NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

तारा एयर दुर्घटना : वर्षमा १० दिन मात्रै सँगै बस्न अनुमति पाएको भारतीय परिवारको दुःखद् अन्त्य

काठमाडौं । आइतबार पाेखराबाट जाेमसाेमका लागि उडानका क्रममा दुर्घटनामा परेकाे तारा एयरलाइन्सको विमानको भग्नावशेष भेटिएको छ । नेपाली सेनाको खोज तथा उद्धार टोलीले विमान दुर्घटनामा परेको पुष्टि गरेकाे हाे । विमानमा चालक दलसहित २२ जना थिए ।

यस दुर्घटनामा भारतको एउटा परिवार पनि परेको छ । विमानमा सवार चारै भारतीय एकै परिवारका थिए । जसमा श्रीमान्श्रीमती र दुई छोराछोरी थिए ।

महाराष्ट्रकाे ठाणेका ५४ वर्षका श्रीमान् अशोक त्रिपाठी, उनकी ५१ वर्षीया श्रीमती वैभवी बाँडेकर त्रिपाठीसँग अलग्गै बस्दै आएका थिए । दुवैको सम्बन्धविच्छेद हुन लागेको थियो । अदालतले सम्पूर्ण परिवारलाई वर्षमा १० दिन सँगै बिताउन अनुमति दिएको थियो ।

२२ वर्षका छोरा धनुष त्रिपाठी र १८ वर्षकी छोरी ऋतिका त्रिपाठी दुवैले परिवारसँगै हुनलाई त्यही १० दिन वर्षभरी कुर्थे । चारै जना यसपटक यही १० दिनको समयमा नेपाल भ्रमणमा आएका थिए । उनी आइतबार पोखराबाट तारा एअरमा मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शनका लागि जाँदै थिए ।

विमान दुर्घटनाको जानकारी पाएपछि एक छिमेकीले भने, ‘यो दुर्भाग्यपूर्ण छ र हामी सबै स्तब्ध छौं । त्रिपाठी परिवारबाहेक वैभवीको बुढी आमा पनि घरमा बस्थिन् । सन्तान दुर्घटनामा परेपछि अहिले आमाको अवस्था नाजुक छ ।’

केही दिनअघि उनको शल्यक्रिया भएको थियो र उनी घरमा एक्लै बसेकी थिइन् । त्रिपाठीका आफन्तलाई नेपालस्थित भारतीय दूतावासमा सम्पर्क गर्न भनिएको छ ।

वैभवी मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा रहेको एक निजी कम्पनीमा सफ्टवेयर इन्जिनियरको रूपमा काम गर्थिन् । अशोकको ओडिशामा एचआर कन्सल्टेन्सी फर्म छ । वैभवी आफ्नी आमा छोरा र छोरीसँग ठाणेको फ्ल्याटमा बस्थिन । छोरा धनुष इन्जिनियर हुन् भने छोरी ऋतिका स्कुल पढ्दै थिइन् ।

अशोक ५ दाजुभाइमध्ये चौथो हुन् । उनका अधिकांश परिवार पुणेमा बस्छन् । दुर्घटनाको जानकारी पाएलगत्तै पूरै परिवार राति नै ठाणे पुगेका थिए । अशोकका बुबा जिल्ला न्यायाधीश हुन् ।

विमान बेपत्ता भएको खबर पाएपछि अशोकका भाइ कानन त्रिपाठीले भने, ‘अशोक सोनपुर आएर मसँगै नेपाल घुम्ने योजना बनाएका थिए । नेपाल भ्रमणमा जान पाउँदा उनी धेरै खुसी थिए । तर मेराे केही काम भएका कारण म नेपाल जान पाइनँ ।’

अशोक मे २६ गते मुम्बई पुगेका थिए र यो परिवार त्यहाँबाट नेपाल आएको थियो । अशोकका केयरटेकरले भने, ‘सर (अशोक) मुम्बई जाँदा मलाई घरको हेरचाह गर्नु भनेर जानु भएको थियो । उहाँले आफू कहिले भारत फर्किने भनेर केही भन्नु भएको थिएन ।’

तारा एयरलाइन्सको सम्पर्कविहीन जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका– २ स्थित सानोस्वारमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । १४ हजार पाँच सय फिटमा खसेको जहाज टुक्रा–टुक्रा अवस्थामा भेटिएको हो । आइतबार जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा पोखराको धवानमार्ग छोडेको ताराको ९ एनएइटी कलसाइनको जहाज सम्पर्कविहिन भएको थियो । जहाजमा चालक दलका सदस्यसहित २२ यात्रु सवार थिए । अहिलेसम्म १२ जनाको शव भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बताएका छन् ।

तारा एयरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

दुर्घटना अपडेट : पहिचान हुने अवस्थामा छैनन् शव