NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

पाइलट घिमिरे भन्थे : हस्ती पाइलटहरू गइसके सचेत हुनुपर्छ

काठमाडौं । ‘सबै सकुशल रहेको खबर सुन्न पाइयोस् भगवान’ तारा एयरको चालक दलका तीनसहित २२ जना सवार जहाज बेपत्ता भएपछि पाइलट रोशन सापकोटाले सामाजिक संजालमा लेखेको पुकारा हो । तर प्रभाकर घिमिरेसँग ६ वर्ष सँगै दुर्गम भेगमा जहाज उडाएका सापकोटोको यो पुकारा पूरा भएन ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरको नाइन एन-एइटी जहाज १० बजेर ९ मिनेटमा बेपत्ता भइ मुस्ताङमा दुर्घटनामा पर्यो । खासाङ २ स्थित पहाडमा ठोकिएपछि जहाज क्षतविक्षत भयो । सवार सबै एकै ठाउँमा विलीन भए ।

सोमबार बिहान हराएको जहाज टुक्राटुक्रा भएको भएको अवस्थामा भेटिएपछि जिवितै कोही बाँच्ने सम्भावना सकिएको हो । यस्तो जहाजका चालक दल र यात्रु सकुशल भेटिने कसैको पनि थोरै आशा निराशामा परिणत हुन पुग्यो । उनै पाइलटसँगै वर्षौ जहाज उडाएका सापकोटासँग उनका अनगिन्ती स्मरणहरू छन् । पाइलट कोर्ष पूरा गरेर आएपछि तारा जहाज उडानका क्रममा घिमिरेबाट आफूले धेरै कुरा सिक्न पाएको उनी बताउँछन् ।

‘उहाँसँगै रहेर मैंले तारा एयरको जहाज ६ वर्ष उडाएँ । हामीले हुम्लाको सिमकोट, मुस्ताङको जोमसोम, मुगु, बाजुरा, लुक्ला, फाप्लु, रुकुमसहितका एयरपोर्टमा जहाज उडायौं’ सापकोटाले स्मरण गरे, ‘हाम्रो यो भूगोल अचम्मको छ, उच्च पहाडी र हिमाली भेगको फ्लाइटका क्रममा राम्रा र सुन्दर पहाड, हिमाल, तालहरू रहेका छन् भन्दै आनन्द मान्नुहुन्थ्यो ।’

रमाइलो गरिरहने स्वभावका घिमिरे उत्तिकै संवेदनशील रहने गरेको सापकोटा सम्झन्छन् ।

‘घिमिरे पाइलटमात्रै होइन तारा एयरका सेफ्टी निर्देशक हो । मौसममा शंका लागे जहाज उडाउन तयार हुनुहुन्थेन । मौसममा शंका लागे उडानका क्रममा बादलभित्र पस्ने जोखिम मोल्नुहुँदैनथ्यो’ उनी भन्छन्, ‘ तारा एयरका सेफ्टी निर्देशक उहाँ बादलमा विमानलाई छिर्न दिनुहुन्थेन । मौसमको शंका लागे पनि फ्लाइट डाइभर्ट गरिहाल्नुहुन्थ्यो । अलिकति पनि जोखिम मोल्न हुँदैन भन्ने उहाँको सधैंको अडान हुन्थ्यो ।’

सहकर्मी पाइलटलाई उडानका क्रममा सधैं सम्झाउने र कठिन भूगोलबारे निरन्तर जानकारी गराउने पनि गर्थे । ‘पहाडी र उच्च हिमाली सुन्दरतामाथि उडान भर्दा उहाँ उत्तिकै रोमाञ्चित हुनुहुन्थ्यो’ उनी भन्छन्, ‘सँगै अप्ठ्यारो भूगोलबारे उत्तिकै सचेत पनि हुनुहुन्थ्यो । यस्तो भूगोलमा एकदमै चनाखो हुनुपर्छ । कस्ता कस्ता हस्तीहरू यही भूगोलमा गइसके भनेर निरन्तर सचेतता अपनाउन भन्नुहुन्थ्यो । तर आज उहाँ यही अप्ठ्यारो भूगोलमा अस्ताउनुभयो ।’

सयौं उडान भरेर अप्ठ्यारा पहाड छिचोलेका घिमिरेले आइतबार भने मौसम बिग्रिएपछि यही अप्ठ्यारो भूगोल छिचोल्न सकेनन् ।

वर्षौसम्म विमान उडाएका घिमिरे जुनियरलाई उत्तिकै हौसला दिन्थे । रमाइलो, ठट्यौली स्वभाव र मिलनासर उनको अर्को राम्रो पाटो थियो । अब एक वर्षमात्रै बाँकी छ त्यसपछि रिटायर्ड लाइभ मज्जाले जिउने हो भनिरहन्थे । तर अफशोच वर्षौसम्म आकाशमा उडान भरेका उनी आकाशमै उडान क्रममा अस्ताए । दुई छोरीका बाबु घिमिरेका रिटायर्ड जीवन मज्जाले जिउने सोच दुःखदायी रुपमा खोसिएको छ ।

घिमिरे तारा एयरको इन्स्ट्रक्टर पाइलट थिए । आफूले गर्ने हरेक काममा दक्ष मानिन्थे । जुनियरलाई पनि उत्तिकै हौसला दिने र सबैसँग मिल्न सक्ने खुबी भएको रोशन सम्झन्छन् । हार्मोनियम बजाउने, गीत गाउन पनि उत्तिकै सिपालु थिए घिमिरे । कुनै समय संकटा क्लबबाट एक डिभिजन फुटबल पनि खेले ।

फुटबलका पनि उत्तिकै राम्रा खेलाडी थिए उनी । बजारमा नयाँ पुस्तक आउनेवित्तिकै खोजीखोजी पढ्ने गर्नुहुन्थ्यो । राष्ट्रिय/अन्तर्राष्ट्रिय खेतीप्राप्त व्यक्तिका बायोग्राफी पढ्ने र नजिकलाई सेयर गर्ने स्वभाव थियो । मान्छे दुःख, संघर्ष र उतारचढावपूर्ण दैनिकका कथा उनी अरुलाई पनि सुनाउथे ।

कोपाइलट उत्सव पोखरेलसँग पनि रोशनले तारा एयरको जहाज उडाए । २५ वर्षीय उत्सव पनि मिलनसार र लगनशील रहेको रोशन बताउँछन् । उत्सव रुकुमको चौरजारीका हुन् ।

फिलिपिन्सबाट कोर्ष गरेर नेपाल फर्केपछि उनले एक वर्ष अघि मात्रै तारा एयरमा कोपाइटलको रुपमा काम थालेको रोशन बताउँछन् । आइतबार दुर्घटना परेको जहाजमा उत्सव कोपाइट थिए ।