NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

मेरो अन्तिम कार्यकाल हो, एक सेकेण्ड पनि खेर फाल्दिनँ : रेनु दाहाल

काठमाडौं । भरतपुर नगरपालिकाकी नवर्निचित मेयर रेनु दाहालले यो निर्वाचनमा आफूले आस नगरेको मत आएको बताएकी छिन् ।

मंगलबार चुनाव जितेपछि पत्रकारहरूसँगको भेटघाटमा आफ्ना अनुभव साट्दै उनले आफ्ना प्रत्यासीसँगको मतान्तर न्यूनतम तीन हजार र बढीमा सात हजार हुने सोचेको बताइन् । तर, दाहालले उनका प्रत्यासी विजय सुवेदीलाई १२ हजार ४४९ मतको फराकिलो अन्तरले पराजित पारिन् ।

दाहालले ५२ हजार ३० मत पाउँदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे । आमजनताले विगत पाँच वर्षको कार्यकाललाई मूल्यांकन गरेर मत दिएको भन्दै उनले उनले आभार व्यक्त गरिन् ।

यसपटक आफ्नो अन्तिम कार्यकाल भएकाले आफूले दिने योगदानमा कुनै कमी हुन नदिने वाचा दाहाल गरेकी छन् । ‘विगतमा पनि राम्रो अनुभव हासिल गरेका छौं,’ उनले भनिन्, ‘त्यसकै आधारमा अबको पाँच वर्ष मेरो अन्तिम कार्यकाल हुनेछ । यो अन्तिम अवसरलाई एक थोपा पनि खेर नफाली दिलोज्यान दिएर लाग्नेछु ।’

आफ्नो क्षमताले भ्याएसम्म निराश जनतालाई नबनाउने उनले जनतासामु कसम खाएकी छिन् ।

अबको कार्यकालमा शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई विशेष प्राथामिकता दिने योजना नवनिर्वाचित मेयर दाहालले अघि सारेकी छिन् । उनले ठूला गौरवका आयोजनालाई सम्पन्न गर्ने कामलाई पहलो प्राथामिकतामा राख्ने बताइन् । प्रशासनिक भवन निर्माण, पाँच अर्बको नारायणी तटबन्धको योजना, अन्तर्राष्ट्रिय क्रिकेट रांशालाको योजना, महानगरीय रिङरोडको योजनाजस्ता ठूला पूर्वाधारका योजनालाई सम्पन्न गर्ने पहिलो प्राथामिकता रहने उनले बताएकी छिन् ।

त्यसपछि महानगरको ढल व्यवस्थापनलाई कार्यकालको मुख्य जिम्मेवारीको रुपमा महसुस गरेको उनले बताइन् । ढल व्यवस्थापनको लागि डिपिआर तयार भइसकेको र बजेट व्यवस्थान गरेर काम अघि बढाउने जानकारी उनले दिइन् ।

त्यस्तै, महानगरको फोहोर व्यवस्थानका लागि कोरियाली सरकारसँगको साझेदारी भइ संघीय सरकारको सहयोगमा काम अघि बढ्ने उनले बताइन् । नारायाणीको जीर्ण पुल निर्माण गर्ने, रोजगार बैंक स्थापना गर्ने, उद्योग प्रवद्र्धन गर्नेलगयातका कामलाई पनि अघि बढाउने योजना उनले अघि सारेकी छिन् ।