NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पुरुषको दाह्री र कपालको निगरानी गर्न खटिन्छन् तालिबानका ‘नैतिक प्रहरी’

काठमाडौं । लामो सेतो गाउन लगाएका अफगानिस्तानको सदाचार प्रवर्धन तथा दुष्कर्म नियन्त्रण मन्त्रालयका इन्स्पेक्टर ‘नैतिक पुलिस’ भन्दा पनि खाद्य गुणस्तर निरीक्षक जस्तो देखिन्छन् ।

तालिबानका कट्टरपन्थी विचारबाट प्रेरित भएर अफगानिस्तानको ‘इस्लामिक पहिचान’ निर्माण गर्ने प्रयासमा उनी अग्रपंक्तिमा छन् ।

सरकारमा उनको भूमिका उनको पदमा मात्र सीमित छैन । राजधानी काबुलका पसलहरू केही समयअघिको घटना सम्झँदै भन्छन्, ‘जब यी इन्स्पेक्टरहरू व्यापारीक भवनको निरीक्षणका लागि गएका थिए, त्यतिबेला उनीहरूले हरेक सामान उठाएर जाँच गरिरहेका थिए ।’

तिनीहरूले उत्पादनको म्याद सकिएको छ कि भनेर जाँच गरिरहेका थिए । यसका साथै पसलमा लगाइएका महिलाको पोस्टर पनि हटाउने उनीहरुको प्रयास थियो ।

यद्यपि अहिलेसम्म सबै पोस्टर हटाइएको छैन । गोलाकार अनुहार भएका र चश्मा लगाएका २५ वर्षीय धर्मगुरु महमूद फतेहले उक्त समूहको नेतृत्व गरेका थिए । उनी निरीक्षकहरूको यो समूहमा सबैभन्दा कान्छो थिए र मदरसाका विद्यार्थी थिए ।

त्यहाँका व्यापारीलाई सम्बोधन गर्दै उनले प्रार्थनाको महत्त्व र ठूलो दाह्री राख्नुको बारेमा लामो व्याख्या गरे । उनले, ‘दाढी राख्नु भनेको पैगम्बर मुहम्मदमा विश्वास गर्नु हो’ भन्ने सल्लाह दिए । उनले हाँस्दै भने, ‘यसका धेरै फाइदा छन् ।’ यसपछि साथी इन्स्पेक्टरहरूलाई औंल्याउँदै उनले भने, ‘यी धर्मगुरुका दुई-तीनवटा श्रीमती छन्, यो ऊर्जाको स्रोत हो ।’

शपिङ सेन्टरको अनुगमन सकेर निरीक्षकहरू एउटा ट्रकको पछि बसेर बसपार्क पुग्छन् । गुडिरहेका गाडी रोक्दै उनीहरू पुरुषहरू महिला यात्रुसँग नजिक बसेका छन् कि छैनन् त्यसको जाँच गर्छन् । उनीहरूले महिलाहरूलाई सीटमा बस्न दिए नदिएको पनि अनुगमन गर्छन् । महिलाहरूले हिजाब लगाएको नलगाएको अनुगमन गर्छन् ।

तर अफगानिस्तानमा महिलाले कस्तो पहिरन लगाउने भन्ने मन्त्रालयको नयाँ अध्यादेशले यस मन्त्रालयमा सारा विश्वको ध्यानाकर्षण गरेको छ । यसको चर्को आलोचना पनि भइरहेको छ । यस महिनाको सुरुमा, तालिबानले अफगानिस्तानमा महिलाहरूले सार्वजनिक रूपमा आफ्नो अनुहार छोप्नु पर्ने आदेश जारी गरेको थियो । तालिवानको आदेशअनुसार अफगानिस्तानमा काम गर्न चाहने महिलाले आफ्नो अनुहार छोप्नु पर्छ, यदि कुनै महिलाले यो नियम बारम्बार तोड्छन् भने, उनका पुरुष पार्टनर जेल जानुपर्छ ।

अफगानिस्तानमा आर्थिक संकट

अफगानिस्तान गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ, तर वर्तमान सरकारले यस दिशामा कुनै विशेष कदम चालेको देखिँदैन । उनीहरु केवल उनी सामाजिक परिवर्तनमा बढी सक्रिय छन् ।

तालिबानले हालै जारी गरेको आदेशमा महिला र पुरुषलाई पार्कमा जानको लागि छुट्टाछुट्टै दिन तोकिएको छ । यसबाहेक महिलालाई लामो दुरीसम्म एक्लै यात्रा गर्न निषेध छ । त्यहाँका स्थानीयहरू भन्छन्, ‘उनीहरूले क्रमशः प्रतिबन्धहरू एक एक गरी लागू गर्दैछन् । हामी विश्वस्त छौं, उनीहरूले वर्तमान युगलाई सन् १९९० को दशकमा जस्तै बनाउनेछन् ।’

उनीहरुले अहिले महिलाले हिजाब लगाउनुपर्ने नियम बनाएका छन् र एक दिन उनीहरुले महिलालाई घरबाट बाहिर निस्कन नपाउने कानुन ल्याउँछन् भन्नेमा उनीहरु विश्वस्त छन् । विशेष गरी धार्मिक मामिलाका लागि बनाइएको अफगानिस्तानको यो मन्त्रालयले समाजबाट नैतिक भ्रष्टाचार हटाइरहेको दाबी गरेको छ ।