NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

काठमाडौंमा बालेनको परीक्षा : के छन् उनका एजेण्डा ?

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फबाट मेयर पदमा विजयी बालेन शाहले काठमाडौं सुधारका लागि ६ पृष्ठको प्रतिबद्धता यसअघि नै पेश गरिसकेका छन् । एमालेका विरासत रहेको काठमाडौं महानगरमा मतगणना सुरु भएदखि नै अग्रता कायम राखेर उनी विजयी भएका हुन् ।

एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहलाई हराउँदै जित हासिल गरेका बालेनको अब परीक्षा सुरु भएको छ । गैर राजनीतिक पृष्ठभूमिका शाह किन राजनीतिमा आए भन्ने अधिकांशको कौतुहुलता छ । र्यापरको पृष्ठभूमिमा रहेका बालेनको अब परिचय थपिएको छ ।

विगतका मेयरजस्तो काठमाडौंको विकासका लागि उनले त्यत्ति धेरै महत्वकांक्षी योजना पेश गरेका छैनन् । हेर्दा सामान्य लाग्ने योजना भएपनि नागरिकको दैनिक जीवनसँग जोडिएका हुनाले त्यसले ठूलो अर्थ राखेको देखिन्छ ।

विशेषगरी शिक्षा, स्वास्थ्य, संस्कृति, सम्पदालगायतमा उनले जनतासामु आफूले पाँच वर्षसम्म गर्न सक्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रत्येक वडामा प्रविधियुक्त क्लिनिक

स्वास्थ्यमा उनले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गर्ने जनाएका छन् ।

त्यस्तै अहिले भइरहेका अस्पतालको पूर्वाधार गुणस्तरीय सुधार गर्ने, उचित सेवा सुविधा उपलब्ध गराउने, स्वस्थ वातावरणसहितको सरसफाइ तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा वृद्धि गर्ने उनको प्रतिबद्धता छ ।

प्रतिबद्धतामा जनाइएअनुसार दीर्घकालीन रोग जस्तै मधुमेह, रक्तचापजस्ता रोगको दिगो नियन्त्रणका उपायस्वरुप जगिङ तथा व्यायाम गर्ने पार्क निर्माण गरिनेछ ।

एम्बुलेन्स र दमकल अब कल सेन्टरबाटै, वृद्धालाई घरघरमै स्वास्थ्य परिक्षण

पूर्वाधार विकासतर्फ नयाँ पूर्वाधारको विकासलाई कम भएका पूर्वाधारको व्यवस्थापनतर्फ बालेनले जोड दिएका छन् । यसबीचमा उनले पूर्वाधारमा सबैभन्दा धेरै जोड गरेको विषय हो कल सेन्टरमार्फत नै समस्याको सामाधान । कल सेन्टरमार्फत सञ्चालित भौतिक पूर्वाधार एम्बुलेन्सबाट सडक, ढलजस्ता पूर्वाधारको मर्मतसंहार गरिने उनको प्रतिबद्धता छ ।

स्वास्थ्य एम्बुलेन्स, पूर्वाधार एम्बुलेन्स, पशु एम्बुलेन्स, फायर ब्रिगेड र विपद् जाखिम न्यूनिकरण र व्यवस्थापनसहित कल सेन्टर सञ्चालनमा आउनेछ ।

७० वर्ष माथिका वृद्धवृद्धालाई निशुल्क स्वास्थ्य परिक्षण घरघरमै गरिने जनाइएको छ ।

उनले सरकार विद्यालयमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने र वडास्तरमै स्तन क्यानसर, पाठेघरको क्यान्सरको स्क्रिनिङ गर्ने योजना अघि सारेका छन् । सार्वजनिक शौचालय, सरकारी कार्यालय  सार्वजनिक स्थानहरुमा स्तनपान, शिशु नर्सिङ कोठाको व्यस्था गरिने जनाइएको छ ।

सामुदायिक विद्यालयलाई प्राथामिकता

शिक्षातर्फ बालेनको पहिलो प्राथामिकता छ, महानगरभित्रका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने र प्राविधिक शिक्षामा जोड दिने । योसँगै इतिहास, योग, आयुर्वेदजस्ता पौराणिक शिक्षासँगै विश्वस्तरमा जोड्न सकिने किसिमका उच्चस्तरीय प्रविधिसहितका कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम पमिार्जन गर्ने योजना छ ।

निजी विद्यालयमा शुल्क बढीरहँदा बालेनले विद्यालयमा मासिक शुल्क बमोजिमको शिक्षा छ/छैनबारे पनि अडिट गर्ने जनाएका छन् । हाल भइरहेका पाठ्यक्रमलाई परिमार्जन गरेर प्रारम्भिक बाल्यकाल शिक्षादेखि सूचना प्रविधि शिक्षाको परिचय दिनेगरि पाठ्यक्रम विकास गर्ने उनको योजना छ ।

काठमाडौंको पुर्ननिर्माणमा भक्तपुरसँग सहकार्य

त्यस्तै काठमाडौंका सांस्कृतिक महत्वका स्थानका पुनर्निर्माणका लागि भक्तपुरका दक्ष जनशक्तिसँग सहकार्य गर्ने योजना उनले अघि सारेका छन् । सबै वडा र टोल तहमा सार्वजनिक शौचालय र बस स्टपमा फल्था निर्माण गर्ने उनको योजना छ । त्यस्तै भइपरी हुने आगलागीका क्षतिबाट जोगिन फायर ब्रिगेड पुग्न नसक्ने साँधुरा गल्लीहरुमा ओभर हेड ट्याक्सी र फायर हाइड्रन्टहरु स्थापना गर्ने उनको योजना छ ।

काठमाडौंको ट्राफिक व्यवस्थापन

काठमाडाैंको सधै टाउको दुखाइको कारण बनिरहेको समस्या हो ट्राफिक जाम । यहाँको सवारी साधनको मात्रा र आवतजावतलाई व्यवस्थापन गर्न संघसंस्था तथा कार्यालयको प्रकृतिको आधारमा वर्गिकरण गरेर कार्यालय समयका विभाजन गरिने उनको योजना छ ।

त्यस्तै सार्वजनिक तथा महानगरीय यातायातलाई एकै छाता संगठनअन्तर्गत ल्याएर शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने छ । सबै स्थानीय यातायातमा जिपिएस जडान गरिने र सुरक्षाका लागि सबै स्थानीय यातायातमा सिसिटिभी जडान गरिने जनाइएको छ ।

त्यस्तै महानगरभित्रका केही भवनहरु भाडामा लिएर बहु–तले पार्किङमा परिणत गरिने जनाइएको छ । उनका योजना अनुसार महानगरको आफ्नै ट्याक्सी एप सञ्चालन गर्ने र उपभोग अवधि वा समयअनुसार खुला ठाउँहरुमा फुटपाथ व्यवसायको समयतालिका निर्धारण गरिनेछ । सार्वजनिक यातायात एप र मासिक प्रिपेड कार्डको सुरुवात गर्ने योजना पनि छ ।

आफ्नै कार्यकालमा अन्तर्राष्ट्रिय खेलकुद क्लबहरुसँगको सहकार्यमा युवा लिग आयोजना गरिने र अन्तर्राष्ट्रिय स्तरमा ई-स्पोर्टस प्रतियागिता आयोजना गर्ने जनाएका छन् । यसले पर्यटन तथा अर्थशास्त्रलाई प्रत्यक्ष प्रवद्र्धन हुने उनले विश्वास लिएका छन् ।

सरकारी कार्यालयबाटै पानी व्यवस्थापन

पानीको व्यवस्थापना लागि बालेनले सरकारी कार्यालयमै जमिन पुनर्भरण पोखरी निर्माण गर्ने योजना अघि सारेका छन् । बालेनले पटक-पटक गरेको वाचामध्येको एक हो महानगरका सबै ढुंगेधारा, हिटीलाई पुनःजाग्रित गराउने । उनले काठमाडौंमा आफ्ना भएका मुहानको संरक्षण नगरेर मेलम्चीको पानीको आश गर्नुलाई मूर्खताको संज्ञा दिएका थिए ।  त्यस्तै मेलम्ची खानेपानीको सबै तहमा अनुगमन र सहकार्य गर्ने जनाएका छन् ।

फोहारमा आस्फल्ट मिसाएर सडक कालोपत्रे

काठमाडौंको अर्को मुख्य चुनौती हो फोहोर व्यवस्थापन । यसको लागि अर्गानिक, प्लास्टिक र सिसाजन्य फोहोरलाई छुट्टै संकलन गरेर उच्चस्तरीय प्रविधिले व्यवस्थापन गरिने योजना छ । त्यसको लागि काठमाडौं महानगरनजिकै इन्सिनरेटर जडान गरेर अर्गानिक फोहोरलाई प्राङ्गारिक मलमा परिणत गरी नजिकको कृषि प्रधान जिल्लाहरुमा बिक्री गरिने योजना छ । त्यस्तै महानगरभित्रका सडकमा कालोपत्रे गर्दा प्लाष्टिकजन्य फोहोरसँगै आस्फल्ट मिसाएर गरिनेछ । त्यस्तै कारखाना वा औद्योगिक फोहोरको परिवर्तनीय क्षमता अनुसार व्यवस्थापन गरिने जनाइएको छ ।

महानगरमा खुल्ला ठाउँको अभाव पूर्तिका लागि नक्साङ्कित ४२ देख ४५ खुला ठाउँहरुलाई तिनिहरुको आकार अनुसार पार्क, खेलकुद मैदान, व्यायाम र दौड गर्ने ठाउँहरुमा रुपान्तरण गरिने घोषणापत्रमा उल्लेख छ ।

कुकुरदेखि म्ह पूजाको अन्तराष्ट्रिय ब्रान्डिङ

यहाँको संस्कृतिको जगेर्नाका लागि अन्तर्राष्ट्रिय स्तरमा कुकुर तिहार र म्ह पूजाकाे ब्रान्डिङ गर्ने बालेनको योजना छ । त्यस्तै, स्थानीय गुठी, बाजा, खल, मन्दिर बिहार, गुम्बा, बहाल र अन्य स्थानीय आदिवासी उपसमूहहरुलाई सांस्कृतिक प्रवद्र्धनका लागि अनुदान प्रदान गरिने जनाइएको छ ।

कृृषि प्रदान नगरपालिकाहरुमा अर्गानिक फोहोरको रुपान्तरणबाटै जैविक मल उपलब्ध गराइने योजना छ ।

खाली जग्गा भाडामा लिइ उत्पादन बढाउने

तरकारी उत्पादन गर्न र काठमाडौंको ८० लाख जनसंख्यालाई उपभोग गराउन देशभरका कृषियोग्य खाली जग्गाहरु भाडामा लिएर फलफूल तथा तरकारी खेती गरिनेछ । उत्पादित फलफूल तथा तरकारीका लागि कोल्ड स्टोर निर्माण गर्ने र गाउँपालिका तथा नगरपालिकामा बीउ उपलब्ध गराइ कृषि उत्पादन र रोजगारको सिर्जना गरिने योजना छ ।

शैक्षिक पृष्ठभूमि नभएपनि युवाहरुलाई कृषि तालिम दिएर महानगरले भाडामा लिएको जग्गामा रोजगारी दिनेछ ।

राष्ट्रिय खेलाडीलाई विद्यालयमा परिचालन

खेलकुद क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि वडास्तरमै खेलकुद मैदान र खेलकुद केन्द्र निर्माण गरिने बालेनको योजना छ । बैंकहरुसँग उनीहरुको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिने र विद्यालयदेखि वडा तहमै तालिम दिन राष्ट्रिय खेलाडीहरुलाई तलब उपलब्ध हुनेछ ।

आफ्नै कार्यकालमा अन्तर्राष्ट्रिय खेलकुद क्लबहरुसँगको सहकार्यमा युवा लिग आयोजना गरिने र अन्तर्राष्ट्रिय स्तरमा ई-स्पोर्टस प्रतियाेगिता आयोजना गर्ने जनाएका छन् । यसले पर्यटन तथा अर्थशास्त्रलाई प्रत्यक्ष प्रवद्र्धन हुने उनले विश्वास लिएका छन् ।

बालेनको कार्यकालमा सरकारका सारा काम अनलाइनबाटै सुचारु गर्ने योजना छ । कर तथा प्रमाणपत्रको सेवा अनलाइनबाटै मिलाइनेछ भने वृद्धाभत्ता तथा अन्य प्रमाणपत्रको पनि होम डेलिभरी गरिनेछ । त्यस्तै कार्यपालिकाको महत्वपूर्ण बैठक र निर्णयहरु प्रत्यक्ष प्रशारण गर्ने उनको योजना छ ।

मार्टमा स्थानीय उत्पादनको लागि २० प्रतिशत ठाउँ

स्थानीय उत्पादनको लागि प्रत्येक मार्टमा २० प्रतिशत ठाउँको विनियोजन गर्ने योजना बालेनले अघि सारेका छन् । त्यस्तै हस्तकला, घरेलु उद्योगको प्रवद्र्धनका लागि सिड मनि र तालिम प्रदान गर्ने उनको योजना छ । अदक्ष जनशक्ति, दक्ष जनशक्ति, लगानीकर्ता, उद्यमशीलता विशेषज्ञको तथ्यांक संकलन गरी रोजगारी र उद्यमशीलताका अवसरहरु उपलब्ध गराउन सहकार्य गरिने योजना छ ।

त्यस्तै, जनताको सीप, प्रविधि सुधारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यको योजना छ । काठमाडौं महानगरको समस्या सामाधानका लागि पनि केन्द्रलाई अनुदान दिइनेछ ।

महानगरभित्र १० हजार सिसिटिभी जडान

महानगरको सुरक्षाका लागि यहाँको अपराध नियन्त्रण र निगरानीका लागि प्रारम्भिक चरणमा १० हजार सिसिटिभी जडान गरिने घोषणापत्रमा उल्लेख छ । त्यस्तै सुरक्षा सुधारका लागि नगर प्रहरीलाई तालिम दिने र प्रहरीको संंख्या बढाउनेलगायतका योजना छन् ।