NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

मोटरसाइकलको नेपाली बजार : अघिअघि बजाज, पछिपछि होण्डा

काठमाडौं । कुनै जमाना थियो, होण्डा बाइककै पर्यायवाची थियो । जुनसुकै ब्राण्डको बाइकलाई पनि होण्डा भनेर चिनिन्थ्यो । मोटरसाइकलका पारखीको रहर हुन्थ्यो, जीवनमा एकपटक होण्डा चढ्ने ।

त्यसैले नेपाली बजारमा होण्डाका हिरोहोण्डा, स्प्लेन्डर, साइन बाइकको दबदबा थियो ।

समय बदलिएसँगै मोटरसाइकलको बजार पनि फेरिएको छ । हिजोको पुस्ताले होण्डा रुचाएजस्तै नयाँ पुस्तामा मोटरसाइकल भनेकै पल्सर भन्ने भास्य स्थापित हुँदैछ ।

यो कुनै कोरा दाबी नभएर तथ्यांकले देखाएको चित्र हो ।

सन् २०१६ देखि २०२२ सम्मको तथ्यांकले होण्डाको बजार खस्किएको र बजारका पल्सरलगायत मोटरसाइकलको बढेको देखाउँछ ।

सन् २०१६ को अगस्टदेखि डिसेम्बरसम्ममा नेपाली बजारमा बजाजका विभिन्न मोडलका ३४ हजार ९ सय २० वटा मोटरसाइकल भित्रिएको थियो ।

त्यतिखेर बजाजका १ सय ५० सिसी, १ सय २५ सिसी, २ सय २० सिसी, एक सय सिसीलगायत क्षमताका मोटरसाइकल भित्रिएको थियो । एभेन्जर एक सय ५० सिसी, एभेन्जर २२० क्रुजका बाइकहरू पनि उत्तिकै थिए ।

सोही समयमा  होण्डाले एक सय १० सिसीदेखि एक सय २५ सिसी र १ सय ६३ सिसिका मोटरसाइक भित्र्याएको थियो । सन् २०१६ को अगस्टदेखि डिसेम्बरसम्म नेपालमा भित्रिएका होण्डाका मोटरसाइकलको संख्या बजाजको भन्दा आधा कम अर्थात् १७ हजार एक सय ५३ वटा मात्र थियो ।

सन् २०१७ मा बजाजले ७८ हजार ३ सय ८४ वटा बाइक नेपाल भित्र्याएको थियो । त्यसबापत नेपालमा बजाजको आधिकारिक बिक्रेता कम्पनीले करोडौं राजस्व तिरेका थिए ।

त्यही वर्ष होण्डाले जम्मा २७ हजार ९ सय ७३ वटा मोटरसाइकल मात्रै थप गर्नसक्यो । होण्डा कम्पनीको नेपालको आधिकारिक बिक्रेता ज्योति ग्रुपका एक कर्मचारी २०१६ मा ल्याइएका बाइक नै बिक्री नभएपछि प्रतिस्पर्धी कम्पनीको तुलनामा कम बाइक भित्र्याएको बताउँछन् ।

होण्डाको खस्कँदो बजार अवस्था सन् २०१८ मा पनि सुधार हुन सकेन । बरु थप खस्कियो । यो वर्ष होण्डा कम्पनीले थप २४ हजार १६ वटा नयाँ बाइकमात्रै नेपाल भित्रायाे । जबकि, त्यही वर्ष बजाज कम्पनीले ७३ हजार ६८ वटा नयाँ बाइक भित्र्याएको थियो ।

सन् २०१९ मा बजाजले ७३ हजार ३९२ बाइक नेपाली बजारका लागि भित्राउँदा होण्डाले २३ हजार ८८० वटा ल्याएको थियो ।

सन् २०२० र २०२१ मा बजाजका बाइकको माग बढ्ने र होण्डाको खस्किने सिलसिलाले निरन्तरता पायो । सन् २०२० मा ५९ हजार ४२३ र २०२१ मा ८५ हजार ५९२ बाइक भित्राएर बजाजले नेपाली बजारमा प्रभुत्व बढाइरहँदा होण्डाले २०२१ मा १० हजार ४१३ र २०२१ मा २३ हजार ६६६ बाइक भित्राउन सक्यो ।

सन् २०२२ मा पनि बजाजले नै ग्राहकको मन जितेको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार बजाजले यो वर्ष १६ हजार ३०२ बाइक बिक्री गरिसकेको छ । होण्डाले भने त्योभन्दा झण्डै चार गुणा कम ४ हजार ६९० मात्र भित्राएको छ ।

पछिल्लो ६ वर्षको तथ्यांक हेर्दा कुनै समय नेपाल बजारमा प्रभुत्व कमाएको होण्डा कम्पनीको बाइकको बजार क्रमशः खस्कँदै गएको छ ।