NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

‘उत्कृष्ट नगरपालिका’मा एमाले पराजित, कांग्रेसको वर्चश्व

काठमाडौं । गत फागुनमा मात्रै उत्कृष्ट बन्दै पुरस्कार जितेको एमाले वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भने तीनवटै पालिकामा पराजित हुन पुगेको छ । नेपाल नगरपालिका संघले उत्कृष्ट घोषणा गरेका सात नगरपालिकामध्ये एमालेले जितेका पाँचवटा नगरपालिका उत्कृष्ट बनेका थिए । तर पुरस्कार पाएको दुई महिनामै भएको निर्वाचनबाट एमाले तिनै नगरपालिकामा पराजित हुन पुगेको हो । एमालेले पाँचवटा गुमाउँदा कांग्रेसले जितेको एउटामा भने जित हात पारेको छ ।

सात उत्कृष्टमध्ये दुईवटा महिलाले नेतृत्व गरेका नगरपालिका थिए । जसमा चितवनको राप्ती र स्याङजाको पुतलीबजार नगरपालिका हुन् । ती दुवैमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका मेयर र उपमेयर विजयी भएका थिए ।

यसरी उत्कृष्ट हुनेमा संस्थागत विकासतर्फ स्याङजाको वालिङ र पुतलीबजार नगरपालिका छन् । सहरी योजना र विपद् व्यवस्थापनको उत्कृष्टमा धादिङको नीलकण्ठ नगरपालिका परेका थिए । स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट बनेको थियो ।

वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका उत्कृष्ट भएको बन्न पुगेको थियो । सामाजिक विकासतर्फ उत्कृष्ट बन्नेमा रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका परेका थिए ।

सात नगरपालिकामध्ये कांग्रेसले स्याङजाको वालिङ र धादिङको नीलकण्ठ नगरपालिकाको नेतृत्व जितेको थियो । यस क्रममा वालिङको मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो । धादिङको नीलकण्ठमा मेयर कांग्रेसले र उपमेयर माओवादीले तालमेलमा जितेका थिए । तर एमालेले स्याङजाको पुतलीबजार, सर्लाहीको हरिवन, रुपन्देहीको तिलोत्तमा, इलामको इलाम र चितवनको राप्ती नगरपालिकामा मेयर र उपमेयर दुवै जितेको थियो ।

यसअघि कांग्रेसले जितेको स्याङजाको वालिङ नगरपालिका नेतृत्व एमालेले यसपटक आफ्नो पक्षमा पारेको छ । तर आफूले जितेका स्याङजाको पुतलीबजार, सर्लाहीको हरिवन, रुपन्देहीको तिलोत्तमा, इलामको इलाम र चितवनको राप्ती नगरपालिकाको नेतृत्व यसपटक एमालेले गुमाएको हो ।

वालिङ : पहिले मेयर र उपमेयर दुवै कांग्रेस, अहिले मेयर एमाले, उपमेयर कांग्रेस

पहिले : स्याङ्जाको वालिङमा गत स्थानीय तहको निर्वाचनबाट मेयरमा कांग्रेसका दिलीपप्रताप खाँण विजयी भएका थिए । खाण १० हजार ६ सय मत ल्याएर विजयी हुँदा एमालेका पुण्यप्रसाद अर्यालले ८ हजार ७४९ मत ल्याएर पराजित भएका थिए । उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी ९ हजार ८९५ मत ल्याएर विजयी भइकी थिइन् ।

अहिले : एमालेले वालिङको नतिजा उल्टाएको छ । मेयरमा एमालेका कृष्ण खाँण १३ हजार ७७६ मत ल्याएर विजयी भएका छन् । पराजित कांग्रेसका दिलीपप्रताप खाँणले ११ हजार ५९६ मत ल्याए । उपमेयरमा कांग्रेसकी कविता तिवारी १२ हजार ८८२ मत ल्याएर विजयी भइन् । पराजित एमालेकी खगिसरा थापामगरले १२ हजार ३४० मत ल्याइन् ।

पुतलीबजार : एमालेले जितेको दुवै पद कांग्रेसको पोल्टामा

स्याङ्जाको पुतलीबजार नगरपालिका पनि संस्थागत विकासतर्फ उत्कृष्ट बनेको थियो । गत स्थानीय तहको चुनावमा पुतलीबजारको मेयरमा एमालेकी सीमा क्षेत्री विजयी भएकी थिइन् । उनले कुल १० हजार २४९ मत ल्याएकी थिइन् । कांग्रेसका तुलसीराम रेग्मी नौ हजार २९ मत ल्याएर पराजित भएका थिए । उपप्रमुखमा एमालेकै महेश पुरी १० हजार ३८८ ल्याएर विजयी हुँदा कांग्रेसकी हिरादेवी शर्माले आठ हजार ४४४ मत ल्याएकी थिइन् ।

अहिले : मेयरमा कांग्रेसका तुलसीराम रेग्मीले यसपटक एमालेकी सीमासँग बदला लिए । रेग्मीले १२ हजार ४९४ मत ल्याए । पराजित सीमाकुमारी क्षेत्रीले १० हजार ९० मत ल्याइन् । उपमेयरको नतिजा पनि उल्ट्याउन कांग्रेस सफल भएको छ । देवी अर्याल ११ हजार ७४८ मत ल्याएर विजयी हुँदा पराजित एमालेका महेश पुरी १० हजार ७६१ मत ल्याएर पराजित भए ।

नीलकण्ठमा मेयर कांग्रेस, उपमेयर माओवादी

सहरी योजना र विपद् व्यवस्थापनको उत्कृष्टमा धादिङको नीलकण्ठ नगरपालिका परेको थियो । गत स्थानीय तह निर्वाचनमा धादिङ नीलकण्ठ नगरपालिकाको मेयरमा कांग्रेसका भीमप्रसाद ढुङ्गाना विजयी भएका थिए । ढुङ्गानाले १३ हजार १ सय ६६ मत ल्याउँदा पराजित एमालेका अर्जुनकुमार श्रेष्ठले जम्मा ६ हजार ६ सय ९० मत ल्याएका थिए ।

उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी १० हजार ३ सय २३ मतले विजयी हुँदा नेकपा एमालेबाट गंगादेवी श्रेष्ठके ७ हजार ४ सय ४४ मत मात्रै आएको थियो । कांग्रेस र माओवादी मिलेर चुनाव लडेका थिए ।

अहिले : धादिङको नीलकण्ठ यसपटक फेरि कांग्रेसले जोगाएको छ । भीमप्रसाद ढुंगाना १४ हजार ५७५ मत ल्याएर फेरि विजयी भए । पराजित एमालेका गंगादेवी श्रेष्ठको ९०६४ मत आयो । उपमेयर गठनबन्धनतर्फ माओवादीका दीपक विश्वकर्मा जियी भए । उनले ९६९३ मत ल्याए । पराजित एमालेका फन्द्रा तामाङले ७९१३ ल्याए ।

हरिवनमा पहिले दुवैमा एमाले, अहिले मेयरमा माओवादी

पहिले : स्थानीय आर्थिक विकासमा सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट बनेको थियो । हरिवन मेयरमा एमालेका गणेशप्रसाद प्रसाईले विजयी भएका थिए । उनले ६०५४ मत ल्याउँदा माओवादी केन्द्रका रमेश बुढाथोकीले ५१८४ मत ल्याएका थिए । उपमेयरमा एमालेकी रेणुकाकुमारी पौडेलले ५९९८ मतले विजयी हुँदा माओवादी केन्द्रकी पदमा मोक्तानले ४४३६ मत ल्याएकी थिइन् ।

अहिले : मेयर पहिलो पराजित भएका माओवादीका रमेश बुढाथोकी मेयरमा विजयी भएका छन् । उनले सात हजार ०२ ल्याउँदा पहिले जितेका गणेशप्रसाद प्रसाईं पराजित भएका हुन् । उनले ६८४९ मत ल्याए । उपमेयरमा भने एमाले हरिबहादुर घलान विजयी भए । माओवादीकी पदमा मोक्तान पराजित भइन् ।

इलामको मेयर उपमेयर दुवैमा एमाले

पहिले : वातावरण तथा उत्थानशीलतामा इलामको इलाम नगरपालिका उत्कृष्ट भएको थियो । मेयरमा एमालेका महेश बस्नेत विजयी भएका थिए । उनले ११ हजार ३३ मत ल्याउँदा कांग्रेसका हिमालय कर्माचार्यले ९ हजार २६८ मत ल्याएका थिए । उपमेयरमा एमालेकै सुशीला नेम्बाङ १० हजार ९ सय ४६ मतले विजयी हुँदा कांग्रेसकी चन्दा कार्कीले ९ हजार २५४ मत ल्याएकी थिइन् ।

अहिले : मेयरमा कांग्रेसका केदार थापा विजयी भएका छन् । उनले १३ हजार १६५ मत ल्याउँदा पराजित एमालेका धीरेनकुमार चेम्जोङले १० हजार ५८७ मत ल्याए । उपमेयरमा कांग्रेसकी विष्णुकुमारी लिम्बू १३ हजार ५४२ मत ल्याएर विजयी भइन् । पराजित एमालेकी सीतादेवी रिजाल १० हजार ८८ मत ल्याइन् ।

तिलोत्तमा, एमालेले गुमायो मेयर

सामाजिक विकासतर्फ उत्कृष्ट बन्नेमा रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका परेका थिए । तिलोत्तमामा गत चुनावमा एमालेका वासुदेव घिमिरे विजयी भएका थिए । उनले १९ हजार ८४ मत ल्याएका थिए । कांग्रेसका रामकृष्ण खाँणले १६ हजार २६४ मत ल्याएर पराजित भएका थिए । उनी अहिलेका गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् । उपमेयरमा एमालेकै जागेश्वरी चौधरी १९ हजार २ हजार २४ मतले विजयी हुँदा राष्ट्रिय जनमुक्तिकी गीता सारूको १६ हजार ६ मत आएको थियो ।

अहिले : उनै पराजित रामकृष्ण खाँणले यसपटक बदला लिएका छन् । खाँणले २४ हजार ३९६ मत ल्याएर जिते । पराजित एमालेका मोहन चपागाईंले २३ हजार ६३१ मत ल्याए ।

उपमेयरमा भने एमालेले नै जितेको छ । जगेश्वरदेवी चौधरी २३ हजार ८६ मत ल्याएर विजयी भइन् । माओवादी केन्द्रका हेमलाल पाण्डे ११ हजार ५४६ मत ल्याएर पराजित भए ।

चितवनको राप्तीमा मेयर उपमेयर दुवैमा एमाले

चितवनको राप्ती सामाजिक विकासतर्फ उत्कृष्ट बनेको छ । राप्ती नगरपालिकामा गत चुनावमा एमालेबाट प्रभा बराल विजयी भएकी थिइन् । उनले ११ हजार ६१३ मत प्राप्त गरेकी थिइन् । कांग्रेसका किरण भुषण ओलीले ७२९२ मत ल्याएका थिए । उपमेयरमा एमालेका इमानसिंह लामा ११८८२ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसकी अनिता मैनालीले ७ हजार ०७४ मत प्राप्त गरेकी थिइन् ।

अहिले : एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीका शमशेर लामा विजयी राप्तीमा विजयी भएका छन् । उनी १२ हजार ५२४ मत ल्याएर विजयी भएका हुन् । पराजित एमालेका गोविन्दप्रसाद कँडेलले १२ हजार ५१ मत ल्याए । उपमेयरमा कांग्रेसका देवेन्द्र लामा १२ हजार ६२८ मत ल्याएर विजयी भएका छन् । पराजित एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत ल्याइन् ।