NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?

थप प्रभावकारी बनाउन नयाँ स्किम

काठमाडौं । डिजिटल भुक्तानीको चासो दिनप्रतिदिन बढ्दै गएको छ । अझ पछिल्लो समय विश्वर फैलिएको कोरोना भाइरसका कारण अनलाइन भुक्तानी थप विस्तार भएको छ । अनलाइनबाटै भुक्तानी गर्दा ग्राहकलाई मात्र फाइदा नभएर व्यवसायलाई पनि यसले उत्तिकै फाइदा पु¥याइरहेको हुन्छ । यसैले गर्दा पनि अहिले हरेक मानिस प्रविधिमै निर्भर हुन थालेका छन् ।

अहिले हरेक चीजको भुक्तानी अनलाइनबाटै हुन थालको छ । प्रविधि यति अघि बढिसक्यो कि, अब खाना अर्डर अनलाइनबाटै, बैंकिङसम्बन्धी सबै सेवा अनलाइनबाटै, बच्चाको स्कुल फि, पानीको बिल, बत्ती, इन्टरनेटको बिललगायत हरेक बिल घरमा बसी–बसी तिर्न सकिने सुविधाको विकास भइसकेको छ । त्यस्तैमा पछिल्लो समय अनलाइनबाटै बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सुविधा पनि विकास भएको छ ।

बीमा कम्पनीहरूले कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी अनलाइनबाटै व्यवस्था गरेका छन् । अनलाइनबाटै बीमा कम्पनीहरूको प्रिमियम भुक्तानीका लागि धेरै समय अघि नै नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले बीमा संस्थानसँग सम्झौता गरिसकेको हो । केही दिन अघि भने बीमा कम्पनीहरूको लाइसन्स रिन्यूबापतको भुक्तानी, एजेन्टहरूको शुल्क भुक्तानीलगायतका भुक्तानी सेवा पनि अनलाइनबाटै गर्नका लागि बीमा समितिसँग क्लियरिङ हाउसले सम्झौता गरेको छ ।

क्लियरिङ हाउसले कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सुविधाको विकास भएसँगै त्यसलाई थप प्रभावकारी बनाउनका लागि नयाँ स्किम सुरु गरेको छ ।

बीमा समितिले बीमा कम्पनीहरूलाई कम्पनी दर्ता गराएबापतको शुल्क, बीमा एजेन्टहरूको हरेक वर्ष लाइसन्स रिन्यू गर्दा शुल्क लिन्छ । बीमा समितिलाई गरिने यस्ता भुक्तानीहरूलाई भर्खरै क्लियरिङ हाउसले सम्झौता गरेर कारोबार अगाडि बढाएको हो ।

डिजिटलबाटै बीमाको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्थासँगै अब लाइनमा बस्नुपर्ने र कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको क्लियरिङ हाउसका सिइओ निलेशमान सिंह बताउँछन् । यसभन्दा अघि पनि अनलाइनबाटै दाबी भुक्तानी, एजेन्ट कमिसन तलब, भेण्डर भुक्तानी, लगानीलगायतका विभिन्न कारोबार बैंक खाताबाट सोझै कनेक्ट आइपिएसमार्फत गर्न सकिने सुविधा भएको उनले जानकारी दिए ।
यी व्यवस्थाबाहेक बीमा एजेन्टहरूको कमिसन तिर्ने सुविधा भने भर्खरै बीमा समितिसँग सम्झौता गरिसकेपछि सुरु भएको हो । यो सुविधा सबै जीवन बीमा र नीर्जीवन बीमा कम्पनीमा लागू हुने पनि उनले बताए ।

कनेक्ट आइपिएसार्फत भुक्तानी कति सुरक्षित ?

बीमा गर्ने भनेकै सुरक्षाका लागि हो । आर्थिक जोखिमको हस्तान्तरण पनि हो । आर्थिक जोखिमको हस्तान्तरण गर्दा बीमाबाट फाइदा लिन सकिन्छ । अर्को जीवनको जोखिम हस्तान्तरण गर्नु पनि हो । मानिसको जीवनमा कतिखेर के हुन्छ, थाहा हुँदैन । जुनसुकै बेला दुर्घटना हुन सक्छ । आकस्मिक रुपमा परिवारमा कसैको मृत्यु भयो भने परिवारमा आर्थिक भार पर्न जान्छ । यस्तो बेलामा बीमाले सहयोग गर्छ । यीबाहेक धेरै कुराका लागि बीमा आवश्यक र सुरक्षित रहेको सिइओ प्रधान सुनाउँछन् ।

भविष्यमा भैपरी आउने जोखिमबाट सुरक्षाको लागि बीमा गरिन्छ भने, बीमाको पोलिसी किनेबापत् तिर्नुपर्ने भुक्तानीमा पनि सुरक्षिता अपनाउनु उत्तिकै जरुरी हुन्छ ।

कतिले कनेक्ट आइपिएस चलाउन जानेकै हुँदैनन् । कनेक्ट आइपिएस चलाउन नजान्दा कयौँ बीमित बीमा कम्पनीको शाखा कार्यालयमै धाएर भुक्तानी गरिरहेका छन् । कहिलेकाही आफ्नै नजिकका व्यक्तिहरूलाई पैसा दिएर भुक्तानीका लागि पठाउँदा सुरक्षितको हिसाबले पनि कम प्रभाकारी देखिन्छ । नजिकका व्यक्तिमा भरोसा गरेर बीमाको प्रिमियम भुक्तानीका लागि पठाउँदा नतिरेर बदमासी गर्न सक्छन् । यसो हुँदा एकातिर आफ्नो पैसा हराउने र अर्कोतिर थप जरिवना व्योहोर्नुपर्ने हुन्छ ।

सिइओ प्रधानका अनुसार अहिले पनि मानिसहरू नगद कारोबार गरिरहेका हुन्छन् । उनले भने, ‘साधारणतया मानिसहरूले अहिले पनि नगदै कारोबार गरिरहेको देख्छु, चेक प्रयोग गरिरहेको हुन्छु । उनीहरूले कि त बैंकमा गएर पैसा जम्मा गर्नुहुन्छ, कि कुनै एजेन्टमार्फत भुक्तानी गरिरहेका हुन्छन् । यो सुरक्षाको हिसाबले त्यति प्रभावकारी देखिँदैन । साथै समय बढी लाग्छ ।’

तर डिजिटल भुक्तानी गर्दा भने यस्ता समस्या भोग्नु नपर्ने सिइओ प्रधानको भनाइ छ । पोलिसी किनेबापतको प्रिमियम समयमै तिर्दा ढिला नहुने र पोसिलीको पनि कभर भइरहन्छ । ‘अनलाइनबाटै तिर्ने हो भने न लाइन लाएर बस्ने झन्झट हुन्छ, नत ढिला हुन्छ भन्ने हुन्छ,’ उनले भने ।

त्यस्तै क्लियरिङ हाउसमै आबद्ध अमृत अधिकारी पनि कनेक्ट आइपिएसबाटै प्रिमियम भुक्तानी गर्दा प्रभावकारी हुने औल्याउँछन् । उनका अनुसार यो एप्लिकेसन प्रयोगकर्ताले अनलाइनबाटै भुक्तानी गर्दा ढुक्कको महसुस गर्ने, पैसा लोड गर्नु नपर्ने र आफ्नो बैंक खाताबाट सिधै इन्स्योरेन्सको खातामा पठाउन सकिने हुँदा यो सेवा सबैले लिन आग्रहसमेत गरे । यति मात्रै नभएर कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी गर्दा कम शुल्क लाग्ने, कारोबार गर्दा समय–समयममा विभिन्न अफर र सुविधा पाउने पनि अधिकारीले जनाए ।

बीमाको प्रिमियम भुक्तानीमा थप प्रभाकारी बनाउन नयाँ स्किम

क्लियरिङ हाउसले कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी गर्न सकिने सुविधाको विकास भएसँगै त्यसलाई थप प्रभावकारी बनाउनका लागि नयाँ स्किम सुरु गरेको छ । क्लियरिङ हाउसले जेठ १ गतेबाट कनेक्ट आइपिएमार्फत बीमाको प्रिमियम भुक्तानी गर्दा साप्ताहिक रुपमा ५ सय रुपैयाँ क्यास ब्याक वितरण गर्ने नयाँ स्किम सुरु गरेको हो । एनसिएचलका अनुसार उक्त योजना असार ३२ गतेसम्म सञ्चालन हुनेछ ।

यो स्किम सुरु भएसँगै अब बीमितले कनेक्ट आइपिएसमार्फत बीमाशुल्क भुक्तानी गर्दा योजनाअवधिभर ५ सय रुपैयाँ क्यास ब्याक पाउने भएका छन् । कनेक्ट आइपिएसले बीमा भुक्तानीमा पहिलो १०० जनालाई ५ सय रुपैयाँ क्यास ब्याक दिने स्किम ल्याएको हो ।

कम्पनीले ‘लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गरी बनौं सुरक्षित कनेक्ट आइपिएसमा हरेक हप्ता १०० जनालाई ५ सय रुपैयाँ छ निश्चित’ भन्ने नारासहित यो योजना ल्याएको सिइओ प्रधानले स्पष्ट पारे । जेठ १ गतदेखि लागु हुने गरी प्रत्येक सोमबार हप्ताको अन्त्यमा (आइतबारदेखि बिहीबार) कनेक्ट आइपिएस (मोबाइल एप, वेब एप्लिकेसन वा भुक्तानी गेटवेसँग सम्बन्धित जीवन बीमा कम्पनीको वेबसाइटमा उपलब्ध) प्रयोग गरी भुक्तानी गरेका प्रयोगकर्ताहरूमध्ये साप्ताहिक विजेताहरूको घोषणा गरिने कम्पनीले जनाएको छ ।

स्किम ल्याउनुको उद्देश्य

अहिले डिजिटल पेमेन्ट बढिरहेका छन् । सिइओ प्रधानका अनुसार त्यसमा पनि सबैभन्दा बढी कारोबार हुने भनेकै जनरल पब्लिक, बैंकका ग्राहकहरू, बीमा कम्पनी, कलेजलगायत हुन् । यी ठाउँहरुमा नियमित रुपमा शुल्क भुक्तानी गरिरहनुपर्छ । यसरी नियमित हुने कारोबारलाई एक-दुई पटक अनलाइनबाटै कारोबार गराएर ग्राहकलाई बानी पार्न सकियो भने कारोबारलाई डिजिटलमा रुपान्तण गर्न सकिने उनको भनाइ छ । ग्राहकलाई ‘रिजन टु पे डिजिटल’ भन्ने उद्देश्यसहित बीमा क्षेत्रलाई केन्द्रित गरेर यो योजना ल्याएकोे सिइओ प्रधान सुनाउँछन् ।कनेक्ट आइपिएसमार्फत प्रिमियम भुक्तानी भएसँग यसलाई थप प्रोमोट होस् भनेर यो सेवा सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

अधिकारी भने कनेक्ट आइपिएसको ग्राहक संख्या बढाउनको लागि र पुरानै प्रयोगकर्तालाई थप हौसला प्रदान गर्नका लागि यो स्कीम सञ्चालनमा ल्याएको बताउँछन् ।

यसका साथै युजरलाई थप एक्टिभ बनाउन, समयमै बीमा भुक्तानी गर्नका लागि ग्राहकलाई प्रात्साहित गराउनमा लागि पनि यो स्किम सञ्चालनमा ल्याएको उनको भनाइ छ । उनका अनुसार यो योजनाबाटै हजारौँ ग्राहक लाभान्वित हुनेछन् ।

कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम तिर्ने तरिका :

कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । कतिले कनेक्ट आइपिएस नचलाएका पनि हुन सक्छन् । तर कनेक्ट आइपिएसबाट विभिन्न इन्स्योरेन्स कम्पनीहरूको प्रिमियम भुक्तानी गर्न गा¥हो छैन । एकपटक सिकेपछि जो–कोहीले पनि सजिलै भुक्तानी गर्न सक्छन् ।

कनेक्ट आइपिएसबाट बीमाको प्रिमियम भुक्तानी गर्न सर्वप्रथम कनेक्ट आइपिएस डटकममा आफ्नो युजर नेम र पासवर्ड प्रयोग गरी कनेक्ट आइपिएसमा लग इन गर्नु पर्नेछ । लग इनगरेपछि बाँयापट्टिको मेन्यूमध्ये फाइनान्सियल इन्स्टिच्युसनमा रहेको इन्स्योरेन्स छनोट गरी त्यसभित्र रहेका कम्पनीमध्ये आफूले प्रिमियम भर्न लागेको इन्स्योरेन्स कम्पनीलाई छनोट गर्न सकिनेछ । अब भुक्तानी गर्ने बैंक खाता छनोट गरी मागिएको आवश्यक विवरण भरेर ट्रान्सफरमा क्लिक गर्नु पर्नेछ ।

स्क्रिनमा सोधिए बमोजिम आफूले सेट गरिएको ट्रान्जेक्सन पासवर्ड वा आफ्नो मोबाइल तथा इमेलमा प्राप्त ओटिपी प्रयोग गरी सबै विवरण राम्रोसँग रुजु गरी सम्मिट बटनमा क्लिक गर्नु पर्नेछ । भुक्तानी सफल भएको सूचना प्राप्त गरेसँगै कनेक्ट आइपिएसमार्फत इन्स्योरेन्स भुक्तानी सजिलै हुनेछ । कनेक्ट आइपिएसका अरु सेवा जस्तै यो सेवा कनेक्ट आइपिएसको मोबाइल एपबाट पनि चलाउन सकिनेछ ।