NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

इनड्राइभरद्वारा नेपालमा सेट-योर-अन-प्राइस राइडहेलिङ एप सार्वजनिक

काठमाडौं । अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले नेपालको काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै शर्तहरुमाथि स्वतन्त्ररुपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्ने जनाइएको छ ।

इनड्राइभरको रियल टाइम डिल्स(आरटीडी)मोडलमार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन्। । यसको बदलामा चालकहरुले आफ्ना लागि कुन राइड रिक्वेष्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन भने आफ्ना मूल्यसमेत सुझाउन सक्नेछन् ।
अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरु भन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् । चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेशन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् ।

राइड रिक्वेस्ट बूक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्ट लगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ । सिस्टममा रजिस्टर भएका चालकहरुले तुरुन्त नोटिफिकेशन प्राप्त गर्ने र त्यसपछि अर्डर स्विकार गर्ने, अस्विकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् ।

इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा दिँदै शक्ति सर्वसाधारणलाई नै उपलब्ध गराएको छ । उदाहरणका लागि, एपमार्फत यात्रुले काठमाडौंको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रागर्दा बढीमा २७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथ सम्म पुग्न १३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।

इनड्राइभरबारे छोटो  जानकारी

इनड्राइभर एउटा ग्लोबल आईटी तथा यातायात प्लेटफर्म हो । इनड्राइभर विश्वकै एउटा सबैभन्दा तीव्र रुपमा वृद्धि भइरहेको अनलाइन राइडहेलिङ सेवा हो ।
यसका सेवाहरु विश्वभरका ४२ देशका ६ सय सहरमा उपलब्ध छन्। कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ ।

इनड्राइभरले अन्तर सहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सञ्चालन सहरमा डेलिभरीलगायतका अन्य सेवा पनि प्रदान गर्दछ । इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसले १ हजार ७०० जनालाई रोजगारी दिएको जनाइएको छ ।

२०२१ को शुरुवातमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बण्ड क्यापिटलको १५ करोड डलर लगानीसहित यूनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर गरिएको थियो ।