NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

अमेरिकामा किन लगातार बन्दुक आक्रमण हुन्छ ?

वासिंटन । करिब ५० वर्षअघि अमेरिकामा राष्ट्रपति लिन्डन बेन्स जोन्सनले भनेका थिए, ‘अमेरिकामा हुने अपराधमा मारिनेहरुको संख्याको प्रमुख कारण बन्दुक हो । यो मुख्यतया लापरवाह मनोवृत्ति र सशस्त्र नागरिक भएका हुनाले बढेकाे हाे ।’

त्यतिबेला अमेरिकामा करिब ९ करोड हतियार थिए । तर आज, ५० वर्षपछि त्यहाँ बन्दुक बोक्ने मानिसको संख्या अझ थपिएको छ । त्यस्तै बन्दुक आक्रमणबाट मारिनेको संख्या पनि बढ्दै छ ।

टेक्सासको एक प्राथमिक विद्यालयमा मंगलबार राति एक बन्दुकधारीले १९ बालबालिकासहित २१ जनाको हत्या गरेका छन् ।

अमेरिकामा बन्दुक र यस्तै प्रकारका हतियारहरूद्वारा सामूहिक हत्याका घटनाहरू बारम्बार आइरहेका छन् । यो वर्ष मात्रै अमेरिकी विद्यालयमा गोलीकाण्डका २७ घटना भएका छन् ।

यसभन्दा १० दिनअघि न्यूयोर्कमा सामूहिक गोली प्रहार हुँदा १० जनाको मृत्यु भएको थियो । यस्तो अवस्थामा अमेरिकामा जहिले पनि गोली हानाहानको खबर आउँछ, अमेरिकामा यस्ता घटना किन घट्छन्, किन रोकिँदैन भन्ने प्रश्न उठ्छ ।

संसारभरका मानिसको हातमा कति बन्दुक छन् भन्न गाह्रो छ । तर स्विट्जरल्याण्डको एक प्रसिद्ध अनुसन्धान संस्थाले स्मल आर्म्स सर्भे नामक अध्ययनमा सन् २०१८ मा विश्वभर ३९ करोड बन्दुक रहेको अनुमान गरेको थियो ।

अमेरिकासँग प्रति १०० नागरिकमा १२०.५ हतियार छ । सन् २०११ मा यो संख्या ८८ थियो । अमेरिकाका जनतासँग विश्वका अन्य देशमा भन्दा धेरै हतियार छन् ।

पछिल्ला केही वर्षयता अमेरिकामा बन्दुक राख्नेको संख्यामा ठूलो वृद्धि भएको हालै आएको तथ्याङ्कले पनि देखाएको छ । एक रिपोर्टअनुसार जनवरी २०१९ देखि अप्रिल २०२१ को बीचमा ७५ लाख अमेरिकीले पहिलोपटक बन्दुक किनेका छन् । यसको अर्थ अमेरिकामा अर्को एक करोड मानिसले आफ्नो घरमा बन्दुक पहिल्यै राखेका थिए, जसमध्ये ५० लाख बालबालिका थिए । बन्दुक किन्नेमध्ये आधा महिला छन् ।

गत वर्षको अर्को एक रिपोर्टमा बन्दुक किन्ने बढेकै कारण बालबालिकामा गोली लाग्ने र मृत्यु हुनेको संख्या बढेको बताइएको थियो ।

अमेरिकामा सन् १९६८ देखि २०१७ सम्म करिब १५ लाख मानिस बन्दुकका कारण मरे । यो संख्या सन् १७७५ को स्वतन्त्रता संग्रामपछि अमेरिकामा भएका हरेक युद्धमा मारिएका सैनिकको संख्याभन्दा बढी हो ।

युएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार सन् २०२० मा मात्रै अमेरिकामा ४५ हजारभन्दा बढी मानिस बन्दुकका कारण मारिएका थिए । जसमा हत्या र आत्महत्या दुवै पर्छन् ।

तर अमेरिकामा सामूहिक हत्याका घटना बढी भइरहेका छन् । बन्दुकबाट आत्महत्या गर्नेको संख्या सन् २०२० मा २४ हजार ३ सय अर्थात् ५४ प्रतिशत छ । सन् २०१६ मा गरिएको एक अध्ययनले आत्महत्या गर्नेमध्ये धेरैसँग हतियार भएको देखाएको छ ।

किन गरिएकाे छैन बन्दुक नियन्त्रण ? 

यो अमेरिकाको राजनीतिक मुद्दा हो । यसमा एकातिर हतियार प्रतिबन्धको वकालत गरिरहेका छन् भने अर्कोतिर अमेरिकी संविधानबाट पाएको हतियार बोक्ने अधिकार जोगाउन चाहने अमेरिकीहरू पनि छन् ।

सन् २०२० मा अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानुनमा कडाइ आवश्यक छ कि छैन भन्ने बारेमा गरिएको सर्वेक्षणमा ५२ प्रतिशतले मात्र समर्थन गरेका थिए भने ३५ प्रतिशतले कुनै परिवर्तन आवश्यक नभएको बताएका थिए । ११ प्रतिशत मानिसहरूले यससम्बन्धी कानुन अझ लचिलो बनाउनु पर्ने विश्वास गरे ।

यस सर्वेक्षणमा डेमोक्र्याटिक पार्टीका ९१ प्रतिशत समर्थकले झण्डै सर्वसम्मतिले कानुनलाई कडाइ गर्ने पक्षमा रहेको पाइएको छ । एकै समयमा रिपब्लिकन पार्टीका समर्थकहरू मध्ये २४ प्रतिशतमात्र यसको पक्षमा थिए ।

अमेरिकामा नेसनल राइफल एसोसिएसनले नागरिकले बन्दुक राख्न पाउने कानुनको समर्थन गर्छ । यो संस्था शक्तिशाली र प्रभावशाली भएका कारण पनि अमेरिकी संसदका सदस्यलाई सजिलै आफ्नो प्रभावमा पार्छ । यसकारण पनि बन्दुक नियन्त्रणमा जटिलता उत्पन्न हुन्छ ।

अमेरिकाको प्राथमिक विद्यालयमा गोली हमला, कम्तीमा १९ को मृत्यु