NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित

झापा । जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी छन् । महतरा नेकपा (एमाले) बाट र राजवंशी नेपाली कांग्रेसबाट विजयी भएका हुन् ।

झापाका १५ पालिकामध्ये एमालले तीन र कांग्रेसले दुई पालिकामा महिलालाई प्रमुख पदका उम्मेदवार बनाएको थियो । मुख्य दलका पाँच महिलाले प्रमुख पदमा उम्मेदवारी पाए पनि विजयी भने दुई जना मात्र भएका हुन् । एमालेले दमकमा गीता अधिकारी, बिर्तामोड नगरपालिकामा महतरा र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो ।

अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईँसँग पराजित भएका छन् ।

यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमति राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बनिन् भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी भइन् ।

बिर्तामोड नगरप्रमुख महतरा २०७४ सालको निर्वाचनबाट उपप्रमुख पदमा विजयी बनेकी थिइन् । राजवंशी २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपासँग पराजित भएकी थिइन्। झापामा अघिल्लो निर्वाचनमा कमल गाउँपालिकाले मात्र महिला अध्यक्ष पाएको थियो । जिल्लाका १२ पालिकामा महिला उपप्रमुखमा निर्वाचित भएकी थिइन् । कचनकवल, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगपालिकामा मात्र पुरुष उपप्रमुखमा निर्वाचित भएका छन् ।