NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बझाङकै एक्ली महिला वडाध्यक्ष गौरीका प्रतिबद्धता यस्ता

सुनिल मण्डेल, बझाङ । देशको राजनीतिमा पुरुषहरूको मात्र एकाधिकार चलिरहेको आरोप लागिरहेका बेला बझाङको खप्तडछान्ना गाउँपालिकामा –३ ले भने महिला वडाध्यक्ष पाएको छ । उनी हुन् विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेकी गौरीकुमारी अधिकारी रावल ।

गौरी गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट आधिकारिक वडाध्यक्ष पदको टिकट लिएर ३७१ मतका साथ भएकी हुन् । जिल्लाको राजनीति र सामाजिक काममा लोकप्रिय बन्दै उनी वडाध्यक्षसम्म पुगेकी छिन् ।

गाउँपालिकाकै विकट मानिने वडा नम्बर ३ मा स्थायी घर भएकी गौरी ०६८ मा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ डोटीको घन्टेश्वर सेती महाकाली क्याम्पसको इकाई समितिबाट राजनीतिक यात्रा सुभारम्भ गरेकी हुन् । उनी कांग्रेसको चौधौं महाधिवेशनमा बझाङको जिल्ला कार्यसमिति सदस्यमा समेत निर्वाचित भएकी छिन् ।

विकट जिल्लाका महिलाहरू शिक्षाको कमीले मेलापात र घरायसी काममा मात्र सिमित भइरहेकै समयमा गौरी भने आफूले समाजको नेतृत्व गरी महिलाका सवालमा जोडदारका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्छिन् ।

‘स्थानीय जनताका भावनालाई समेटेर समग्र वडाको विकासमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ वडाध्यक्षमा निर्वाचित भएपछि उनले भनिन् ।

गौरीले जनतासँगै दैनिक जोडिने बताएकी छिन् । खप्तड राष्ट्रिय निकुञ्जसँगै जोडिएको वडा हुनाले ‘सुखी वडावासी समृद्ध वडा’ बनाउन सहज रहेको उनी बताउँछिन् । स्रोतसाधनको पहिचान गरी जनताको अधिकार र जिम्मेवारीलाई आत्मसाथ गर्दै उत्तरदायित्व बहन गर्ने उनको भनाइ छ ।

‘निस्वार्थ भावनाले जनताको सेवामा लागेर समाज रुपान्तरणको भावना जागृति गर्दै मेरो सम्पूर्ण जीवन राजनीतिमै बिताउने छु,’ उनले भनिन् ।

पाँच वर्षीय कार्यकालमा आफ्नो वडालाई नमुना वडा बनाउन र खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकलाई आकर्षित गर्ने नवीन सोचका साथ काम गर्ने उनको प्रतिबद्धता छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता मानवजीवनका महत्वपूर्र्ण पाटोलाई नजिकैबाट नियालेर वडावासीलाई नमुना सरकारको आभाष दिलाउने गौरीले दाबी गरिन् ।

उनी बझाङ जिल्लाभरीकै एक्लो महिला उम्मेदवार भइ वडाध्यक्षमा विजयी भएकी हुन् ।