NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते
महिनावारी दिवस

महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता

काठमाडाैं । ‘भारी दिनहरु एकदम हल्का भए’ र ‘अब पिरियडको तनाव सकियो’ यहाँ सेनेटरी प्याडका दुईवटा विज्ञापनका दुई ट्यागलाइनहरू छन् । दुई बीचको भिन्नता बुझ्नुहोस् । कसैले ती ‘भारी दिनका’ बारेमा कुरा गर्छ जसका बारे कोही बोल्न चाहँदैनन् । दोस्रोमा ‘पीरियड्स’ शब्दको खुलेर प्रयोग भइरहेको छ । यो परिवर्तन समयसँगै भएको भन्न सकिन्छ । महिनावारी नभनेर ‘भारी दिन’ भन्ने समयबाट अहिले परिवर्तन भएर ‘पिरियड’सम्म आइपुगेको छ ।

विश्वमा कुनै समय थियो, विज्ञापन संसारले महिनावारीलाई महामारीका रुपमा प्रस्तुत गर्दथ्यो । आउनुहोस् हामी तपाईंलाई सेनेटरी प्याड विज्ञापनहरूको संसारमा लैजान्छाैं ।

सन् १९२० देखि २०२२ को अवधि बारेमा मानिसहरूको सोच कसरी परिवर्तन भएको थियो यहाँ लेखिएकाे छ ।

अष्ट्रेलियाको स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका लेक्चरर डा. जेन कोनोरीले महिनावारीमा दिइने विज्ञापनहरू अध्ययन गरेका थिए । उनले आफ्नो लेखमा सन् १९२० देखि १९४० सम्म सेनिटरी प्याडको विज्ञापनमा महिनावारीलाई मेडिकल समस्याका रूपमा वर्णन गरिएको बताए ।

महिनावारी हुनु एक स्वस्थ संकेत हो । यसले महिला प्रजनन प्रणाली ठीक छ भन्ने स्पष्ट गराउँछ । सन् १९२६ मा सेनेटरी प्याड बनाउने कम्पनीको विज्ञापनमा प्याडलाई ‘सर्जिकल प्रोडक्ट’ लेखिएको थियो । मेड नामक विदेशी ब्राण्डले यसलाई औषधी पनि भन्यो र प्याकेटमा रेडक्रसको चिन्ह टाँस्यो ।

आमा बन्नको लागि महिनावारी कति महत्वपूर्ण हुन्छ भन्ने सबैलाई थाहा छ । जसरी हामी सास फेर्छौं, त्यसरी नै महिनावारी महिलाको शरीरको प्राकृतिक प्रक्रिया हो तर यसबारे मानिसहरू खुल्न सकेनन् । विज्ञापनको दुनियाँले महिनावारीलाई प्राकृतिक प्रकोप, दुर्घटना पनि भनेको छ ।

यस अवधिमा प्रकाशित एक विज्ञापनमा दुई महिलाको तस्बिर छापिएको थियो, त्यसमा ती महिलाले गोप्य रूपमा कुरा गरेको देखाइएको थियो । ती विज्ञापनमा महिनावारीलाई रहस्यमय विषय बनाइन्थ्यो ।

सन् १९३० को दशकमा धेरै देशमा ट्याम्पोनहरू बजारमा आए तर महिलाहरू तिनीहरूबाट टाढा रहे । उनीहरूलाई ट्याम्पोन प्रयोग गर्दा आफ्नो कुमारीत्वलाई हानि पुग्ने डर देखाइयो । धर्मगुरुहरूले पनि ट्याम्पोनविरुद्ध आवाज उठाए । दोस्रो विश्वयुद्ध पछि ट्याम्पोनको प्रयोग बढ्यो । सन् १९६० देखि १९७० सम्म धेरैले ट्याम्पोन बजारमा बेच्न थाले । यो महिलालाई हाते झोलामा राख्न पनि सजिलो थियो ।

सन् १९३९ देखि १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धमा जोन्सन एण्ड जोन्सन कम्पनीको सम्पूर्ण ध्यान औषधि उत्पादन र आपूर्तिमा थियो । यस्तो अवस्थामा अस्ट्रेलियालगायत धेरै देशका बजारमा सेनेटरी प्याडको अभाव देखिएपछि यसबारे कम्पनीले विज्ञापनमार्फत माफीसमेत मागेको थियो ।

दोस्रो विश्वयुद्धको समयसम्म प्याड, ट्याम्पोनका विज्ञापनमा नर्स, डाक्टर र वैज्ञानिककाे भूमिकामा महिला देखिन्थे । सन् १९४४ मा शिक्षक, सन् १९८० मा सचिव, सन् १९८२ मा एयर होस्टेस र सन् १९९४ मा आमाकाे भूमिकामा विज्ञापनमा महिलाहरू देखाइएको थियो ।

सन् १९७४ पछि पिरियड शब्दकाे प्रयाेग

विज्ञापनमा त्यसबेला रातो रङ देखाइँदैनथ्यो । यसबारे कसैले खुलेर बोल्न चाहँदैनथे । तर सन् १९७४ पछि पहिलोपटक विज्ञापनमा पिरियड शब्द उल्लेख गरिएको थियो । प्याडकाे विज्ञापनमा सेतो रंगको धेरै प्रयोग गरिएको थियो । सन् १९७३ मा डक्टर ह्वाइट नामको विदेशी ब्रान्डले सेतो बिकिनी, प्यान्ट सुट र सेतो पोशाकमा एक महिलालाई देखाएको थियो ।

सन् १९७५ मा स्टेफ्रीको विज्ञापनमा सेतो पोशाक लगाएकी युवतीलाई पनि देखाइएको थियो । यी सबै विज्ञापनमा महिनावारीको अवधिलाई फोहोर अवस्था, एक शारीरिक विकारका रूपमा वर्णन गरिएको थियो र त्यसका लागि प्याड र ट्याम्पोनहरु उपयुक्त हुने भनि प्रचार गरिन्थ्यो ।

विदेशमा महिनावारीलाई महामारीका रूपमा देखाउने विज्ञापनले सन् १९७० सम्म यसको रंग निलो देखाएको थियो । प्याडले सोस्ने क्षमता कति राम्रो छ भनेर देखाउन निलो मसी प्रयोग गरिन्थ्यो । कुन प्याडले कति ओसिलोपन लिन सक्छ भनेर सन् १९८३ मा देखि विज्ञापन गर्न सुरु भएको थियो ।

सेनिटरी नेपकिनको विज्ञापनको उद्देश्य उत्पादन बेच्नु मात्र हो । व्यापारीहरुले समाजमा महिनावारीका बारे मानिसमा कस्तो नकारात्मक धारणा पैदा गरिराखेको छ भन्ने वास्ता गर्दैनन् । भारतीय बजारमा सेनेटरी प्याडहरू महिला सशक्तिकरणको विषयवस्तुमा बनाइएको थियो । सन् २००८ मा एक कम्पनीको सेनेटरी प्याड विज्ञापनमा ट्याग लाइनमा ‘सम्झौता कुनै कुरामा पनि हुँदैन ।’

अन्य देशमा जस्तै भारतमा पनि त्यतिवेला महिनावारीलाई ‘ती दिन’ भनेर सेतो रङको चर्चा हुन्थ्यो । सेतो लुगा, सेतो पछ्यौरा, सेतो पर्दा‘ सबै कुराले सेतोपन फैलाउने काम गर्दथ्यो । सन् २०१४ देखि महिनावारीलाई ‘ती दिन’ भनेर भन्न बन्द गरिएको छ । सन् २०१४ मा एक विज्ञापनले सेतो रङको मानसिकता परिवर्तन गर्यो ।

धेरै वर्षसम्म महिनावारीको नाममा देखाइने रगतलाई रातो नभई नीलो देखाइएको थियो । महिनावारीको समयमा नीलो रगत बग्छ भन्ने विश्वास गर्ने धेरै मानिसहरू थिए । तर सेनेटरी प्याडको विज्ञापनको संसारमा सन् २०२० भारतका लागि ऐतिहासिक बन्यो । २०२० मा, रियो कम्पनी र २०२१ मा व्हिस्पर इन्डियाले नीलो मसीको पुरानो अवधारणा त्यागेर आफ्नो विज्ञापनमा रातो रङको तरल पदार्थ देखाउन सुरु गरेको छ । यस रूढिवादी समाजमा अरुणाचलम मुरुगनन्थमको बारेमा एक फिल्म बनाइएको थियो, जसलाई प्याडम्यान भनिन्छ, जसमा अक्षय कुमारले मुख्य भूमिका खेलेका थिए । फिल्मले सेनेटरी प्याडबारे खुला छलफलका लागि मार्ग प्रशस्त गर्न मद्दत गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष