NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

पाण्डेलाई ५ दिन थुनामा राख्न अदालतको आदेश

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

शनिबार पक्राउ परेका पाण्डेविरुद्ध प्रहरीले मानव बेचविखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसुरमा दुईवटा जाहेरी दर्ता गरेको छ । बलात्कार आरोप लागेका लागेका पाण्डेविरूद्ध हदम्याद सकिएकाले मानव बेचविखनकाे मुद्दा दर्ता गरिएकाे हाे ।

मिस ग्लोबल प्रतियोगिताका क्रममा एक नाबालिगलाई नशालु पदार्थ खुवाई होटलमा लगेर बलात्कार गरेको आरोप लागेपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डे पक्राउ परेपछि अर्की किशोरी पनि प्रहरीसमक्ष पुगेकी थिइन् ।

सौन्दर्य प्रतियोगिताको क्रममा बलात्कार भएको भन्दै टिकटकबाट घटना सार्वजनिक गरेकी युवतीको जाहेरी मानव बेचविखन तथा ओसारपसार र अर्की पीडित किशोरीको जाहेरी बालबालिकाविरूद्धको कसुरअन्तर्गत दर्ता गरिएको छ ।

घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा र देशका विभिन्न सहरमा दोषीको कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो ।

योसँगै बिहीबार सांसदहरूले संसदमा कुरा उठाएपछि सरकारलाई छानबिन गर्न सभामुख अग्नी सापकोटाले निर्देशन दिएका थिए ।

घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेर अनुसन्धान अघि बढाएको थियो । पाण्डेलाई प्रहरीले शनिबार स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो ।

 

पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसुरमा मुद्दा दर्ता