्का पराजित भएकी हुन् भने कुश्मा–११ मा पनि एमालेकै बाबुराम पौडेलसँग दबाडी पराजित भएकी हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा कुश्मा–४ र ५ मा नेपाली कांग्रेसको तर्फबाट क्रमशः मीना कर्माचार्य र चित्रकला शर्मा भारती निर्वाचित भएका थिए ।

यसपटक भने वडाध्यक्षमा महिलाको सहभागिता शून्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । महिला उम्मेदवारको सङ्ख्या नै कम रहेको र महिला उठेका पनि विजयी हुन नसकेकाले ६१ वडाका अध्यक्षमा महिलाको प्रतिनिधित्व हुन नसकेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए ।

जिल्लामा एउटा पालिकाले भने महिला नै प्रमुख पाएको छ । मोदी गाउँपालिकामा एमालेको तर्फबाट उम्मेदवार बनेकी हीरादेवी शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन् । उक्त गाउँपालिकामा एमालेकै उम्मेदवार बिमल लामिछाने पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । गठबन्धनका कारण प्रमुख र उपप्रमुखमा जलजला गाउँपालिकाले महिलालाई पाउन सकेन ।

जलजलाको अध्यक्ष र उपाध्यक्षमा दुवै पुरुष निर्वाचित भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका राजु आचार्य र माओवादीबाट उपाध्यक्षको उम्मेदवार बनेका दीपक आचार्य विजयी भएपछि उपाध्यक्षमा महिलाको स्थान गुमेको हो । जिल्लाका बाँकी पाँच स्थानीय तहमा भने उपप्रमुख/उपाध्यक्ष महिलानै विजयी भएका छन् ।

फलेवास नगरपालिकामा माओवादी केन्द्रबाट शोभा क्षेत्री, विहादीमा एमालेकी मीना तिवारी, पैंयू गाउँपालिकामा एमालेकै यामकुमारी राना र महाशिला गाउँपालिकामा पनि एमालेबाटै उम्मेदवार बनेकी धनशोभा विक विजयी भएकी हुन् । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकामा महिला उपप्रमुख वा उपाध्यक्ष हुन्, भने बाँकी दुई पालिकामा पुरुष उपाध्यक्षमा निर्वाचित भएका छन् ।