NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

के जहाज कहिल्यै पुरानो हुँदैन ?

काठमाडौं । हवाइ यात्रालाई सुरक्षित मानिने गरिए पनि पछिल्ला वर्षमा नेपालमा हवाई दुर्घटनाको क्रम बढ्दो छ । निजी वायुसेवा कम्पनी यति एयर ताराको विमान पोखराबाट जोमसोमका लागि उडान क्रममा दुर्घटनामा परेको छ । ताराको विमान दुर्घटनामा परेपछि कतिपयले जहाज पुरानो हो कि भनेर प्रश्न उठाएका छन् । भर्खरै मात्र धरानका मेयरमा निर्वाचित हर्कराज साम्पाङले त जहाज थोत्रे रहेको भन्दै हटाउन सरकारसँग माग गरेका छन् ।

के जहाज पुरानो हुँदैन ?

तारा एयरको उक्त प्रकरणपछि जनमानसमा जहाज पुरानो हुने/नहुनेबारे पनि बहस चलेको छ। यो लेखमा विज्ञसँगको कुराकानीको आधारमा जहाजका पाटपुर्जाको मेन्टेनेन्स कसरी गरिन्छन् र जहाज पुरानो हुनेरनहुनेबारे चर्चा गरिएको छ। वास्तावमा विमानको उमेर निर्धारण गर्नु आफैंमा जटिल विषय हो।

यसलाई क्रोनोलोजिकल उमेर पनि भनिने गरिन्छ। जसमा केही महत्वपूर्ण कम्पोनेन्टहरू पर्छन् । क्रोनोलोजिकल उमेर, उडान संख्या, उडान घण्टालाई जोडेर नै जहाजको उमेर बन्छ। यी सबै कम्पोनेन्टको पनि आ–आफ्नै उमेरहद भएकै कारण पूरा जहाजको उमेर निर्धारण गर्नु जटिल काम हो। क्रोनोलोजिकल उमेरमा जहाज निर्माण भएको मितिलाई आधार मानिन्छ। त्यसकारण जहाजलाई पुरानोे भन्नुअघि यी सबै कम्पोनेन्टहरूको अध्ययन गर्नुपर्छ । विज्ञका अनुसार जहाजका सबै पाटपुर्र्जाको आफ्नै आयु हुन्छ। यसलाई हवाई उडान क्षेत्रको भाषामा ‘सिर्टिफिकेट अफ एइर वर्दिनेस’ भनिन्छ ।

यो प्रमाणपत्र विभिन्न अन्तर्राष्ट्रिय नियमन निकायहरूले विभिन्न चेकजाँचको आधारमा दिएका हुन्छन्। यसको प्रमाणपत्र भएसम्मका लागि त्यो जहाजका पाटपुर्जा उडानका लागि योग्य हुन्छन्। जुन वर्षसँग सम्बन्धित हुँदैन। उदाहरणको लागि बोइङको पाटपुर्जाको समय ३ सय घण्टा हुन्छ भने एयरबसको सामानको १ सय २० घण्टामात्रै हुन्छ। जहाजका हरेक पाटपुर्जाको यो प्रमाणपत्र हुन्छ। किनभने ती सबै पाटपुर्जाका आफ्नै आयु हुन्छन्। निश्चित समय उडेपछि ती पाटपुर्जाको पनि आयु सकिन्छ । विज्ञका भाषामा भन्नुपर्दा जहाज पुरानो हुँदैनन्। इन्जिन कति घण्टा उड्न सक्छ भन्ने सीमा निर्धारित हुन्छ । समय सीमा पूरा भएपछि त्यसलाई उडाइँदैन, पूर्ण जाँचपछि मर्मत(ओभरहल) गरिन्छ। यस्तो गर्दा सबै उपकरण नयाँ जडान गर्नुपर्छ। सडकमा गुड्ने सवारी साधनको सर्भिसिङ र ओभरहल फरक कुरा हुन्। इन्जिनको सन्दर्भमा कुरा गर्दा बोइङको इन्जिनको समयसीमा ४५ सय देखि ५ हजार घण्टा हुन्छ भने एयरबसको ३५ सयदेखि ४ हजार घण्टासम्म हुन्छ। ट्वीनअटरको ल्याण्डिङ गियर १२ हजार घण्टा उडेपछि फेर्नुपर्छ। हरेक जहाजको आ-आफ्नै समयसीमा हुन्छन्। निश्चित समय उडेपछि इन्जिन पनि थोत्रो भएको मानिन्छ ।

त्यसपछि जहाजको इन्जिनको पनि ओभरहल गर्नुपर्छ। ओभरहल गरेर जहाजलाई नयाँ बनाइन्छ। इन्जिनमात्रै नभएर जहाजका सबै पाटपुर्जाको ओभरहल हुन्छ। जहाजको ओभरहल भए नभएको निगरानी हरेक देशका नागरिक उड्डयन प्राधिकरणले गर्छन्। प्राधिकरणलाई पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ) ले निगरानी गर्छ। त्यसकारण सडकमा गुड्ने सवारी पुरानो भएर पनि चलाएजसरी जहाजको पनि समयसीमा सकिएपछि चलाउन सम्भव छैन। केही समयअघिमात्रै नेपाल आइकाओको रातो सूचीबाट हटेको हो । यूरोपियन यूनियनमा भने अझै कालो सूचीमा छ।

तर सामान्यतया जहाजले गर्ने उडानसंख्या र चक्रलाई आधार मानेर जहाजको उमेर २० वर्षसम्म हुने बताइन्छ। नेपालको नियामक निकाय प्राधिकरणले पनि २० वर्ष भन्दा माथिका जहाज ल्याउन दिँदैन। तर, समयक्रम अनुसार जहाजको मेन्टेनेन्सको आधारमा सबै पाटपुर्जाको आफ्नो जीवन रहेसम्म जहाज उडाउन सकिन्छ। आयु सकिएपछि नियामक निकाय प्राधिकरणले उडानमा रोक लगाउँछ। जहाजको सन्दर्भमा वर्षसँग भन्दा पनि साइकल (चक्र) सँग महत्व राख्छ। एक पटक उडान गरेपछि जहाजको एउटा साइकल सकिन्छ। इन्जिनको पनि आफ्नै साइकल हुन्छ ।