NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमालेमा यो अचम्मको कुरा छ : सुवास नेम्वाङ [अन्तर्वार्ता]

काठमाडौं । विभिन्न आशंकाबीच स्थानीय तहको निर्वाचन सम्पन्न भयो । चुनावी परिणाम अनुसार कांग्रेस ३२९ स्थानमा विजयी हुँदै पहिलो, एमाले २०५ सहित दोस्रो, माओवादी केन्द्र १२१ सहित तेस्रो स्थानमा छन् । जसपा ३० स्थान, एकीकृत समाजवादी २० स्थान र लोसपा १६ स्थानमा विजय हुँदै क्रमशः चौंथो, पाँचौं र छैटौं स्थानमा छन् । अन्य दलले ३१ स्थानीय तहको नेतृत्व जितेका छन् । अघिल्लो निर्वाचनमा २९४ तहमा विजयी भइ पहिलो दल बनेको एमाले योपटक दोस्रोमा खुम्चियो । कांग्रेस दोस्रोबाट पहिलो दलमा पुग्न सफल भयो । एमालेबाट विभाजित दल एकीकृत समाजवादीको एक वर्ष नपुग्दै जनमतबाट शक्ति परीक्षण भयो ।

गठबन्धन र एमालेबीच भएको चुनावी प्रतिस्पर्धामा एमाले ६ महानगरपालिकामा शून्य भयो । ३० औं वर्ष देखिको केही महत्वपूर्ण गढ योपटक गठबन्धनले भत्काइ दियो । योपटक एमालेभित्र घात र प्रतिघातको श्रृंखलाको बिजारोपण प्रस्टै देखियो । कांग्रेसमा देखिएको अन्र्तघातको रोग योपटक एमालेमा सरेको एमालेका नेताहरूको दाबी छ । स्थानीय तहको समग्र चुनावी परिणाम, एमालेभित्रको अन्तर्घात र भावी रणनीतिबारे नेपाल वाचकर्मी गणेश पाण्डेले एमालेका उपाध्यक्ष सुवाचचन्द्र नेम्बाङसँग गरेको कुराकानी :

समग्र निर्वाचनलाई तपाईंले कसरी लिनुभएको छ ?

सर्वप्रथम निर्वाचन समयमै सम्पन्न भयो यसमा हामी खुशी छौं । तोकिएको समयमा निर्वाचन गर्ने पक्षमा सत्तापक्ष थिएन । हामी सबैको दबाव र निर्वाचन आयोगको अडानका कारण निर्वाचन समयमै सम्पन्न भयो ।

दोस्रो निर्वाचनमा सत्तापक्षबाट गलत कुरा पनि भए । यसबारे हामीले त्यतिबेलै ध्यानकर्षण गराएका थियौं । मतदानकै कुरा गर्ने हो भने सबै परिणाम अहिलेसम्म आइसकेको छैन । निर्वाचन आचारसंहितको ठाडो उल्लङ्घन गरी स्वयम् प्रधानमन्त्रीजीले गठबन्धन दल र उम्मेदवारलाई भोट हाल्न जनतालाई आह्वान गर्नुभयो । प्रधानमन्त्री र मन्त्रीहरूले सत्ताको दुरूपयोग गरी चितवन पुगेर राजनीतिक तमासा देखाउनुभयो । प्रधानमन्त्रीले बोल्ने भाषा त्यो होइन । उहाँले निर्वाचनमा सबै सहभागी हुनुहोस्, आ–आफ्नो रुचि अनुसारको उम्मेदवारलाई भोट हाल्नोस्, निर्वाचनलाई सफल गर्नुहोस् भन्नुपर्ने थियो । तर त्यसो भएन ।

सत्तागठबन्धनका अर्का शीर्ष नेताले त हामीलाई भोट दिएनौं भने देश दुर्घटनामा जान्छ भन्नुभयो । यो धम्की हो । त्यस्तै गठबन्धनका अर्का एक मित्रले कांग्रेसले नजितेको ठाउँमा बजेट नै पठाउँदिन जस्ता धम्की दिनुभयो । ठाउँ–ठाउँमा सत्तापक्षबाट विपक्षी उम्मेदवारमाथि आक्रमण भयो । यस्तो अवस्थामा निर्वाचन सम्पन्न भयो । निर्वाचनमा जुन परिणाम अहिले आएको छ, त्यो परिणामबाट केही संख्या घटबढ हुने कुरा आफ्ना ठाउँमा छन् । जुन परिस्थितिमा निर्वाचन सम्पन्न भयो यसलाई हामीले उपलब्धि नै ठानेका छौं ।

सत्तापक्षको धरपकड र निषेधको गतिविधिका बाबजुद हामी पहिलो पार्टी हु्न सकेनौं । गत निर्वाचनको तुलनामा अलिकति सिट घटेको देखियो । लोकप्रिय मतमा हामी पहिलो भयौं । केही सिटमा गठबन्धनभन्दा दोस्रो भयौं

सत्तागठबन्धन घोषित रूपमा प्रतिपक्षलाई एक्याउन, आइसोलेट गर्न, घेराबन्दी गर्न लागेको थियो । प्रमुख प्रतिपक्षलाई सिनित्तै बढार्छौं, यिनीहरूलाई धुलो चटाउँछौं, पूर्णतः समाप्त गरिदिने उद्देश्यकासाथ गठबन्धन लागेका थिए । संसारमा कहीँ पनि प्रमुख प्रतिपक्ष विरुद्धमा यो ढंगको व्यवहार हुँदैन । प्रमुख प्रतिपक्ष भनेको राज्यको अभिन्न अंग हो । ‘गभरनमेन्ट इन वेटिङ’ हो । सत्तापक्षको धरपकड र निषेधको गतिविधिका बाबजुद हामी पहिलो पार्टी हु्न सकेनौं । गत निर्वाचनको तुलनामा अलिकति सिट घटेको देखियो । लोकप्रिय मतमा हामी पहिलो भयौं । केही सिटमा गठबन्धनभन्दा दोस्रो भयौं ।

निर्वाचनमा सत्तापक्षले शक्तिको दुरूपयोग ग¥यो भन्ने आरोप तपाईंले लगाईं रहँदा एमाालेभित्रैको अन्तर्घातले हार्नुपरेको तपाईंकै अध्यक्षले भन्नुभएको होइन ?

तपाईंले जुन प्रश्न उठाउनुभयो कतिपय ठाउँमा उम्मेदवारी उठाउँदा हाम्रो पनि कमजोरी भएको महशुस गरेका छौं । त्यसमा हामी गम्भीर छलफल गर्छौं । कतिपय ठाउँमा पराजय हुनुमा उम्मेदवारसँगै जोडिएर हुन सक्छ । पार्टीभित्र विरोध र अन्तर्घातका कुराहरू पनि आएका छन् । त्यस्ता गतिविधिले मतपरिणाममा असर गरेको हाम्रो विश्लेषण छ । तर समग्रमा सम्पूर्ण घेराबन्दीको बाबजुद पनि हामीले राम्रो सफलता प्राप्त गर्यौं भन्ने हाम्रो निष्कर्ष छ ।

गठबन्धनबाट कांग्रेसले राम्रै लाभ लिएको देखिन्छ । कांग्रेसकै सहयोगमा माओवादी केन्द्रले पनि शक्ति आर्जन गर्ने अवसर पाएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

यसको जवाफ दिनुअघि पञ्चायती समयको एउटा विषय तपाईंलाई स्मरण गराउन चाहन्छु । त्यतिबेला हामीले मिलेर पञ्चायती व्यवस्था ढाल्यौं । कांग्रेस र तत्कालीन माले मिलेर १० वर्ष चुनाव लड्नुपर्छ भन्ने मान्छे मै हो । मलाई साथ दिने धेरै जना थिए । त्यतिबेला हाम्रा जननेता मदन भण्डारीलाई पनि हामी यो कुरा भन्थ्यौं । किसुनजीसँग चुनाव लड्नुभन्दा पनि मिलेरै जाउँ भन्दा मदनजी पनि सहमत हुनुहुन्थ्यो । हाम्रो माग कांग्रेससँग कुरा गरेर मिलौं भन्ने थियो ।

हामीले त्यसो किन भन्यौं भन्दा १० वर्ष कांग्रेस र कम्युनिष्ट नमिले फेरि निरुङकुशता फर्किन सक्थ्यो । त्यसै समयमा कांग्रेसले काठमाडौंको खुलामञ्चमा सभा राख्यो । किसुनजी पनि बोल्ने हुनुभयो । किसुनजीलाई हामी सबैले आदर गर्ने व्यक्ति भएकाले आज त कांग्रेसले हाम्रो कुरा पनि भन्ने रहेछ भन्ठान्यौं ।

तपाईंहरूको आग्रहलाई किसुनजीले के जवाफ दिनुभयो त ?

‘०१५ सालको चुनावमा यी कम्युनिष्ट भाइहरूले ४ सिट ल्याए । अहिलेको यो चुनावमा यी भाइहरूले १५ सिट कटाए भने खसि काटेर खाए हुन्छ । यी भाइहरू हामीसँग मिलेर चुनाव लडौं भन्नुहुन्छ । कांग्रेसलाई नै एक हजार सिटले पुग्दैन । यी कम्युनिष्ट भाइहरूलाई मैले कहाँबाट सिट दिउँ ?’ किसुनजीले खुलामञ्चको भाषणमा भन्नुभयो ।

अब जहाँसम्म बालेनजीहरूको उम्मेदवारीको कुरा छ, उहाँले जनताको मत लिएर जितेकै हो । यसमा कुनै विवादै छैन । यद्यपि यसतर्फ दलहरूको ध्यानाकर्षण हुनुपर्छ

यही प्रसंग चुनावअघि मैले शेखर कोइराला, विमलेन्द्र निधि, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत लगायतका साथीहरूलाई राखेर सुनाएको थिएँ । त्यो एक हजार सिटले नपुग्ने नेपाली कांग्रेस अहिले कहाँ छ ?, उहाँहरूसँग मैले जिज्ञासा राखें । मेरो प्रश्नमा सबैले टाउको हल्लाउनुभयो । तर शेखरजीले जवाफ दिनुभयो– ‘म यो कुरामा सहमत छु । मैले बाहिरै बोलेको छु ।’ मैले सुनेको अनुसार त्यसपछि चार–पाँचवटा कार्यक्रममा उहाँले मेरै नाम लिएर भाषण गर्नुभयो ।

तपाईंको संकेत गठबन्धन गरेर कांग्रेसले चाहेजति सफलता पाएन भन्न खोज्नुभएको हो ?

खैर अब मैले भन्न खोजेको के हो भने योपटक निर्वाचन हुनुअघि नै हामीले आधा सिट जितिसक्यौं भनेर मैले भाषण गरेको छु । निर्वाचन आयोगको तथ्याङ्क अनुसार अध्यक्ष र उपाध्यक्ष १०० भन्दामाथि उम्मेदवारी दिनेमा हामी एक नम्बरमा छौं । वडाध्यक्ष एक हजार भन्दामाथि छौं । कांग्रेस दोस्रो नम्बर छ । उम्मेदवारी दिने कुरामासमेत कांग्रेस दोस्रो हो । कांग्रेसलाई पहिलो दल भन्न मिल्दैन । पहिलो गठबन्धन हो । यसलाई निर्वाचन परिणामलेसमेत पुष्टि गरिसकेको छ ।

घात–अन्तर्घातको शिकार कांग्रेस भयो भन्ने सुनिन्थ्यो, यो रोग अब एमालेमा सल्किएको हो ?

निश्चय पनि एमालेमा जुन अराजकता देखा परेको छ, त्यसमा अन्य पार्टीलाई म दोष दिन चाहन्नँ । पछिल्लो समय हाम्रोमा जुन रोग देखा परेको छ, यो गलत हो । कुन कारणले यस्तो भयो, यसका कमजोरी खोजिरहेका छौं । हामीले टिकट वितरणमै कमजोरी गर्दा त्यसको प्रतिक्रियामा यस्तो परिणाम आयो कि ? यस्तो हुनुमा कतै हामी नेतृत्वको कमजोरी छ कि ? यी सबै कुराहरू आगामी दिनमा समीक्षा हुन्छ । मसिनोगरी हामी यसमा छलफल गर्छौं । यस्ता गलत कुरालाई सच्याउनैपर्छ, जुन जुनसुकै पार्टीमा भएपनि यो ठीक होइन । कांग्रेसका लागि यो अचम्मको कुरै हुँदैन, सँधै देखिन्छ । तर हाम्रोमा चाहिँ यसपटक जुन ढंगले देखियो यो अचम्मको कुरा छ । यसलाई हामी सच्याउँछौं र छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।

अहिले पार्टीका उम्मेदवार भन्दा पनि स्वतन्त्र उम्मेदवारप्रति जनमत आकर्षित भएको देखिन्छ । दलीय प्रणाली कमजोर हुँदै गएको भन्न मिल्छ ?

कुनै विषयमा प्रश्न उठ्यो भने त्यो विषयलाई दलहरूले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । अहिलेको निर्वाचनमा पनि केही ठाउँमा स्वतन्त्र उम्मेदवारीले लोकप्रिय मत पाएका छन् । यो विषयलाई दलहरूले गम्भीर रूपमा लिनुपर्छ । आफ्ना कुनै कमजोरी छ भने यसलाई सच्याएर अगाडि बढ्नुपर्छ । उदारणका लागि काठमाडौंमा हाम्रो तर्फबाट उपमेयरका उम्मेदवारले सारै भव्य मत ल्याएर विजयी भएका छन् । वडाध्यक्षहरू कि त एमाले कि त कांग्रेसले भव्य भोट ल्याएर जितेका छन् । तर मेयरमा कांग्रेस र एमालेका उम्मेदवार हारे ।

संविधान कानुन, स्थापित अभ्यास बमोजिम हुनुपर्यो । गठबन्धन भन्नेबित्तिकै खाली जतिबेला पायो त्यतिबेला जस्तोसुकै खालको गठबन्धन होइन नि

यी केही प्रतिनिधि घटनालाई लिएर दलहरूलाई अस्वीकार गरे भन्नेसम्मको टिप्पणी छ, त्यसप्रति म सहमत छैन । १० औं हजार उम्मेदवारी दिएकोमा केही ठाउँमा त्यस्तो हुनु अस्वभाविक होइन । मेरो अध्ययनले एक–डेढसय जति स्वतन्त्रले जित्नुभयो होला । दशौं हजारमा त्यति उम्मेदवार पर्नु र त्यतिले सफलता पायो भन्दैमा दलीय प्रणालीमाथि नै प्रश्न उठाउने कुरा ठीक होइन । यीमध्ये पनि धेरै टिकट नपाएकाहरूको असन्तुष्टिले स्वतन्त्र उम्मेदवार दिएको देखिन्छ । उहाँहरू र बालेनजीमा फरक छ ।

अब जहाँसम्म बालेनजीहरूको उम्मेदवारीको कुरा छ, उहाँले जनताको मत लिएर जितेकै हो । यसमा कुनै विवादै छैन । यद्यपि यसतर्फ दलहरूको ध्यानाकर्षण हुनुपर्छ । काठमाडौं लगायत केही ठाउँबाट जनताले जुन सन्देश दिएका छन्, त्यो सन्देशलाई दलहरूले ग्रहण गर्न सक्नुपर्छ ।

स्थानीय तहको परिणामको आधारमा फेरि गठबन्धन आवश्यक छ कि छैन ?

गठबन्धनको विषयमा प्रवेश गर्नुअघि म एउटा नीतिगत सिद्धान्तको कुरा गर्छु । हामीले संविधानमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेका छौं । संसदको कुरा गर्दा समानुपातिक र प्रत्यक्ष गरी दुवैको मिश्रित निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा बन्ने कुरा संविधानमा राखेका छौं । त्यसकारण हामीले जुन निर्वाचन प्रणाली हामीले अपनाएका छौं । यो प्रणालीबाट संसदमा कसैको पनि हत्तपत्त सजिलो बहुमत आउँदैन । निर्वाचन प्रणाली सम्बन्धी संविधानमा जुन व्यवस्था छ, त्यसैलाई लिएर अस्थिरता हुने हो कि भन्ने विज्ञहरूले प्रश्न उठाएका छन् । संविधानमा जानीबुझी हामीले छलफल गरेर नै यो निष्कर्षमा पुगेका हौं । त्यसैले गठबन्धन त संविधानले नै उत्प्रेरित गरेको छ ।

तर त्यो गठबन्धन भनेको मूल्य र मान्यतामा आधारित हुनुपर्छ । हामीले संविधानमा संसदीय प्रणाली भनेका छौं । त्यो भनिसकेपछि गठबन्धन पनि संसदीय मूल्य र मान्यतामा आधारित हुनुपर्छ । संविधान कानुन, स्थापित अभ्यास बमोजिम हुनुपर्यो । गठबन्धन भन्नेबित्तिकै खाली जतिबेला पायो त्यतिबेला जस्तोसुकै खालको गठबन्धन होइन नि । कुनै पनि बेला दलहरू एक ठाउँमा उभिन सक्छन् ।

अन्त्यमा, संघीय निर्वाचनसम्म वाम एकता हुन्छ कि हुँदैन ? फेरि वाम एकता सम्भव छ कि छैन ?

भर्खर स्थानीय तहको निर्वाचन टुंगिएको छ । सबै परिणामपछि दलहरू सायद एउटा निष्कर्षमा पुग्छन् । हामी पनि छलफलमा छौं । अहिल्यै निष्कर्षमा पुगेका छैनौं । यसबारे चाडै निष्कर्षमा पुग्छौं ।

ताजा अपडेट

नेपालवाच विशेष