NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महानगरमा एमालेका पुरुष उम्मेदवारको शर्मनाक पराजय, उपमेयरमा महिला उम्मेदवारको सानदार विजय

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत महानगरपालिकाको चुनावी परिणाम एमालेका लागि सुखद रहेन । पाँचदलीय सत्तागठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।

२०७४ मा एमालेले काठमाडौं र पोखरामा सानदार जित निकालेको थियो । योपटक एउटा महानगरपालिकामा पनि जित हासिल गर्न सकेन । चुनावअघि उसले ६ मध्ये ४ महानगरपालिकामा प्रमुखसहित जित हासिल गर्ने आन्तरिक हिसाबकिताब निकालेको थियो ।

त्यस्तै गत निर्वाचनमा २९४ स्थानमा जितेर पहिलो दल बनको एमाले यो पटक २०५ स्थानमा खुम्चिएको छ । महानगर प्रमुखमा एकजनाले पनि जित निकाल्न नसकी नमिठो पराजयको पीडा एमालेले भोग्यो । तर उपप्रमुखका उम्मेदवारमा एमालेले पाएको सफलता मेयरको तुलनामा उल्टो छ । अर्थात् उम्मेदवारी दिएका ४ महिला उम्मेदवारले भने सानदार जित दर्ता गरेका छन् । जसले महानगरमा पनि एमालेको उपस्थिति कमजोर नरहेको सन्देश दिन सफल भएको छ ।

एमालेबाट उपप्रमुखमा उम्मेदवार दिएकी काठमाडौंकी सुनिता डंगोल, ललितपुरकी मञ्जली शाक्य, पोखराकी मञ्जु गुरुङ र विराटनगरकी शिल्पा कार्कीले गठबन्धनका उम्मेदवारलाई पराजित गरी लोकप्रिय मत ल्याएका छन् ।

सुनिता डंगोल

सुनिता डंगोलले उम्मेदवार मनोनय दर्ताको अघिल्लो दिनमात्र एमालेबाट उपमेयरको टिकट पाएकी थिइन् । ‘लिपी क्वीन’को उपनामले चर्चित रहेकी डंगोललाई ओलीकै जोडबलमा टिकट दिइएको हो । उनको धरातल एमाले पृष्ठभूमि भएपनि पार्टीमा आवद्ध थिइनन् । एमालेबाट उपमेयरमा उम्मेदवारी दिनु अघि डंगोलले काठमाडौंको मेयर पदमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी थिइन् ।

प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापित लज्जास्पद मतसहित तेस्रो स्थानमा पुगेर पराजित भए । तर सर्वाधिक लोकप्रिय मतान्तरसहित सुनिता विजयी भएकी छिन् । सुनिताले ६८ हजार ६१२ मत ल्याएर जित्दा ४४  हजार ८०६ को मतान्तर रहेकाे छ । प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मत पाउन पनि निक्कै संघर्ष गर्नुपर्यो । जबकी उनलाई सत्ता गठबन्धनका कांग्रेस र माओवादीसहितका दलको सहयोग थियो । मेयरका उम्मेदवार स्थापितको मतले बिजोग अवस्था देखाएको एमालेलाई सुनिताले निक्कै राहत दिलाएकी छन् । डंगोलसहितका उपमेयरका उम्मेदवारले पाएको मतले एमाले कमजोर नभएको तर अन्तर्घातले डुबाएको अध्यक्ष केपी ओलीले टिप्पणी गरेका छन् । संख्यामा देशभर कांग्रेसभन्दा धेरै पछि परे पनि एमालेले पपुलर मतमा आफूहरू कमजोर नभएको बताइरहेको छ ।

मञ्जली शाक्य

ललितपुरमा एमालेबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यले गठबन्धनका उम्मेदवारलाई हराउँदै बाजी मारिन् । शाक्य २५ हजार २४ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार बाबुराजा बज्राचार्यले १८ हजार ७५२ मत पाए । शाक्यको मतान्तर ६ हजार २७२ रहेको छ । शाक्य एमाले ललितपुर महानगर कमिटी अध्यक्षसमेत हुन् । माओवादी पृष्ठभूमिबाट आएकी शाक्य नेकपा विघटनसँगै एमालेमा बसेकी थिइन । गत निर्वाचनमा उनलाई माओवादी केन्द्रले उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर उनको मतदात सूचीमा नाम नभएपछि चुनावी प्रतिस्पर्धाबाट बाहिरिएकी थिइन् । एमाले उपाध्यक्ष बादल निकट रहेकी शाक्य २०५६ देखि माओवादी आन्दोलनमा लागेकी थिइन् । मेयरमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन् ।

मञ्जु गुरुङ

काठमाडौं महानगरपछि सबैभन्दा धेरै मतदाता रहेको पोखरा महानगरपालिकामा मेयर पदमा एकीकृत समाजवादी विजयी भएको छ । एमालेबाट विभाजित दल एकीकृत समाजवादीका उम्मेदवारसँग पराजित हुँदा एमालेलाई ठूलो धक्का लाग्यो । ०७४ मा फराकिलो मतान्तरले जितेको पोखरामा योपटक उपमेयरमा चित्त बुझायो । आफैंबाट फुटेको दलसँगै पराजित हुनु एमालेका लागि झन् पीडादायी हुन पुग्यो । मेयरमा पराजय भोगेको एमाले उपमेयरमा भने गठबन्धनविरुद्ध सान्दार जित निकाल्न सफल भयो । उपमेयरमा मञ्जुदेवी गुरुङ ६० हजार ५४६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत ल्याइन् । गुरुङको मतान्तर ३ हजार ८८३ रहेको छ । उनी गत निर्वाचनमा पनि उपमेयरमा विजयी भएका थिइन् । मेयर बन्ने आकांक्षा राखेकी गुरुङले आफूभन्दा तल्लोतहका नेताले मेयरको टिकट पाएपछि असन्तुष्ट रहेकी थिइन् । उनी एमाले केन्द्रीय सदस्यसमेत हुन् ।

शिल्पा कार्की

कांग्रेसको गढ रहेको विराटनगरमा गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै शिल्पा कार्की उपमेयरमा विजयी भइन् । कार्की २५ हजार ६८० मत ल्याएर विजयी हुँदा उनक निकटतम प्रतिस्पर्धी गठबन्धनबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् । कार्कीको मतान्तर ११ हजार ४६१ रहेको छ ।

उम्मेदवारी दिनुअघि कार्की कोशी अस्पताल विकास समितिका सदस्य थिइन् । लाभको पदबाट राजीनामा नदिएको भन्दै उनीविरुद्ध उजुरीसमेत परेको थियो । कार्कीलाई ओली नेतृत्वको सरकारले २२ असार, २०७७ मा सदस्यमा नियुक्ति दिएको थियो ।

२०३५ साल मंसिर १४ गते लहानमा जन्मिएकी शिल्पाले डिग्रीसम्मको अध्ययन गरेकी छिन् । ६ महानगर प्रमुखमा एमालेले शर्मनाक हार व्यहोरेपनि उपप्रमुखमा उम्मेदवारी दिएका महिला उम्मेदवारले शान्दार मत ल्याइ गठबन्धनका उम्मेदवारलाई पराजित गरी एमालेको साख जोगाएका छन् । ६ वटै महानगरमा मेयरमा पुरुष उम्मेदवारले शर्मनाक हार बेहोर्दा उपमेयरमा भने चारवटै महानगरमा महिला उम्मेदवारले सानदार जित दर्ता गरेका हुन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष