NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

यसरी बनिन् ‘लिपी क्वीन’ सुनिता ‘प्लेयर अफ द इलेक्सन’

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उपमेयर पदमा उम्मेदवार रहेकी सुनिता डंगोल सर्वाधिक लोकप्रिय मत ल्याएर निर्वाचित भइन् । स्थानीय तह निर्वाचन २०७९ मा आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा अहिलेसम्मकै सबैभन्दा फराकिलो मतान्तरले विजयी भएकी हुन् । ३ लाख मतदाता रहेको महानगरमा १ लाख ९० हजार बढी मत खसेको थियो ।

डंगोलले ६० हजार निकट पुग्दा प्रतिस्पर्धा रामेश्वर श्रेष्ठ २० हजार मत पुर्याउनै संघर्षरत देखिए । यो भनेको ४० हजार अन्तर हो । ७५३ स्थानीय तहमा यो नै सबैभन्दा ठूलो अन्तरको जित हो । यस अघि भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनिल प्रजापति साढे २६ हजार अन्तर र उपमेयरमा नेमकिपाकै रजनी जोशीले उमेयरमा २६ हजार ७७१ मतले विजयी भएका थिए ।

को हुन् सुनिता ?

सन् २०११ मा मिस नेवाःको ताज पहिरिन सफल ३० वर्षीया सुनिता ‘लिपी क्वीन’ को उपनामले विश्वमाझ परिचित छन् । उनी अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना लिपीलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक जुझारु युवा हुन् । उनले क्याली जात्रामार्फत विश्वभरका नेपालीलाई भर्चुअल प्रविधिबाट सिकाउँदै लिपीको सम्बद्र्धन गर्दै आएकी छिन् ।

सुनिता काठमाडौंको लगनटोलकी स्थायी बासिन्दा हुन् । उनी एमाले पृष्ठभूमिकी हुन् । काठमाडौंको कला, संस्कृति र जात्राहरूलाई भर्चुअल प्रविधिमार्फत विश्वमा चिनाउन डंगोलले महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन् । उनले मानविकी तथा सामाजिक संकायमा स्नातकोत्तर गरेकी छिन् । भाषागत दक्षता, मिठो मुस्कान र वाकपटुकताका कारण सुनिता युवामाझ निकै लोकप्रिय छिन् ।

वैशाख २ गते काठमाडौं महानगरपालिको मेयर पदका लागि सुनिताले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन् । महानगरको विकासका लागि आठ खम्बे विकास मोडेलसहित घोषणापत्र जारी गरिन् ।

सुनिता आफ्नो मेयरमा उम्मेदारी चयन अघि नै ओलीको प्रशंसक थिइन् । जीवित नेतामा मुर्छित सपनालाई जगाउनसक्ने क्षमता ओलीबाहेक अन्यमा नभएको प्रतिक्रिया दिँदै आएकी थिइन् ।

बहुआयामिक प्रतिभा भएकी सुनिता विभिन्न सञ्चार माध्यममा कार्यक्रमहरूको संचालन, मोडरेट गर्दै आएकी थिइन् । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गरेकी थिइन् ।

सुनितालाई मासिक ४० हजारभन्दा बढी नेपाली रुपैयाँ पाउने गरी काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले छैंठौं तहको अधिकृतमा नियुक्त गरेका थिए । सुनितालाई काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा बसेर काम गरेको अनुभव छ ।

उनले जापान, कोरिया, जर्मनीलगायत एक दर्जन मुलुकको भ्रमण गरी नेपालको संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आएकी छिन् ।

यसरी पाएकी थिइन् सुनिताले टिकट

महानगर र उपमहानगरपालिको उम्मेदवार छनोटका लागि वैशाख १० गते ओली निवास बालकोटमा बसेको पदाधिकारी बैठकले उनलाई उपमेयरको टिकट दिएपछि सुनिता एकाएक चर्चामा आइन् ।

काठमाडौंको उपमेयरका पदका लागि एमाले काठमाडौं महानगर कमिटीले शान्ति अधिकारी, रत्ना गुरुङ, पेम्बा लामा, निमा काफ्लेको नाम सिफारिस गरेको थियो । सचिवालय बैठकमा मेयर र उपमेयरका उम्मेदवारबारे घनिभूत छलफल भयो । बैठकमा सबैको कुरा सुनिसकेपछि ओलीले मेयरमा महानगर कमिटीले सिफारिस गरेका ५ जनामध्ये केशव स्थापितको नाम प्रस्ताव गरेका थिए । त्यसपछि ओलीले उपमेयरमा नगर कमिटीको सिफारिसलाई पन्छाउँदै सुनिताको नाम प्रस्ताव गरेका थिए । ओलीको अस्वभाविक प्रस्तावमाथि सचिवालय बैठकमा एकछिन सन्नटा छाएको थियो ।

पार्टीभित्र वर्षोदेखि मेहनत र पसिना बगाएका एक सय एक क्षमतामान नेताहरू हुँदाहुँदै मापदण्डभन्दा बाहिरका व्यक्तिलाई टिकट दिने ओलीको प्रस्ताव अस्वाभाविक थियो । तर ओलीको प्रस्तावमा कसैले विरोध गर्ने आँट गरेनन् ।

सुनिताको पृष्ठभूमि एमाले भएको र युवा अवस्थामै उनको क्षमता अदभुत भएकाले उनलाई उपमेयरको टिकट दिँदा एमालेप्रति युवाको आकर्षण बढ्ने भन्दै ओलीले त्यसबेला सबैलाई थामथुम पारेको सहभागी एक नेताले बताएका थिए ।