NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती

काठमाडौं । निर्वाचित जनप्रतिनिधि नहुँदा सनतकुमार थापाले विभिन्न समयमा पटक–पटक काठमाडौं महानगरमा निमित्त प्रमुखको भूमिका निभाए । झण्डै चार दशक प्रशासनिक क्षेत्रमा गुजारेका थापाले आफ्नो ३९ वर्षे जागिरे जीवनको १८ वर्ष यही महानगरमा बिताएका थिए । काठमाडौं महानगरमा प्रवेश गर्दा वरिष्ठ अधिकृत थापा निमित्त प्रमुख पदसम्म पुगेर सेवानिवृत्त भएको डेढ वर्ष भएको छ ।

यही महानगरमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मेयरतर्फ स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन् । शाहको जितले महानगरपालिकामात्र नभएर देशभर आशाको सञ्चार गराइरहँदा उनका कठिनाइ र चुनौतीबारे चर्चा परिचर्चा भइरहेका छन् । कर्मचारीहरूले असहयोग गर्न सक्नेजस्ता आशंका पनि व्याप्त छन् ।

महानगरभित्रको प्रशासनिक पाटोलाई नजिकबाट नियालेका र भोगेका थापासँग हामीले त्यहाँभित्रका अप्ठ्यारा र बालेनले भोग्नुपर्ने सम्भावित चुनौतीबारे जिज्ञासा राखेका छौं । थापाले पर्गेलेका बालेनका अप्ठ्यारा र चुनौती उनकै शब्दमा  :

दलआबद्ध कर्मचारी

मैले राष्ट्र सेवक कर्मचारीका रूपमा सरकारी सेवामा ३९ वर्ष बिताएँ । आफ्नो अनुभवका आधारमा यतिचाहिँ निर्मम भएर भन्न सक्छु कि यो देश बिगार्न भूमिका खेल्नेहरूको पहिलो  पंक्तिमा कर्मचारी पर्छन् । यो विकृतिबाट काठमाडौं महानगरपालिका पनि अछुतो छैन । त्यहाँ नवनिर्वाचित मेयर बालेन साहलाई काममा असहयोग गर्नसक्ने कर्मचारीको पंक्ति उत्तिकै हाबी हुन सक्छन् ।

कार्यालयमा कोही मन्त्री आउँदा हामी ‘माननीयज्यू नमस्कार’ गथ्र्यौं । तर, पार्टीमा आबद्ध कर्मचारीहरू ‘जय नेपाल’, ‘कमरेड अभिभादन’ तथा ‘लालसलाम’ भन्दै आदर टक्राउँथे ।

उहाँ स्वतन्त्र उम्मेदवारबाट आउनुभएको छ । हाल महानगरमा राजनीतिक दलको सदस्यता नलिने कर्मचारी नै छैनन् । विगतमा म बहालमा हुँदा पनि त्यस्ता धेरै समस्या भोगियो । कार्यालयमा कोही मन्त्री आउँदा हामी ‘माननीयज्यू नमस्कार’ गथ्र्यौं । तर, पार्टीमा आबद्ध कर्मचारीहरू ‘जय नेपाल’, ‘कमरेड अभिभादन’ तथा ‘लालसलाम’ भन्दै आदर टक्राउँथे । मन्त्रीहरूसँग व्यक्तिगत चिनजान पनि हुन नपर्ने । पार्टीको सम्बोधन गर्नेबित्तिकै आफ्नो भई हालिने रहेछ । यसरी पार्टी निकट कर्मचारीले एकअर्काप्रति विभिन्न भ्रम छरेर बदनाम गराइरहेका हुन्छन् ।

कर्मचारीका भातृ संगठन

महानगरमा कर्मचारीका चारवटा भातृ संगठन छन् । एमाले, माओवादी, कांग्रेस र राप्रपाका यी संगठनले विभिन्न अनावश्यक माग तेस्र्याउने नाममा बाधा पुर्याउँछन् । भातृ संगठनबाट आएका कर्मचारीले त काम नै गर्नु नपर्ने सुविधा त्यहीँ देखिन्छ ।

पार्टीको संगठनबाट नियुक्ति पाएको व्यक्ति इलेक्ट्रिसियन छ भने प्रशासनमा गएर काम गरिरहेको हुन्छ । प्लम्बर छ भने पनि प्रशासनमा काम गरिरहेको भेटिन्छ । भातृ संगठनको व्यक्ति भएपछि जे पनि छुट हुने वातावरण छ । यसरी आफ्नो पदअनुसारको काम नगरेर अर्कै काम गरिरेहका कर्मचारी अनगिन्ती छन् ।

शाहको यतिबेला न कुनै सचिवालय छ न हेल्पिङ ह्याण्ड । त्यहाँ भएकाहरू को–कोबाट सञ्चालित छन् भन्ने पनि पत्तो हुँदैन । त्यसैले को–कस्तो भनेर पहिचान गर्न उनलाई सजिलो हुनेछैन ।

विभिन्न दलका यस्ता संगठनहरूले सुरुमै आफ्नो बैठक बसेर नगर प्रमुखसामु माग तेस्र्याउँछन् । त्यो माग तेस्र्याउनुअघि महानगरभित्र काम गर्ने जिम्मेवारी नगर प्रमुखको मात्रै नभएर कर्मचारीको पनि हो भन्ने विषयचाहिँ ख्याल गर्दैनन् ।

उदाहरणका लागि आफ्नो अगाडि फोहोर छ भने कुचो हातमा भएको व्यक्तिले सफा गरिदिए त्यो हट्छ । तर यो फोहोर कसरी भयो ? भन्दै नारा लगाए के हुन्छ ? महानगरका भातृ संगठनले पुर्याउने बाधा यस्तै हुन्छ ।

अस्वाभाविक माग राख्ने अर्को समस्या पनि यहाँ छ । शाहको यतिबेला न कुनै सचिवालय छ न हेल्पिङ ह्याण्ड । त्यहाँ भएकाहरू को–कोबाट सञ्चालित छन् भन्ने पनि पत्तो हुँदैन । त्यसैले को–कस्तो भनेर पहिचान गर्न उनलाई सजिलो हुनेछैन ।

फोहोर व्यवस्थापन

काठमाडौं महानगरपालिकाका लागि फोहोर टाउको दुखाइको विषय छ । यसको व्यवस्थापन वालेनका अगाडि ठूलो चुनौतीका रूपमा खडा छ । त्यो व्यवस्थापन गर्न गाह्रो भए पनि असम्भव नै भने छैन । किनभने, महानगर नेता र जनप्रतिनिधिको मात्रै होइन । फोहोरको दायित्व सबैले बोक्नुपर्छ । आफ्नो घर तथा टोल सफा गर्ने पहिलो दायित्व हाम्रो हो । घरबाटै कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्नमा अब सुधार आउनुपर्छ । अहिलेको शिक्षित पुस्ताले आफ्नो फोहोर व्यवस्थापनको जिम्मेवारी लिइदिए भने केही हदसम्म सहज हुन्छ ।

विभिन्न समयमा यसको समाधानका लागि काम नभएका होइनन् । तर त्यसले मूर्त रूप लिन सकेनन् । यसका एउटा मात्र नभएर विभिन्न कारण छन् । प्राविधिकदेखि जनशक्तिको कमीकमजोरीका कारण विगतमा फोहोर व्यवस्थापनका लागि थालिएका प्रयास सफल भएनन् । विगतमा विभिन निजी संस्थाहरू फोहोरलाई मोहोर बनाउने उद्देश्य लिएर नआएका होइनन् । त्यसलाई यहाँको कानूनले पनि बाधा पुर्यायो । काठमाडौंको फोहोर व्यवस्थापनमा पनि विगतमा विभिन्न पार्टीका कार्यकर्ताले अवरोध पुर्याउँदै आएका थिए र छन् । कुनै पार्टीगत संगठन नहुँदा त्यो जालोलाई चिर्दै यसको व्यवस्थापन गर्नु पनि बालेनका लागि अर्को मुख्य चुनौती हुनेछ ।

एकपटक मलाई गाडी चालक राख्नुपर्ने भएपछि चालकको पदमा नियुक्त भएका कर्मचारीलाई ल्याइयो । तर पछि सवारी प्रमाणपत्र नवीकरण गर्न जाँदा थाहा भयो उसको त सवारी चालकको अनुमतिपत्र नै रहेनछ ।

फोहोर व्यवस्थापनको सन्दर्भमा बालेनलाई असफल गराएर आफू सफल हुन खोज्ने तह र तप्का नहोलान् भन्न सकिन्न । उनीहरूसँग सतर्क रहन जरुरी छ ।

महानगरमा कर्मचारीको प्रवृत्ति

म आफैं पनि महानगरको पूर्वकर्मचारी । आफ्नो अनुभवकै आधारमा भन्नुपर्दा अधिकांश कर्मचारीहरूमा हुनुपर्ने गुणमा पूर्णता छैन । यो सबैले महसुस गरेको विषय मैले लुकाएर पनि लुक्दैन । कानूनमा स्पष्ट उल्लेख भएका विषयहरूलाई पनि गोलमटोल गर्ने प्रवित्तिका कर्मचारी त्यहाँ हाबी छन् । समयमा काम नगरिदिने र हतार गरेर अन्तिम अवस्थामा फाइलमा हस्ताक्षर गर्न बाध्य बनाउने रोग पनि छ । यति समयभित्र गरिएन भने यो काम बितिसक्छ भनेपछि त त्यो फायल राम्ररी हेर्नसमेत नपाई हस्ताक्षर गर्न बाध्य बनाउँछन् । त्यस्तो समस्या मैले आफैं पनि धेरै भोगेँ । कतिपय अवस्थामा हतारमा आएका फाइल फर्काउँदा मलाई काम नै गर्दैन, धेरै किचकिच गर्छ भन्ने आरोप पनि लाग्यो ।

प्रशासनिक सुधार

महानगरमा गर्नुपर्ने प्रशासनिक सुधारका काम धेरै छ्न् । त्यसको लागि छुट्टै कार्यदल नै गठन गर्नुपर्ने आवश्यकता देख्छु म । अधिकांश कर्मचारी आफू जुन पदमा हो, त्यही काम गर्दैनन् । यदि नगर्ने हो भने विधिवत् रूपमा पद नै परिवर्तन गराएर लैजानुप-यो । म निमित्त प्रमुख हुँदाको एउटा घटना सुनाउँछु । एकपटक मलाई गाडी चालक राख्नुपर्ने भएपछि चालकको पदमा नियुक्त भएका कर्मचारीलाई ल्याइयो । तर पछि सवारी प्रमाणपत्र नवीकरण गर्न जाँदा थाहा भयो उसको त सवारी चालकको अनुमतिपत्र नै रहेनछ । त्योबेलामा केही दुर्घटना भइदिएको भए त्यसको जवाफदेहिता त मैले नै भोग्नुपथ्र्यो । यी विषय हेर्दा सामान्य लाग्छन् । तर, यस्तै साना प्रशासनिक समस्याले नै प्रमुखलाई असफल बनाउनमा इँट्टा थपिरहेको हुन्छ । कोही कर्मचारी २० औं वर्षसम्म एकै पदमा बस्न बाध्य छन् भने कसैको प्रत्येक ६ महिनामा सरुवा भइरहेको हुन्छ । यस्ता समस्याको सुधार आवश्यक छ ।

स्रोत साधनको दुरूपयोग

काठमाडौं महानगरपालिकाले आफ्नो दैनिक कार्य सम्पादन गर्ने सम्बन्धमा दैनिक हुने खर्चमा पनि ध्यान दिनुपर्छ । उदाहरणका लागि त्यहाँ हुने विभिन्न सवारी साधनमा खपत हुने इन्धनलाई लिऊँ । कर्मचारीवृत्तबाट यसको चरम दुरूपयोग भइरहेको छ । त्यसलाई जोगाउन सकिन्छ । त्यहाँ खपत हुने इन्धनको विकृतिलाई मिहीन ढंगले हेरिनुपर्छ । कर्मचारीहरूले आफ्नो आवश्यकता अनुपातको इन्धन प्रयोग गर्नुपर्ने हो । तर आवश्यक नै नहुनेले पनि सय लिटर इन्धन प्रयोग गरिरहेका छ्रन । दुई किलोमिटर नजिक घर हुनेले पनि सय लिटर इन्धन प्रयोग गर्छ भने त्योभन्दा टाढा हुनेले पनि उही । अझ सवारी नै नचढ्नेले पनि इन्धन खपत गर्ने त कति हो कति ।

महामारीको समयमा महानगरका कर्मचारीहरूले बिदाको दिनसमेत सरकारी गाडी दुरूपयोग गरेर बाहिर मदिरा सेवन गर्दै, अझ आफैैं फेसबुकमा फोटो राखेर बहादुरी देखाए ।

सवारी सुविधा दिनेमा उस्तै विकृति छ । कतिपय सवारी सुविधा पाउनुपर्ने विभागीय प्रमुखले पाएका छैनन् भने कतिपय पाउनै नपर्नेले सवारी सुविधा लिइरहेका छन् । अर्कोतिर कर्मचारीहरूको आफ्नो समूहगत सिन्डिकेट छ । स्रोत साधनको दुरूपयोग त कोरोना महामारीमा पनि देखियो । महामारीको समयमा महानगरका कर्मचारीहरूले बिदाको दिनसमेत सरकारी गाडी दुरूपयोग गरेर बाहिर मदिरा सेवन गर्दै, अझ आफैैं फेसबुकमा फोटो राखेर बहादुरी देखाए । विगतमा यस्ता विकृतिलाई पूर्वमेयरले कारबाही गर्नुको साटो उल्टो बचाउमा उत्रिनुभयो ।

बदनाम गराउने कर्मचारीको तप्का

महानगरमा केही कर्मचारीको काम नै प्रमुखलाई कसरी बदनाम गराउने भन्नेतिर हुन्छ । कहिलेकाहीँ केही नगरी नहुने साना–साना काम हुन्छन् । तर कर्मचारीहरूले त्यसमै खेल्दिन सक्ने सम्भावना हुन्छ । त्यस्तो हुँदा सम्हाल्नै गाह्रो अवस्था आउँछ । विगतमा विद्यासुन्दर शाक्यले मेयर पदमा निर्वाचित भएर आउनासाथ जनप्रतिनिधिलाई मोबाइल दिने विषयलाई बोर्डबाट स्वीकृत गराएर प्रचारप्रसार गराउनुपर्ने आवश्यकता थिएन ।

कर्मचारीको तलब कति छ भन्ने विषय त छर्लंगै छ । तर जागिर खाएको दुई\चार वर्षमै घरजग्गा जोडिन्छन् ।

यो विषयलाई कर्मचारीहरूले नै उचाले । आम पब्लिकको धारणामा मेयरले आउन नपाई मोबाइल लियो भन्ने बुझाइ बस्यो । सवारी खरिद गर्ने विषयमा पनि उहाँ आउन नपाई कर्मचारीले सवारी खरिदमा जोड गर्न थाले । उहाँ आएर केही काम गरिसकेपछि पनि यो विषयमा जोड गर्न सकिन्थ्यो । तर सुरुमै यस्तो गर्दा पनि आउन नपाई गाडी खरिद गरेको भनेर उहाँकै बदनाम भयो । आफ्नो मेयर विवादमा ल्याउनु भनेको सिंगो कर्मचारीतन्त्र पनि विवादमा आउनु हो ।

कर्मचारीको सम्पत्ति शुद्धीकरणको आवश्यकता

यस्ता विकृति चिर्नका लागि सबैभन्दा पहिला चाल्न सकिने कदम भनेको सम्पत्ति शुद्धीकरण हो । महानगरका हरेक कर्मचारीको सम्पत्ति शुद्धीकरण हुनुपर्छ । यो सुरुवात गर्यो भने सुशासन कायम हुन्छ । कर्मचारीको तलब कति छ भन्ने विषय त छर्लंगै छ । तर जागिर खाएको दुई\चार वर्षमै घरजग्गा जोडिन्छन् । यसको लेखाजोखा गर्न र भ्रष्टाचारप्रति शून्य सहनशीलता कायम गर्ने हो भने सम्पत्ति शुद्धीकरणको सुरुवात काठमाडौं महानगरबाट थाल्न जरुरी छ ।

नगरसभाको सहयोगबारे

बाहिर हल्ला गरिएजस्तो बालेन शाहलाई नगरसभाका सदस्यले सहयोग नै गर्दैनन् भन्ने विषयमा म व्यावहारिकता देख्दिनँ । उहाँलाई त झन् एमाले, कांग्रेस सबै दलले सहयोग गर्ने देखेको छु । किनभने, उहाँ न सत्ता पक्ष हो न प्रतिपक्ष । उहाँ त स्वतन्त्र व्यक्ति भएका कारण सबैले आफ्नाे मान्न सक्ने सम्भावना छ । कदमकदाचित यदि नगरसभाबाट अहियोग भएमा त्यसको सन्देश त जनतामाझ जान्छ । यसले उल्टै पार्टीलाई नै क्षति पुग्ने देखिन्छ । किनभने, केही समयपछि त संसदीय चुनाव आउँदैछ । स्थानीय स्वायत्त शासन ऐनमा पनि पक्ष या विपक्ष छैन । त्यसकारण सबै पक्ष हो भने सबै विपक्ष । छलफलको क्रममा व्यक्तिहरूले आफ्नो धारणा राख्ने क्रममा केही असन्तुुष्टि हुनसक्लान् । त्यो त छलफलमै टुंगाउन सकिने विषय हो ।

नेपालवाचकर्मी कञ्चन न्यौपानेसँग कुराकानीमा आधारित