NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

अमेरिकामा फेरि अर्को बन्दुक आक्रमण, चार जनाको ज्यान गयो

काठमाडौं । अमेरिकामा फेरि अर्को बन्दुक आक्रमण भएको छ । ओकलाहोमाको तुलसास्थित एक हस्पिटलमा बुधबार भएको आक्रमणमा चार जनाले ज्यान गुमाएका छन् । केही घाइते छन् ।

प्राथमिक विद्यालयमा केही दिनअघि २१ जनाको ज्यान जानेगरी बन्दुक आक्रमण भएको घटना सेलाउन नपाउँदै त्यहाँ पुनः अर्को गोलीकाण्ड भएको हो ।

अधिकारीहरूले राइफल र ह्याण्डगन बोकेको व्यक्तिले अस्पतालमा प्रवेश गरेर गोली चलाएको र ज्यान जनाको ज्यान लिएको जनाएका छन् ।

अरूको ज्यान लिने आक्रमणकारीको पनि मृत्यु भएको छ ।

आक्रमणकारी को हुन् र तिनले केका लागि अस्पताल प्रवेश गरेर गोली चलाए भन्ने खुलेको छैन ।

बिबिसी समाचारमा जनाइएअनुसार स्थानीय समयअनुसार अपराह्न ४ः२२ बजे घटना भएको तीन मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनामा केही घाइते रहे पनि थप व्यक्तिको मृत्यु हुने सम्भावना नरहेको जनाएको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई बन्दुकमा दिएको पहुँच दुरूपयोग हुँदा यो अधिकार टाउको दुखाइको विषय बनेको छ । बन्दुक आक्रमणका घटनाको बढोत्तरीपछि यो व्यवस्था हटाउनुपर्ने बहस अमेरिकामा लामो समयदेखि उब्जिरहेको छ । तथापि, पुनर्विचार भएको छैन । क्यानडा सरकारले भने नागरिकलाई बन्दुक राख्न दिने निर्णय परिमार्जन गर्न हालै संसदमा प्रस्ताव पेश गरेको छ । त्यो प्रस्ताव संसद्ले पारित गरेमा क्यानडाका नागरिकले बन्दुक राख्न पाउने छैनन् ।